मौसममा पश्चिमी प्रणालीको प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना



काठमाडौं,चैत २७ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीका कारण अहिले देशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली देखिएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा सामान्य बदली रहनेछ। कोशी प्रदेशका पहाडी तथा तराई भूभागसहित अन्य पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

यसैबीच कोशी प्रदेशका पहाडी तथा हिमाली भूभाग र बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने चेतावनी पनि महाशाखाले दिएको छ।

आज राति भने कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ। बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना कायम रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्