दैनिक ४० हजार लाइसेन्स छापिँदै, २९ लाख बक्यौता हटाउने लक्ष्य
काठमाडौँ, चैत २७ — लामो समयदेखि थन्किएका सवारीचालक अनुमतिपत्र (लाइसेन्स) अब तीव्र गतिमा छापिन थालेका छन्। सुरक्षण मुद्रण केन्द्रले दुई सिफ्टमा काम सुरु गरेसँगै दैनिक उत्पादन ५/६ हजारबाट बढेर करिब ४० हजार पुगेको छ।
सरकारले ढिलासुस्ती अन्त्य गर्न निर्देशन दिएपछि छपाइ प्रक्रिया द्रुत बनाइएको हो। अब यातायात व्यवस्था विभागबाट विवरण आएको २४ घण्टाभित्रै लाइसेन्स छापिने व्यवस्था गरिएको छ।
हाल बाँकी २९ लाख लाइसेन्स २०८३ असारभित्रै छापिसक्ने लक्ष्य राखिएको छ। छापिएका लाइसेन्स हुलाकमार्फत सम्बन्धित यातायात कार्यालयमा पठाइने र सेवाग्राहीले आफ्नो स्थिति वेबसाइटबाटै हेर्न सक्ने व्यवस्था गरिएको छ।
विगतमा छपाइ सुस्त हुँदा सेवाग्राहीले तीन वर्षसम्म कुर्नुपर्ने बाध्यता थियो, तर अहिले छपाइ र वितरण दुबै प्रक्रिया सुधार हुँदै गएको बताइएको छ।

