नयाँवर्षमा नुवाकोटमा रिङ रेस्लिङ प्रतियोगिता, दुप्चेश्वरमा ‘न्यु इयर ब्लास्ट २०८३’ आयोजना
विदुर, चैत २७ — धार्मिक तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नुवाकोटमा नयाँ वर्षको अवसर पारेर रिङ रेस्लिङ प्रतियोगिता आयोजना गरिने भएको छ।
शुक्रबार विदुरमा आयोजित पत्रकार सम्मेलनमा नेपाल रिङ रेस्लिङ एसोसिएसनका महासचिव कमल तामाङ (नुवाकोटे टाइगर) ले ‘न्यु इयर ब्लास्ट २०८३’ नामक प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएका हुन्।
नुवाकोट रिङ रेस्लिङ संघ नुवाकोटका अध्यक्ष प्रल्हाद थापाले खेलकुदमार्फत जिल्लाको पहिचान स्थापित गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको बताए। उनले पछिल्लो समय दुप्चेश्वर धामसहित नुवाकोटका विभिन्न ऐतिहासिक तथा धार्मिक क्षेत्रको प्रचार–प्रसारमा जोड दिइएको उल्लेख गरे।
नेपाल रिङ रेस्लिङ एसोसिएसनको मुख्य आयोजना तथा नुवाकोट जिल्ला कमिटीको सहकार्यमा सञ्चालन हुने प्रतियोगिता आगामी वैशाख १ गते दुप्चेश्वर महादेव मन्दिरको प्राङ्गणमा हुनेछ। अंग्रेजी पात्रोअनुसार उक्त कार्यक्रम अप्रिल १४, २०२६ मा पर्छ।
प्रतियोगितामा नुवाकोटे टाइगर, डेभिड, साइन, चट्टान, आकृति, तानु, सुजल, एक्स हिरो, सि.जे वर्ल्ड, ठागु, यूबीएल स्टोन, किङ रोबर्ट र म्याक्स म्यानलगायतका चर्चित रेस्लरहरूको सहभागिता रहनेछ। पुरुष तथा महिला दुवै विधामा प्रतिस्पर्धा समावेश गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा रेफ्रीको भूमिकामा सञ्जय महर्जन रहनेछन् भने सञ्चालन राजन नेपालले गर्नेछन्। विजेतालाई च्याम्पियनसिप बेल्टसहित नगद प्रदान गरिनेछ।
कार्यक्रमको व्यवस्थापन एभरेस्ट इभेन्ट म्यानेजमेन्ट (Everest Event Management) ले गर्नेछ भने राष्ट्रिय खेलकुद परिषद (National Sports Council) लगायतका विभिन्न निकायले सहयोग गर्ने जनाइएको छ।
पत्रकार सम्मेलनको भिडियो हेर्नुस् :-

