देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना



काठमाडौँ,चैत २८ – हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागसहित अधिकांश हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

शनिबार दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भेगसहित देशका हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ। पहाडी भागका साथै कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ।

महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हुरी चल्ने अनुमान गरिएको छ।

आज राति पनि हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम प्रायः सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका केही स्थान तथा कोशी र गण्डकीका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ।

सम्भावित वर्षा, हिमपात तथा चट्याङका कारण हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारण तथा यातायात क्षेत्रका सम्बन्धित सबैलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्