टोखामा चार दिनसम्म बिस्का नखः जात्रा, व्यापक तयारी पूरा



काठमाडौं,चैत २८— ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्व बोकेको टोखामा बिस्का नखः (विस्केट) जात्रा यस वर्ष चार दिनसम्म धुमधामका साथ मनाइने भएको छ।

टोखा विस्केट जात्रा मूल व्यवस्थापन समितिले शुक्रबार पत्रकार सम्मेलन गरी आगामी वैशाख १ गतेदेखि ४ गतेसम्म जात्रा सञ्चालन गरिने जानकारी दिएको हो। नेवार समुदायको बाहुल्य रहेको टोखामा हरेक वर्ष मनाइने यो जात्रा सांस्कृतिक रूपमा विशेष महत्व राख्ने गर्दछ।

समितिका सहसंयोजक गणेशमान श्रेष्ठका अनुसार जात्रालाई व्यवस्थित र मर्यादित बनाउन शान्तिसुरक्षा, स्वयंसेवक परिचालन, पार्किङ, यातायात, बाजागाजा तथा रथ व्यवस्थापनका लागि छुट्टाछुट्टै उपसमिति गठन गरिएको छ।

जात्रा चैत मसान्तदेखि सुरु भई चार दिनसम्म विभिन्न धार्मिक विधि र सांस्कृतिक परम्परासहित सञ्चालन हुन्छ। मसान्तको बिहान भक्तजन शिवपुरीस्थित बागद्वारमा स्नान गर्न जाने परम्परा रहेको छ भने त्यसपछि चण्डेश्वरी हुँदै सपनतीर्थ मन्दिरसम्म यात्रा गर्ने चलन छ।वैशाख १ गते नयाँ वर्षको अवसरमा भक्तजनले सिद्धपोखरीमा स्नान गरी शुभारम्भ गर्छन्। सोही दिन साँझ सपनविनायक, चण्डेश्वरी र मसानकालीका रथ बाजागाजासहित नगर परिक्रमा गरिन्छ।

वैशाख २ र ३ गते विभिन्न स्थानमा रथयात्रा, सिन्दूरजात्रा, जीवित गणेश कुमारीको आगमन तथा पूजा-अर्चनाका कार्यक्रम सञ्चालन हुनेछन्। राति भजनकीर्तनसहित जाग्राम बस्ने परम्परा पनि कायम रहनेछ।

जात्राको अन्तिम दिन वैशाख ४ गते सिन्दूरजात्रा र नगर परिक्रमा पश्चात सबै रथ आ–आफ्नो देवीघरमा भित्र्याइनेछ। वैशाख ५ गते लिङ्गो ढालेर जात्राको औपचारिक विसर्जन गरिनेछ।

यसैबीच, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका ऐतिहासिक तथा सांस्कृतिक पर्वलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताउँदै जात्रा व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिनुभयो।

जात्राको अवसरमा टोखा नगरपालिकाभर एक दिन र विशेष रूपमा वडा नं. २ र ३ मा दुई दिन सार्वजनिक बिदा दिइने पनि जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्