बुल्गेरिया पठाउने बहानामा ९१ लाख ठगी, दुई जना पक्राउ



काठमाडौं,चैत २८। वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर रु ९१ लाख ९० हजार ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बुल्गेरिया पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा सल्ल्यान शारदा नगरपालिका–४ का ३२ वर्षीय दीपेन्द्र कुँवर र वनगाड कुपिन्डे नगरपालिका–८ का २४ वर्षीय घने बुढालाई पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार अभियुक्तहरूले वैदेशिक रोजगारीको नाममा उच्च आम्दानीको लोभ देखाई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ। यस प्रकारका ठगी घटनाबाट सतर्क रहन र वैदेशिक रोजगारीमा जानुअघि आधिकारिक निकायबाट जानकारी लिन प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्