काठमाडौँमा सार्वजनिक सवारीको भाडा वृद्धि, न्यूनतम २४ रुपैयाँ कायम
काठमाडौँ,चैत २८। पेट्रोल तथा डिजेलबाट सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि गरिएको छ। बागमती प्रदेश सरकार अन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत नयाँ भाडादर निर्धारण गरेको हो।
संशोधित भाडादर शनिबारदेखि लागू भइसकेको छ। नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधनको न्यूनतम भाडा अब २४ रुपैयाँ कायम गरिएको छ, जुन यसअघि १९ रुपैयाँ थियो।
मन्त्रालयका अनुसार दूरीका आधारमा भाडा समायोजन गरिएको छ।पाँच किलोमिटरसम्म २४ रुपैयाँ, १० किलोमिटरसम्म ३३ रुपैयाँ, १५ किलोमिटरसम्म ३९ रुपैयाँ र २० किलोमिटरसम्म ४४ रुपैयाँ निर्धारण गरिएको छ। २० किलोमिटरभन्दा माथिको दूरीका लागि ५० रुपैयाँ भाडा कायम गरिएको छ।
इन्धन मूल्य वृद्धि तथा सवारी सञ्चालन खर्च बढेकाले भाडा समायोजन गरिएको बागमती प्रदेश सरकार ले जनाएको छ। यद्यपि, विद्युतीय सवारीसाधनका हकमा भने २०७९ वैशाख १ गतेदेखि लागू गरिएको पुरानै भाडादर यथावत राखिएको छ। साथै, प्रदेश सरकारले उपत्यकाभित्र र बाहिरका रुटहरूमा फरक–फरक दर निर्धारण गर्ने नीति लिएको पनि जनाएको छ।

