अधिकारमा हस्तक्षेप भए सदन र सडकबाट प्रतिवाद गर्छौं : प्रचण्ड



काठमाडाैं, चैत २८ — पुष्पकमल दाहाल ले जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका अधिकारहरूमा हस्तक्षेप भए कडा प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ।

अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) सम्पर्क समन्वय प्रदेशद्वारा नयाँ वर्ष २०८३ को अवसरमा आयोजित क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले अधिकार खोस्ने कुनै पनि प्रयास सह्य नहुने स्पष्ट पार्नुभयो।

संयोजक दाहालले वर्तमान सरकार (राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको) ले सकारात्मक र रचनात्मक काम गरेमा आफूहरूको समर्थन रहने बताउनुभयो। तर संविधानमाथि छेडखानी, राष्ट्रिय हितमा आँच पुर्‍याउने वा जनअधिकार कमजोर पार्ने गतिविधि भएमा चुप लागेर नबस्ने चेतावनी दिनुभयो।

उहाँले विशेषगरी विद्यार्थी तथा कर्मचारी ट्रेड युनियनका अधिकारमाथि प्रश्न उठाउने प्रयासप्रति सतर्क रहन आग्रह गर्नुभयो। संविधान संशोधनबारे बोल्दै उहाँले संशोधनको विरोध नभएको तर त्यसले महिला, दलित तथा उत्पीडित वर्गका अधिकार थप्न र संघीयतालाई बलियो बनाउनुपर्ने धारणा राख्नुभयो।

हालै सम्पन्न निर्वाचनलाई ‘असामान्य र असाधारण’ बताउँदै दाहालले पार्टीले परिणामको गम्भीर समीक्षा गरिरहेको जानकारी दिनुभयो। उहाँले केही दिनभित्रै पार्टी एकीकरण प्रक्रिया तल्लो तहसम्म टुङ्ग्याउने र ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्‍याउनुभयो।

निर्वाचन परिणामले नयाँ मोड ल्याए पनि चिन्तित हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उहाँले आत्मसमीक्षा गर्दै जनताको बीचमा जान कार्यकर्तालाई निर्देशन दिनुभयो। साथै १२ बुँदे समझदारी र शान्ति प्रक्रियाका सहयात्री शक्तिहरूसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

प्रतिक्रिया दिनुहोस्