विद्यार्थी संगठन खारेज गर्न नहुने नेकपाको निष्कर्ष



काठमाडाैं,चैत २८ — नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले विद्यार्थी संगठनहरू खारेज गर्ने सरकारी तयारीप्रति आपत्ति जनाउँदै यस्तो कदम अस्वीकार्य रहेको निष्कर्ष निकालेको छ।

एक सातासम्म चलेको पार्टीको केन्द्रीय कार्यसंयोजन समिति बैठकले विद्यार्थी तथा अन्य जनसंगठनमाथि प्रतिबन्ध लगाउने विषयलाई गलत ठहर गरेको हो। बैठकपछि जानकारी दिँदै जगन्नाथ खतिवडा ले विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने कुरा जनअधिकारविरुद्ध भएको बताउनुभयो।

उहाँका अनुसार बैठकले कलेजहरूमा विद्यार्थी संगठनहरूलाई प्रतिबन्ध गर्ने तथा ट्रेड युनियन गतिविधि रोक्ने प्रयासले लोकतान्त्रिक अधिकार कुण्ठित गर्ने निष्कर्ष निकालेको छ।

‘यस्ता निर्णयले जनता र श्रमिक वर्गको अधिकार संकुचित हुन्छ, त्यसैले यस्तो कदम बेठिक हो,’ खतिवडाले बैठकको निष्कर्ष सुनाउँदै भन्नुभयो।

सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने तयारी गरिरहेको चर्चाबीच राजनीतिक दलनिकट विद्यार्थी संगठनहरूले यसअघि नै विरोध जनाउँदै आएका छन्। सोही सन्दर्भमा नेकपाले पनि स्पष्ट धारणा सार्वजनिक गरेको हो।

नेकपाले आगामी ३ वैशाखमा पुनः केन्द्रीय कार्यसंयोजन समिति बैठक बस्ने जनाएको छ। बाँकी निर्णय र निष्कर्षहरू उक्त बैठकपछि सार्वजनिक गरिने खतिवडाले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्