तनहुँमा सवारी दुर्घटना: दुई जनाको मृत्यु
तनहुँ, चैत २९ — तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा ११ च ७३६५ नम्बरको टोयोटा गाडीले डिभाइडर नाघेर विपरीत लेनमा प्रवेश गर्दा आफ्नै लेनबाट आउँदै गरेको ग १९ प २९८८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा स्कुटरमा सवार दुवै जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा स्कुटर चालक गाछेपानीस्थित शुक्लागण्डकी–च्वयनधामका पुजारी गणेश खतिवडा र पछाडि सवार सोही स्थानका कृष्ण भुजेल रहेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक अमृत लामिछानेका अनुसार खतिवडाको तनहुँ सेवा अस्पतालमा र भुजेलको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

