भिरबाट लडेर महिलाको मृत्यु
मकवानपुर, चैत २९ — हेटौँडा उपमहानगरपालिका–१४ नयाँबस्ती टोलकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ३५ वर्षीया सन्तोषी वाइबा रहेकी छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उनी शनिबार घाँस काट्न गएका क्रममा भिरबाट लडेर गम्भीर घाइते भएकी थिइन्।
माइती घर मकवानपुरको भीमफेदी गाउँपालिका–६ सिमलटार पुगेकी वाइबा त्यहाँबाट करिब दुई सय मिटर दक्षिणतर्फ रहेको खहरे खोलाको सिमलटालतर्फ घाँस काट्न गएकी थिइन्। अबेरसम्म घर नफर्किएपछि परिवारले खोजी गर्ने क्रममा उनी भिरबाट करिब ५०–६० मिटर तल लडेको अवस्थामा फेला परेकी थिइन्।
गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल ल्याइए पनि दिउँसो १२ः४० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

