आइतबार ओपिडी सेवा सञ्चालन गर्न चिकित्सक सङ्घको आपत्ति
काठमाडौँ, चैत २९ — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न निर्देशन दिएपछि नेपाल चिकित्सक सङ्घ ले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त निर्णयमा पुनर्विचार गर्न माग गरेको छ।
सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरेपछि स्वास्थ्य सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले मन्त्रालयले अस्पतालहरूलाई आइतबार पनि बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो। मन्त्रालयले अस्पतालहरूले आफ्नो कार्यभारअनुसार सेवा सञ्चालन गर्न र आवश्यक परे सट्टा बिदा मिलाएर सेवा प्रवाह गर्न आग्रह गरेको थियो।
तर सङ्घले विज्ञप्ति जारी गर्दै पर्याप्त जनशक्ति अभाव र बढ्दो कार्यभारका कारण उक्त निर्देशन कार्यान्वयन गर्न कठिन हुने जनाएको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीहरू नियमित ९ देखि ५ बजेसम्मको सेवाबाहेक ‘अनकल’, ‘राउन्ड’ तथा आकस्मिक सेवामार्फत २४सै घण्टा खटिरहेको अवस्थामा अतिरिक्त समयको गणना नहुनु अन्यायपूर्ण भएको सङ्घको भनाइ छ।
पर्याप्त जनशक्ति व्यवस्थापन नभएसम्म आइतबार ओपिडी सेवा सञ्चालन गर्न नसकिने स्पष्ट पार्दै सङ्घले स्वास्थ्य सेवा व्यवस्थापनमा सुधार आवश्यक रहेको औँल्याएको छ।
यसैबीच विभिन्न अस्पताल तथा प्रतिष्ठानहरूले फरक–फरक निर्णय सार्वजनिक गरेका छन्। त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ले आकस्मिकबाहेक आइतबार ओपिडी सेवा बन्द गर्ने निर्णय गरेका छन्।
यता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र भरतपुर अस्पताल ले भने आइतबार पनि सेवा सञ्चालन गर्ने जनाएका छन्।
सङ्घले विभिन्न स्वास्थ्य संस्थामा फरक–फरक दिन बिदा दिँदा सेवा प्रवाहमा एकरुपता नहुने र बिरामीहरू अन्योलमा पर्ने बताउँदै यसले स्वास्थ्य सेवामा गम्भीर असर पार्ने चेतावनी दिएको छ।
साथै न्यून सेवा–सुविधामा जबरजस्ती काम गराउने परिपाटी अन्त्य नभए चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिन बाध्य हुने सङ्घले चेतावनी दिएको छ।

