नागढुङ्गा–मुग्लिङ सडक आयोजनाको गृहमन्त्रीद्वारा अनुगमन, ढिलासुस्तीमा कारबाहीको चेतावनी



काठमाडौँ, चैत २९ — गृहमन्त्री सुधन गुरुङ ले राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको नागढुङ्गा–मुग्लिङ सडक सुधार आयोजनाको स्थलगत अनुगमन गरेका छन्।

अनुगमनका क्रममा उनले निर्माण कार्यमा ढिलासुस्ती गर्ने तथा गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्। गृहमन्त्री गुरुङले आयोजनाको नौबिसे–मलेखु र मलेखु–मुग्लिङ खण्डको प्रगति तथा वस्तुस्थितिबारे विस्तृत जानकारी लिँदै तोकिएको समयमै उच्च गुणस्तरका साथ काम सम्पन्न गर्न निर्देशन दिएका हुन्।

आयोजनाले गृहमन्त्रीसमक्ष प्रस्तुत गरेको प्रतिवेदनमा निर्माण सामग्रीको अभावलाई प्रमुख समस्याका रूपमा औँल्याइएको छ। विशेषगरी नदीजन्य तथा खानीजन्य सामग्री उत्खननमा देखिएका कानुनी र प्रशासनिक जटिलताका कारण काममा ढिलाइ भएको उल्लेख गरिएको छ।

प्रतिवेदन अनुसार ढुङ्गा, गिट्टी र बालुवाजस्ता नदीजन्य सामग्री उत्खननमा स्थानीय तहको अवरोध, विगतमा क्रसर उद्योग बन्द हुँदा आपूर्तिमा परेको असर, विभिन्न स्थानीय तहमा दोहोरो कर प्रणाली, राजश्व दरमा एकरूपताको अभाव तथा एक पालिकाबाट अर्को पालिकामा सामग्री ढुवानी गर्दा हुने प्रशासनिक झन्झट प्रमुख समस्या रहेका छन्।

यसैगरी खानी उत्खननका लागि आवश्यक वातावरणीय प्रभाव मूल्याङ्कन र स्वीकृतिमा हुने ढिलाइले पनि आयोजनाको काम प्रभावित भएको जनाइएको छ।

आयोजनाले बेल्खु बगर, घाटबेसी बगर र मलेखु–लाम बगर क्षेत्रबाट आवश्यक निर्माण सामग्री उपलब्ध गराइदिन तथा ढुवानी प्रक्रियामा सहजीकरण गरिदिन सरकारसँग माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्