संविधान संशोधनका लागि नेकपा तयार: प्रचण्ड
काठमाडौँ, चैत २९ — पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी ले सङ्घीयतालाई सुदृढ बनाउँदै जनतालाई थप अधिकार दिन संविधान संशोधन गर्न सकिने बताएको छ।
शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) ले आयोजना गरेको राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै संयोजक दाहालले आफूहरू संविधान संशोधनको विरोधी नभएको स्पष्ट पार्नुभयो।
“संविधानभित्र रहेर सरकारले गर्ने राम्रा कामको सदैव समर्थन गर्छौँ, तर संविधान मिच्ने, जनताको हकअधिकार खोस्ने वा राष्ट्रिय हितमा प्रहार भए सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ,” उहाँले भन्नुभयो।
उहाँले विद्यार्थी तथा कर्मचारीको ट्रेड युनियन अधिकारसम्बन्धी विषयलाई गम्भीर रूपमा लिनुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा निर्वाचनबाट जुनसुकै शक्ति विजयी भए पनि त्यसलाई समग्र प्रणालीकै जितका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
“अर्को पार्टीले जिते पनि हामीले हारेको भन्न मिल्दैन, त्यो संविधान, गणतन्त्र र समावेशिताको जित हो,” उहाँले भन्नुभयो। कार्यक्रममा माधवकुमार नेपाल ले लोकतन्त्रको रक्षाका लागि आफ्नो पार्टी बलिदान गर्न समेत तयार रहेको बताउनुभयो। उहाँले सामाजिक विभेद अन्त्य र जनअधिकार स्थापनाका लागि महिला सङ्घलाई अग्रपङ्क्तिमा उभिन निर्देशन दिनुभयो।

