कमजोर पश्चिमी प्रणालीको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ,चैत २९ — हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यसका कारण देशका विभिन्न भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ।कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भाग र बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी आज राति पनि हिमाली क्षेत्रमा आंशिक बदली कायम रहनेछ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।
महाशाखाले वर्षा तथा हिमपातको सम्भावना रहेका क्षेत्रका सर्वसाधारण तथा यातायात सञ्चालनकर्तालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

