प्रसिद्ध गायिका आशा भोसलेको निधन, भारतीय सङ्गीत क्षेत्रमा शोक



काठमाडौं,चैत २९ । भारतीय सङ्गीत जगतकी चर्चित गायिका आशा भोसले को ९२ वर्षको उमेरमा निधन भएको छ। हृदयाघातपछि शनिबार अस्पताल भर्ना गरिएकी उहाँको मुम्बईस्थित ब्रीच क्यान्डी अस्पताल मा उपचारका क्रममा आइतबार निधन भएको हो।

हृदयाघात र श्वासप्रश्वास सम्बन्धी समस्याका कारण अस्पताल भर्ना हुनुभएकी भोसलेको स्वास्थ्यमा सुधार नआएपछि निधन भएको अस्पताललाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।उहाँको अन्त्येष्टि सोमबार अपराह्न ४ बजे शिवाजी पार्क मा पूर्ण राजकीय सम्मानका साथ गरिने बताइएको छ।

सन् १९३३ सेप्टेम्बर ८ मा साङ्गली मा जन्मिनुभएकी भोसले पण्डित दीनानाथ मङ्गेशकर की तेस्रो सन्तान हुनुहुन्थ्यो। १० वर्षको उमेरदेखि गायन यात्रा सुरु गर्नुभएकी उहाँले सात दशकभन्दा लामो अवधिमा ११ हजारभन्दा बढी गीतमा स्वर दिनुभएको छ। सन् २०११ मा गिनिज वर्ल्ड रेकर्ड्स ले उहाँलाई सबैभन्दा धेरै गीत रेकर्ड गर्ने कलाकारका रूपमा मान्यता दिएको थियो।

भोसलेले ‘नयाँ दौर’, ‘तीसरी मञ्जिल’, ‘उमराव जान’, ‘इजाजत’ र ‘रङ्गीला’ जस्ता चलचित्रमा अविस्मरणीय गीत गाएर विशेष पहिचान बनाउनुभएको थियो। उहाँले दुई पटक राष्ट्रिय पुरस्कार, सन् २००१ को दादासाहेब फाल्के पुरस्कार तथा पद्म विभूषण जस्ता प्रतिष्ठित सम्मान प्राप्त गर्नुभएको थियो। साथै, सन् १९९७ मा ग्रामी अवार्ड का लागि मनोनयन हुने पहिलो भारतीय गायिका समेत बन्नुभएको थियो।

उहाँको निधनसँगै भारतीय सङ्गीत जगतमा एक स्वर्णिम युगको अन्त्य भएको टिप्पणी गरिएको छ। पार्श्व गायनमा उहाँको स्वरको चञ्चलता र बहुआयामिक शैलीले विश्वभरका सङ्गीतप्रेमीको मनमा अमिट छाप छोडेको छ।

प्रतिक्रिया दिनुहोस्