जाजरकोटमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, तीन घाइतेको हेलिकोप्टरमार्फत उद्धार
जाजरकोट,चैत २९ — जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा आगलागी भई तीन जना घाइते भएका छन्। घाइतेहरूको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
आइतबार बिहान करिब १० बजे स्थानीय थालु प्रसाद जैसीको घरको भान्सा कोठामा ग्यास चुहावट भएपछि आगलागी भएको हो।आगलागीमा परी ४२ वर्षीया माया जैसी, उनका २२ वर्षीय छोरा गणेश गौतम र मायाकी ३७ वर्षीया बहिनी रूपा जैसी घाइते भएका छन्।
घाइते तीनै जनालाई तत्काल प्राथमिक उपचारका लागि नलगाड नगर अस्पताल लगिएको थियो। तर, त्यहाँ आवश्यक उपचार सम्भव नभएपछि थप उपचारका लागि उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

