लागुऔषध नियन्त्रणमा निर्मम बन्न गृहमन्त्रीको निर्देशन
चितवन, चैत २९ । गृहमन्त्री सुधन गुरुङले लागुऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ।
आज भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयमा आयोजित कार्यक्रममा जिल्लाका सुरक्षा निकाय प्रमुखहरूलाई सम्बोधन गर्दै उहाँले जनअपेक्षाअनुसार सुशासन कायम गर्न र आपराधिक गतिविधि नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन आग्रह गर्नुभयो।
गृहमन्त्री गुरुङले नागरिकले प्रत्यक्ष महसुस गर्नेगरी चुस्तदुरुस्त सेवा प्रवाह गर्न निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो।
त्यसक्रममा मन्त्री गुरुङले जिल्लाका विभिन्न स्थानको निरीक्षण तथा अवलोकनसमेत गर्नुभएको छ। शनिबार राति उहाँले नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पहिरो प्रभावित क्षेत्र घोप्टेभिर र तुइन खोलालगायत स्थानको अवलोकन गर्दै वर्षायाममा समस्या दोहोरिन नदिने गरी काम छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको थियो।
यसैबीच, गृहमन्त्री गुरुङ आज पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्डको निरीक्षणका लागि नवलपरासी (पूर्व) तर्फ प्रस्थान गर्नुभएको छ।

