शून्य बाँकी फाइल अभियान सोमबारदेखि सुरु
काठमाडौं,चैत २९ — सरकारी कार्यालयहरूमा फाइल थन्किने र निर्णय प्रक्रियामा ढिलाइ हुने प्रवृत्ति अन्त्य गर्न सरकारले ‘शून्य बाँकी फाइल अभियान’ सोमबारदेखि सुरु गर्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विभिन्न तह र टेबलमा अनावश्यक रूपमा फाइल अड्किने अवस्थालाई नियन्त्रण गर्न सबै सरकारी कार्यालयमा ‘शून्य बाँकी फाइल सप्ताह अभियान’ सञ्चालन गर्न लागिएको हो।
तल्ला निकायबाट कार्यान्वयन हुनुपर्ने फाइल अनावश्यक रूपमा माथिल्लो तहमा पठाइने र त्यसले सेवाप्रवाह प्रभावित हुने अवस्थालाई न्यूनीकरण गर्नु अभियानको मुख्य उद्देश्य रहेको छ। यसका लागि सरकारले ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२’ समेत सार्वजनिक गरिसकेको छ।
अभियानअन्तर्गत कुनै पनि फाइल अनिश्चित समयसम्म अड्किन नदिने, जिम्मेवारी स्पष्ट गर्ने र काम हुने वा नहुने विषयमा समयमै टुङ्गो लगाउने व्यवस्था लागू गरिनेछ। अभियान आगामी वैशाख ७ गतेसम्म सञ्चालन हुने जनाइएको छ।
मार्गदर्शनअनुसार तीन दिन, सात दिन वा १५ दिनभन्दा बढी समयदेखि रोकिएका फाइलहरूमा स्वतः समीक्षा प्रक्रिया लागू गर्नुपर्नेछ। साथै निर्णय गर्न सकिने विषयलाई अनावश्यक रूपमा माथिल्लो तहमा नपठाई सम्बन्धित तहबाटै टुङ्ग्याउने पद्धतिको विकास गरिने अपेक्षा गरिएको छ।

