मन्त्री सीता वादीको सम्पत्ति विवरण सार्वजनिक: २० कुखुरा र एक कुकुर
काठमाडौं, चैत २९ — महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्।
आइतबार सार्वजनिक गरिएको विवरणमा उनले २० वटा कुखुरा र एउटा कुकुर रहेको उल्लेख गरेकी छन्।
सम्पत्ति विवरणअनुसार मन्त्री वादीसँग एउटा स्कुटर, तीन वटा ल्याप्टप र दुई वटा मोबाइल फोन रहेका छन्। उनका श्रीमान्को नाममा पल्सर मोटरसाइकल रहेको पनि विवरणमा जनाइएको छ।
त्यसैगरी, मन्त्री वादीसँग नगद ५० हजार रुपैयाँ रहेको र उनी तथा उनका श्रीमान्को संयुक्त नाममा बैंकमा १५ लाख रुपैयाँ जम्मा रहेको उल्लेख गरिएको छ।
जग्गातर्फ, मन्त्री वादीको नाममा सुर्खेतमा ८९ दशमलव ६५ वर्ग मिटर क्षेत्रफलको जमिन रहेको विवरणमा उल्लेख गरिएको छ।

