आइतबार पनि विद्यालय सञ्चालन गर्न नुवाकोट तारकेश्वर गाउँपालिकाको निर्देशन



नुवाकोट, चैत ३० । जिल्लाको तारकेश्वर गाउँपालिका ले आइतबार विद्यालय बन्द नगर्ने निर्णय गरेको छ । गाउँपालिकाले शनिबार चार बुँदे निर्देशन जारी गर्दै आइतबार विद्यालय पूर्ववत सञ्चालन हुने जानकारी दिएको हो ।

गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरल ले नयाँ शैक्षिक सत्र २०८३ का लागि वार्षिक शैक्षिक कार्यक्रमसहित क्यालेन्डर तयार भइसकेको अवस्थामा विद्यालय बन्द गर्दा शैक्षिक गतिविधि प्रभावित हुने भन्दै आइतबार पनि कक्षा सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

संघीय सरकारको सातामा दुई दिन बिदा दिने तथा वैशाख २१ गतेपछि मात्रै नियमित कक्षा सञ्चालन गर्ने नीतिका बीच गाउँपालिकाले आफ्नै कार्ययोजना अनुसार विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

अध्यक्ष अधिकारीका अनुसार पूर्वनिर्धारित तालिकाअनुसार वैशाख २ गतेदेखि सुरु हुने भनिएको भर्ना कार्यक्रम अब वैशाख १५ गतेपछि मात्रै सञ्चालन हुनेछ, जसले वार्षिक शैक्षिक क्यालेन्डरमा असर पार्ने देखिएको छ ।

यस अवधिमा वैशाख २ देखि १५ गतेसम्म विद्यालयहरूले ‘बुक फ्रि डे’, अतिरिक्त क्रियाकलाप, मनोरञ्जन तथा मनोपरामर्श, सीप विकास र योग–ध्यानसम्बन्धी कार्यक्रम सञ्चालन गर्नेछन् । साथै, शिक्षकहरूबीच सामूहिक छलफल, शैक्षणिक सीप आदानप्रदान तथा नयाँ शैक्षिक सत्रका लागि कार्ययोजना निर्माण गरिनेछ ।

निर्देशनअनुसार वैशाख १५ देखि २१ गतेसम्म भर्ना कार्यक्रम सञ्चालन गरिने र वैशाख २१ गतेदेखि नियमित पठनपाठन सुरु हुनेछ । अध्यक्ष अधिकारीले सातामा दुई दिन विद्यालय बन्द गर्दा विद्यार्थीहरूको पठनपाठनमा समय अपुग हुने र सिकाइ उपलब्धिमा नकारात्मक असर पर्ने भएकाले शनिबार मात्रै बिदा दिने र आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको स्पष्ट पारे ।

यद्यपि, गाउँपालिकाभित्रका अन्य सरकारी कार्यालय भने संघीय सरकारकै नीतिअनुसार सातामा दुई दिन बन्द रहनेछन् र बाँकी दिन बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।गाउँपालिकाले उक्त निर्देशनको पूर्ण कार्यान्वयन गराउन शिक्षा शाखा, विद्यालयका प्रधानाध्यापक तथा गाउँ प्रहरीमार्फत नियमित अनुगमनसमेत गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्