‘फलोअरदेखि जग्गा र सुनसम्म’: प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति सार्वजनिक



काठमाडौं, चैत ३० । प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

सार्वजनिक विवरण अनुसार प्रधानमन्त्री शाहको अचल सम्पत्तिमा काठमाडौंमा ५ आना क्षेत्रफलमा घर तथा धनुषामा करिब सवा विघा र महोत्तरीमा ९ विघा जग्गा रहेको उल्लेख छ। त्यस्तै, उहाँको नाममा बैंकमा १ करोड ४६ लाख रुपैयाँ नगद रहेको छ भने उहाँकी श्रीमतीको नाममा १९० तोला सुन रहेको जनाइएको छ।

प्रधानमन्त्री शाहले आफ्नो आम्दानीको स्रोतका रूपमा फेसबुक, युट्युब र टिकटकजस्ता सामाजिक सञ्जाललाई उल्लेख गर्नुभएको छ। साथै, ती सञ्जालमा रहेका आफ्ना फलोअरको संख्यालाई पनि ‘अन्य सम्पत्ति’ शीर्षकमा समावेश गरिएको छ।

यसैगरी अर्थमन्त्री स्वर्णिम वाग्लेको नाममा चार वटा घर तथा अपार्टमेन्ट र १ करोड ९० लाख रुपैयाँ बैंक मौज्दात रहेको विवरणमा उल्लेख छ। गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन र ६ किलो चाँदी रहेको जनाइएको छ।

परराष्ट्रमन्त्री शिशिर खनालको नाममा करिब ३० रोपनी जग्गा, घर, २२ तोला सुन, करिब १० लाख नगद र विभिन्न कम्पनीका सेयर रहेका छन्। उर्जामन्त्री विराजभक्त श्रेष्ठसँग काठमाडौंमा दुई वटा घर, १५ तोला सुन, करिब १ करोड रुपैयाँ नगद तथा विभिन्न कम्पनीका सेयर रहेको सार्वजनिक विवरणमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्