काठमाडौँमा ‘सप्राइज चेकिङ’ : एकैदिन १०१ चालक कारबाहीमा
काठमाडौँ, चैत ३० – काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानअन्तर्गत सञ्चालन गरेको ‘सप्राइज चेकिङ’ का क्रममा आइतबार एकैदिन १०१ जना सवारी चालकलाई कारबाही गरेको छ।
उपत्यकाका विभिन्न स्थानमा गरिएको उक्त अभियानमा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूलाई नियन्त्रणमा लिएर कारबाही गरिएको हो।
अभियानका क्रममा मापसे गरी सवारी चलाउने ५ जना, रातो बत्ती उल्लङ्घन गर्ने २ जना तथा लेन अनुशासन नमान्ने र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ९४ जना चालक कारबाहीमा परेका छन्। यसबारे जानकारी दिँदै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सवारी चलाउँदा नियम पालना गर्न सबैलाई आग्रह गर्नुभएको छ।
उहाँले मादक पदार्थ सेवन गरेर सवारी चलाउनु कानुनविपरीत र दण्डनीय कार्य भएको उल्लेख गर्दै यसले चालक, यात्रु तथा अन्य सडक प्रयोगकर्ताको ज्यान जोखिममा पार्ने बताउनुभयो।
यस्तै, कुनै चालकले मादकपदार्थ वा लागुपदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले नजिकैको प्रहरी कार्यालय वा ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ तथा प्रहरीको हटलाइन नम्बर १०० मा तुरुन्त जानकारी दिन पनि आग्रह गरिएको छ।

