राजनीतिक ‘सुनामी’को वर्ष २०८२: जेनजी आन्दोलनदेखि नयाँ जनादेशसम्मको ठूलो परिवर्तन



काठमाडौँ, चैत ३० – राजनीतिक दृष्टिले वर्ष २०८२ नेपालका लागि असाधारण उतारचढाव र ऐतिहासिक परिवर्तनको वर्षका रूपमा दर्ज भएको छ। वर्षको मध्यतिर सुरु भएको ‘जेनजी’ आन्दोलनले स्थापित राजनीतिक संरचनामाथि गम्भीर चुनौती प्रस्तुत गर्दै सत्ता परिवर्तनदेखि नयाँ जनादेशसम्मको बाटो खोलेको छ।

भदौ महिनामा भएको आन्दोलन हिंसात्मक बन्दै जाँदा ठूलो मानवीय तथा भौतिक क्षति भयो। आन्दोलनकै प्रभावस्वरूप तत्कालीन सरकार ढलेको थियो भने प्रतिनिधिसभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन गरिएको थियो। सोही सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराएको थियो।

निर्वाचनमा परम्परागत दलहरू पराजित हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झन्डै दुईतिहाइ बहुमतसहित १८२ सिट जित्दै नयाँ राजनीतिक शक्ति रूपमा उदाएको छ। नेपालको संविधान २०७२ जारी भएपछि पहिलोपटक कुनै एक दलले स्पष्ट बहुमत ल्याएको यो ऐतिहासिक घटना हो।

निर्वाचनपश्चात् रास्वपाका संसदीय दलका नेता वालेन्द्र शाह चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभयो। शाह नेतृत्वको सरकार युवा प्रतिनिधित्व, समावेशिता र सानो आकारका कारण चर्चामा रहेको छ। सरकारले सुरुआतदेखि नै सुधारमुखी नीति अपनाउँदै १०० कार्यसूची कार्यान्वयनमा ल्याएको जनाएको छ।

यस वर्ष पुराना दलहरूभित्र पनि ठूलो हलचल देखियो। नेपाली कांग्रेसमा विशेष महाधिवेशनमार्फत गगनकुमार थापा सभापतिमा निर्वाचित हुँदा पार्टीभित्रको विवाद अदालतसम्म पुगेको छ। नेकपा (एमाले)मा केपी शर्मा ओली पुनः अध्यक्षमा निर्वाचित भए पनि पुस्तान्तरणको बहस चर्किएको छ। माओवादी केन्द्रसहितका वाम दलहरूले अपेक्षित सफलता हासिल गर्न नसक्दा आन्तरिक असन्तुष्टि बढेको छ।

जेनजी आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो भने राज्यले ४५ जनालाई ‘सुशासन योद्धा’ घोषणा गर्दै राहत उपलब्ध गराएको छ। आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालतलगायत महत्वपूर्ण संरचनामा क्षति पुग्दा करिब ७६ अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको सरकारी तथ्यांक छ।

यसै वर्ष भिजिट भिसा प्रकरण, निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ विवाद, तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको अनुसन्धानजस्ता घटनाले पनि राजनीतिक वृत्तमा ठूलो तरंग ल्याए।

अन्तर्राष्ट्रिय स्तरमा भने ‘सगरमाथा संवाद’ आयोजना गर्दै नेपालले जलवायु परिवर्तनको मुद्दामा आफ्नो प्रभावशाली उपस्थिति जनायो।यसले हिमालदेखि समुद्रसम्मको सुरक्षाको विषयलाई विश्वसामु उठान गर्न मद्दत गरेको छ।

समग्रमा, वर्ष २०८२ पुराना राजनीतिक शक्ति खुम्चिँदै नयाँ शक्ति उदाएको, जनआन्दोलनबाट व्यवस्था परिवर्तन भएको र सुधारमुखी शासनको सुरुआत भएको वर्षका रूपमा चित्रित भएको छ।विश्लेषकहरूले यस वर्षलाई ‘राजनीतिक सुनामी’को संज्ञा दिएका छन्, जसले आगामी वर्षका लागि नयाँ दिशानिर्देश तय गरेको छ।

प्रतिक्रिया दिनुहोस्