धादिङमा ठूलो परिमाणमा लागूऔषध बरामद, दुई जना पक्राउ
धादिङ, चैत ३० — धादिङ प्रहरीले आइतबार बिहान ठूलो परिमाणमा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
पृथ्वीराजमार्ग अन्तर्गत गजुरी क्षेत्रमा बा ५ ख ७५३७ नम्बरको आइसर गाडीबाट २ सय ६८ किलो ४ सय ग्राम गाँजा र २ सय ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार राजमार्ग क्षेत्रमा लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा चेकजाँच गर्दा गाडीको पछाडि भागमा कालो त्रिपालले छोपेर बोराभित्र लुकाइ राखिएको अवस्थामा उक्त लागूऔषध फेला परेको हो।
बरामद गरिएको लागूऔषधसँगै चार थान मोबाइल समेत प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा आइसर चालक धादिङको नीलकण्ठ नगरपालिका–८ का २२ वर्षीय अमर बिक र सिद्धलेक गाउँपालिका–५ का होमबहादुर विक रहेका छन्।
उनीहरूविरुद्ध लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दायर गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए।
यसैबीच, धादिङ प्रहरीले चालु चैत महिनामा मात्र ३४७ किलो ९९६ ग्राम २५० मिलिग्राम गाँजा, ११ ग्राम ५२० मिलिग्राम चरेश, २०० ग्राम अफिम र ४ ट्याब्लेट ट्रामाडोलसहित २२ जनालाई पक्राउ गरेको जनाएको छ।

