मन्त्रीको सम्पत्तिमाथि प्रश्न : अखिल (क्रान्तिकारी)को माइतीघरमा प्रदर्शन



काठमाडौं,चैत ३० । नेपाल सरकारका मन्त्रीहरूको हालै सार्वजनिक गरिएको सम्पत्ति विवरण अपारदर्शी रहेको आरोप लगाउँदै विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले राजधानीमा विरोध प्रदर्शन गरेको छ ।मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्तिको वास्तविक स्रोत खुलाउन तथा शंकास्पद सम्पत्तिमाथि तत्काल छानबिन अघि बढाउन माग गर्दै संगठनले सरकारमाथि दबाब सिर्जना गरेको हो ।

काठमाडौंको माइतीघर क्षेत्रमा प्लेकार्डसहित उत्रिएका विद्यार्थीहरूले मन्त्रीहरूको विलासी जीवनशैली र सार्वजनिक सम्पत्ति विवरणबीच मेल नखाएको दाबी गरेका छन् । प्रदर्शनका क्रममा ‘सम्पत्ति देखियो–स्रोत कहाँ गयो ?’, ‘मन्त्रीहरूलाई सुनको बहार, जनतालाई महँगी उपहार’ र ‘सुनखानी प्रधानमन्त्री, शेयरखानी गृहमन्त्री’ जस्ता नाराहरू लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरूले सरकारसमक्ष तीन प्रमुख माग अघि सारेका छन् । उनीहरूले मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्तिको वैधानिक स्रोत तत्काल सार्वजनिक गर्न, सार्वजनिक पदधारीहरूको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र आयोग गठन गर्न र देशमा बढ्दो भ्रष्टाचार, सुन तस्करी तथा महँगी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्