तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित दुई विरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौँ,चैत ३० — अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य तथा आर.के. कन्स्ट्रक्सनका सञ्चालक सुवास कार्कीविरुद्ध विशेष अदालत काठमाडौं मा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार आचार्य र कार्की दुवैलाई २२ लाख ४४ हजार ५०० रुपैयाँ बराबरको बिगो तोकिएको छ। आयोगका प्रवक्ता सुरेश न्यौपाने का अनुसार आचार्यविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिम कसुर कायम गर्दै कैद, जरिवाना तथा बिगो असुलउपर गर्न मागदाबी गरिएको छ।

त्यस्तै, कार्कीलाई गैरकानुनी लाभ लिन सहयोग गरेको आरोपमा सोही ऐनको दफा २२ अनुसार कसुरदार ठहर गर्दै मुख्य अभियुक्तसरह सजायको माग गरिएको आयोगले जनाएको छ।

आयोगले दुवै प्रतिवादीविरुद्ध बिगो बराबरको जरिवाना र कानुनी कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

प्रतिक्रिया दिनुहोस्