धादिङका सांसदको प्रतिबद्धता: “विकासका लागि अब एकजुट भएर अघि बढ्छौं”
धादिङ,चैत ३०— धादिङ जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरूले जिल्लाको समग्र विकासका लागि आपसी समन्वय र सहकार्य गर्दै एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
सोमबार जिल्लाका १३ वटै स्थानीय तहले संयुक्त रूपमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सहभागी सात जना सांसदहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। कार्यक्रममा उनीहरूले विकास निर्माणका कार्यलाई प्रभावकारी बनाउन साझा प्रयास आवश्यक रहेको बताएका थिए।
कार्यक्रममा बोल्दै स्थानीय तहका जनप्रतिनिधिहरूले पनि जिल्लाको विकासका लागि स्थानीय सरकार निरन्तर सक्रिय रहेको उल्लेख गरे।उनीहरूले संघ सरकार र स्थानीय सरकारबीच प्रभावकारी समन्वय हुन सके मात्र नागरिकले वास्तविक विकासको अनुभूति गर्न सक्नेमा जोड दिएका थिए।
उक्त कार्यक्रममा सहभागी सरोकारवालाहरूले धादिङको दिगो विकासका लागि तीन तहका सरकारबीच सहकार्य अपरिहार्य रहेको निष्कर्षसमेत निकालेका छन्।

