सशस्त्र प्रहरीलाई थप सक्षम र विश्वसनीय बनाइने : गृहमन्त्री गुरुङ



काठमाडौं, चैत ३० — गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ।राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान, मातातिर्थमा सञ्चालित ३०औँ सत्र सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो।

उहाँले सशस्त्र प्रहरीले अंगीकार गरेको सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजश्व सहयोग तथा विपद् व्यवस्थापनको अवधारणाले मुलुकको समग्र सुरक्षामा प्रभावकारी योगदान पुर्‍याएको विश्वास व्यक्त गर्नुभयो।गृहमन्त्री गुरुङले तालिम शिक्षालयहरूको स्तरोन्नति तथा गुणस्तर अभिवृद्धिका लागि गृह मन्त्रालयले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। दीक्षित सशस्त्र प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै उहाँले साहस, अनुशासन र इमान्दारितालाई जीवनको मार्गदर्शक सिद्धान्त बनाउन आग्रह गर्नुभयो।

उहाँले ७७ वटै जिल्लामा सशस्त्र प्रहरीको उपस्थिति रहेको उल्लेख गर्दै शान्ति सुरक्षा कायम गर्न संगठनको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। गृहमन्त्री गुरुङले संगठनलाई आवश्यक जनशक्ति, भौतिक पूर्वाधार, सुरक्षा सामग्री तथा बन्दोबस्ती व्यवस्थापनमा नीतिगत र कार्यान्वयन तहमा सहयोग गर्न मन्त्रालय प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। लोकतान्त्रिक मूल्य–मान्यता र विधिको शासनलाई आत्मसात गर्दै राष्ट्र र जनताप्रति इमानदार भएर कार्य गर्नु आजको आवश्यकता भएको उहाँको भनाइ छ।

उहाँले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना समेत व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्