शिक्षामन्त्रीको राजीनामा माग्दै प्रदर्शन, राहुल गान्धीसहित विपक्षी शीर्ष नेता पक्राउ



नयाँदिल्ली,साउन ६ । भारतको राजधानी नयाँदिल्लीस्थित प्रधानमन्त्री निवास नजिक मंगलबार भएको विपक्षी दलहरूको प्रदर्शनका क्रममा कांग्रेस नेता राहुल गान्धी, प्रियंका गान्धी, मल्लिकार्जुन खड्गे, समाजवादी पार्टीका नेता अखिलेश यादवसहितका शीर्ष नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ।

भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार प्रदर्शनका क्रममा करिब आधा घण्टासम्म प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो। त्यसपछि प्रहरीले राहुल गान्धीलगायत नेताहरूलाई नियन्त्रणमा लिएर बसमार्फत हिरासतमा लगेको हो।

दिउँसो करिब साढे तीन बजेदेखि धर्नामा बसेका विपक्षी नेताहरूसँग सरकारले दुई चरणमा वार्ता गरे पनि सहमति हुन सकेन। विपक्षी दलहरूले शिक्षामन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए।

घटनापछि भारतको राजनीतिक माहोल थप तातिएको छ भने विपक्षी दलहरूले आफ्नो आन्दोलनलाई निरन्तरता दिने संकेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्