ठूलो संघर्षबाट एकताबद्ध भएका छौं, विभाजनको सन्देश दिने कुरा कसैले नगर्नुस्



सत्तारुढ नेकपाभित्रको विवाद केही मत्थर भएको देखिएको छ । केही दिन एक्लाएक्लै छलफल गरेका दुई अध्यक्षका सार्वजनिक अभिव्यक्तिले विवाद मिल्दै गएको देखिन्छ । तर विवाद के हो, कसरी मिल्छ भने अधिकांश नेता जानकार नै हुँदैनन् । नेकपा एकीकरण भएपछि यो विवाद पहिलो पटक देखिएको भने होइन । केही समयअघि प्रधानमन्त्री केपी शेर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि नेकपा फुट्ला झैं विवाद चर्किएको थियो । दुई महिना नपुग्दै विवाद बल्झियो । नेकपाभित्रको समस्या र दीर्घकालीन समाधानबारे केन्द्रीय सदस्य ठाकुर गैरेसँग गरिएको कुराकानी ।

नेकपाभित्र चर्किएको विवाद के हो ?
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थापनाकालदेखि आजसम्म निरन्तर देशभक्तिको झन्डा उठाउँदै आएको छ । र, आज देशको सार्वभौमिकता रक्षाका लागि, स्वाभिमान, भौगोलिक अखण्डता सुनिश्चिताका लागि वा अन्य हिसाबले नेपालमाथि विभिन्न समयमा विभिन्न प्रकारले हुने गरेका हस्तक्षेपहरुबाट मुलुकलाई जोगाउनुका लागि सबभन्दा महत्वपूर्ण अगुवाको भूमिका निभाउँदै आएको हाम्रोसामु तथ्य छँदैछ ।

दोस्रो, यी बीचमा अहिले पार्टीभित्र जे समस्या देखा परेका छन् । त्यो विगतमा नेकपा माओवादी केन्द्र वा नेकपा एमाले चलाइरहेका वा यी दुइटा पार्टी एकीकरण भएर यहाँसम्म आइपुग्दा विभिन्न समयमा विभिन्न विषयहरुले बहस निर्माण गर्ने र ती बहसहरुमा विभिन्न आलोचना, आत्मालोचना, कतिपय विभाजन, फेरि एकताका घटना भएका छन् । हामीले विगतदेखि नै एकता, संघर्ष र रुपान्तरणको नीति अख्तियार लिँदै आइरहेका छौं । ती बहसहरुले कहिले विभाजन नित्याएका छन्, कहिले एकता निम्त्याएका छन् ।

अहिले फेरि पार्टी एकीकरणकै विषयमा आशंका पैदा भएको, त्यसले बहस निम्त्याएको र ती क्रशम विभिन्न विषयहरुमा क्रमश: प्रकट हुँदै आएको तथ्य हामीलाई थाहा छ । एकीकरण गरिसकेपछि जिल्ला कमिटी, प्रदेश कमिटी, गाउँपालिका, नगर कमिटीहरु कसरी बनाउने भन्ने विषयमा पार्टीभित्र ठूलो बहस भयो । त्यसपछि २० महिनासम्म केन्द्रीय कमिटीको बैठक माग भएन । माग गर्ने परिस्थिति बन्यो । त्यसपछि केन्द्रीय कमिटीको बैठक हुँदाखेरी नै ठूलो समस्या थियो । तर केन्द्रीय कमिटी बैठक बडो उत्साहका साथ सम्पन्न भयो । त्यसपछि केन्द्रीय कमिटी बैठक सम्पन्न हुँदाखेरी नेताहरुले ‘अब तपाईंहरुले आलोचना गर्ने मौका पाउनुहुने छैन’ भनेर बैठकलाई आश्वस्त तुल्याउन खोज्नुभयो । तर स्थिति त्यस्तो रहेन । फेरि पनि समस्याहरु देखा पर्न थाले । १५ दिनभित्र संगठनको एकीकरण सक्ने भनेर हामीले निर्णय गर्‍यौं । त्यसो हुन सकेन ।

फेरि त्यसमाथि प्रश्न जन्म्यो, अध्यादेश प्रकरण आयो । त्यसपछि मदन भण्डारी अध्ययन फाउन्डेशनको कार्यक्रममा प्रधानमन्त्रीको मन्तव्यको कुरा आयो, स्थायी समितिको बैठक साथीहरुले माग गरेको अहिलेसम्म पूरा गरेको छैन । पार्टीभित्र केही समस्या छन् । ती साथीहरुलाई समस्या समाधानलाईका लागि फेरि पनि पार्टी एकताका लागि कायम राख्ने, दीगो बनाउने । पार्टीभित्र महत्वपूर्ण समस्याहरु छन् । ती समस्याहरुलाई विषयकेन्द्रित छलफल गरेर त्यसको समाधान निकालेर फेरि पनि पार्टी एकतालाई कायम राख्ने । दीगो बनाउने । आगामी दिनमा मुलुकको भविष्य सुरक्षित गर्ने, पार्टीले अझै दृढतापूर्वक उभिने, स्वस्थ आलोचना, स्वस्थ बहस र सही निष्कर्ष निकाल्नु आजको आवश्यकता हो ।

अहिले टाउको दुखाइ हो तर औषधि पेटतिर लगाएर सामान्य ठीकठाक पारेजस्तो देखिन्छ नि, समस्या बल्झेको बल्झ्यै ?
दुखेको टाउको पेटमा औषधि लाएर त दुखाइ कम हुँदैन अथवा समस्या समाधान हुँदैन । पार्टीभित्र र पार्टी कमिटीभित्र स्वस्थ आलोचना, विषयकेन्द्रित बहस र सही निर्णय निकालेर त्यो निर्णयलाई पालना गर्ने ठाउँमा नपुगीकन अरु तरिकाले गरिएका समाधानले दीगो एकता र समाधान गर्दैन ।
गर्नुपर्ने त्यही हो । तर तपाईंहरु त्यसै भनिरहनु भएको छ । चलिरहेको स्थायी कमिटी बैठक रोकेर

तपाईंहरु दुई जना मिलेर आउनुस् भनिसकेपछि त के गर्न खोज्नु भा त ?
दुई जना नेतालाई मिलेर आउनुस् भन्ने कुरालाई अन्यथा मान्नुपर्ने स्थिति छैन । किनभने हामीले पार्टी एकीकरण गर्दाखेरी नेतृत्वबीच समझदारी, जसलाई हामीले लिपिबद्ध पनि गरेका छौं कि दुई अध्यक्षको सहमतिलाई पार्टी सञ्चालनको एउटा आधार बनाइने छ भनेर स्वीकार गरेका छौं । त्यसको सँगसँगै पार्टी लेनिनवादी संगठनात्मक पद्धतिअनुसार चल्नेछन् । सबै कमिटीहरु केन्द्रीय कमिटी मातहत हुनेछन् । सबै व्यक्तिहरु कमिटीका अधिनस्थ हुनेछन् । बहुमतको निर्णय अल्पमतले मान्नुपर्ने छ । आफ्ना असहमति ‘नोट अफ डिसेन्ट’ को रुपमा राख्न पाइने छ तर निर्णय नमान्न पाइने छैन भन्ने कुरालाई पनि हामीले विधानमा उल्लेख गरेका छौं । यसको अर्थ हो, दुइटा अध्यक्षको सहमतिमा प्रस्ताव तयार पार्ने त्यो प्रस्ताव सचिवालयमा, स्थायी समिति, केन्द्रीय कमिटीमार्फत प्रस्तुत हुने र त्यहाँबाट निर्णय भइसकेपछि लागू हुने कुरालाई हामीले स्थापित गरेका छौं । अहिले दुई अध्यक्षबीच चलिरहेको सहमतिको प्रस्तावको तयारी, ती प्रस्तावहरुमा अध्यक्षहरुबीच के निर्णय गर्ने भन्ने विषयमा पनि उहाँहरुको अन्डरस्ट्यान्डिङ भएर कमिटीमा आउने र त्यसलाई कमिटीले छलफल गरेर निर्णय गर्ने र कार्यान्वयन गर्ने वा दुइटा अध्यक्षको बीचमा एजेन्डामा सहमति भयो तर निष्कर्ष के निकाल्ने भन्ने कुरामा सहमति भएन भने उहाँहरु दुइटाले अर्को सहमति गर्नु पर्दाखेरी बैठकमा हामीले आफ्ना आफ्ना विषय लिएर जाउँ । त्यो विषयमा कमिटीले जे निर्णय गर्छ, त्यो हामी दुईटैले मानौं भन्ने सहमति गरे आउनुपर्दछ । कमिटीको बैठक, कमिटीमा छलफल र कमिटीको निर्णय दुइटैको सहमतिको प्रस्ताव, सहमतिको निष्कर्षको छलफल वा दुईटैले कमिटी बैठकको निर्णय मान्ने सहमतिसहितको बैठकको आयोजना । यसमा के गर्ने भन्ने विषयमा नेताहरुबीच एकरुपता हुनु राम्रो हुन्छ । त्यसरी जाँदा पार्टीलाई सही दिशामा लैजान बल पुग्छ । त्यस अर्थमा हामीले नेताहरु बुझेको चाहिँ स्थायी समिति बैठक सारेर उहाँहरुले गृहकार्य गर्दै हुनुहुन्छ । उहाँहरुले राम्रो अन्डरस्ट्याडिङका साथ बैठकमा जानु हुन्छ । बैठकले निर्णय गर्छ । र, समस्या समाधान हुन्छ भन्ने कुरा नै हामीले बुझेका छौं ।

दुई महिना, चार महिना बल्झिराख्ने विवाद, दीर्घकालीन समस्या समाधान हुन्छ भनेर कसरी पत्याउने क्या जनताले ?
केही समयअघिको केन्द्रीय कमिटी बैठकमा नेताहरुले सहमतिको प्रस्ताव ल्याउनुभयो । जब बैठक सुरु भयो, बैठकले नयाँ प्रस्ताव पनि थप्यो । र त्यसपछि केन्द्रीय कमिटी सम्पन्न भयो । एक जना व्यक्तिको पनि असहमति नरही सिंगो केन्द्रीय कमिटी सक्यो । अझ एक प्रकारले भन्ने हो भने हामी बैठकमा जाँदाखेरी निराश मुडमा गएका थियौं, यो बैठक के गरी सकिएला र के गरी सम्भव होला र भन्ने मुड बनाएर गएका थियौं । तर हामी बैठक हलबाट विजयोत्सव मनाएर निस्किएको अनुभूतिका साथ निस्कियौं । तर त्यो निर्णय समयमा कार्यान्वयन भएन । हामीले निर्णय गर्ने तर कार्यान्वयन नगर्ने भयो भने चार/चार महिनामा, छ/छ महिनामा विवाद बल्झिने स्थिति हुन्छ । त्यसकारणले व्यापक छलफल गर्ने, निष्कर्ष निकाले र ती निष्कर्षहरुलाई सबैले दृढतापूर्वक कार्यान्वयन गर्ने बाटोमा हामी गयौं भने राम्रो हुन्छ । विवाद त फेरि हुन्छ । कम्युनिस्ट पार्टीभित्र एक पटक विवाद समाधान भइसकेपछि फेरि नहुने भन्ने हुन्न । विवाद छ महिना होइन एक/एक महिनामा पनि हुन सक्छन् । नयाँ विषयहरु आउँदा । त्यसको समाधान निकाल्ने तरिका पार्टीले अख्तियार गरेर जानुपर्छ ।

अहिलेको विवाद प्रधानमन्त्रीबाट केपी ओलीलाई हटाउनमा केन्द्रित देखिन्छ । सामान्य जनताले बुझेको पनि कुर्सीको झगडा हो नि ?
स्थायी कमिटी बैठकमा यो प्रस्ताव पेस भयो भनेर हामीले सुनिराखेका छौं । कतिपय नेताहरुको अभिव्यक्ति सुन्दा त्यो प्रस्ताव प्रस्तुत भएको हो भनेर बुझ्न सकिन्छ । बैठकमा के छलफल हुनुपर्‍यो भने त्यो प्रस्ताव किन प्रस्तुत हुनुपर्‍यो, किन आयो, त्यो प्रस्तावहरु आउनुको औचित्यहरु के हुन् भन्ने विषयमा बैठकमा छलफल, लामो बहस भयो तर औचित्य पुष्टि गर्न सकेन भने निर्णय त फिर्ता हुन्छ । अथवा औचित्य पुष्टि हुन्छ भने र नेताहरु कन्भिन्स हुन्छ भने स्वभावै लागू हुन्छ । बैठकमा त्यस विषय प्रस्तुत भयो र त्यही रुपमा निर्णय भयो भएन हुन्ने हुन्छ । त्यसैले बैठकमा हरेक विषय प्रस्तुत हुन सक्छन् । छलफलमा आउन सक्छन् । तर सबै विषय बैठकमा निर्णय हुन्छन् भन्ने हुँदैन । किन एजेन्डा बन्यो, त्यसका कारणहरु, एजेन्डाहरु, औचित्यहरु बैठकमा प्रस्तुत हुनुपर्छ । र त्यसले निर्णय गर्नुपर्छ ।

प्रधानमन्त्री ओलीले कुर्सी छोड्ने वित्तिकै नेकपाभित्रको विवाद ठीकठाक हुन्छ त ?
एउटा व्यक्तिले पद छोड्ने र नछोड्ने विषयले सबै कुरा समाधान हुन्छ भन्ने कुरा म मान्दिनँ । स्थायी कमिटी बैठकमा ७ एजेन्डा रहेको हामीले थाहा पाएका छौं । स्थायी कमिटीका २० जना नेताहरु छन् । जहाँ प्रधानमन्त्री एवं पार्टी अध्यक्षको राजीनामाको विषय पनि त्यसभित्र छ भन्ने कुरा चलेकै हो। यद्यपि त्यो औपचारिक रुपमा प्रवेश भएको विषय थिएन । हामीले सुनेको, मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा पार्टी अध्यक्ष प्रधानमन्त्रीको अभिव्यक्तिपछि प्रभावित गर्‍यो र बैठकले त्यो विषयलाई अगाडि सार्‍यो भन्ने कुरा । व्यक्ति रहिराख्ने कुरा होइन । संस्था, दृष्टिकोण, विचार रहिरहने कुरा हो । त्यसैले हामीले पार्टीलाई विचारप्रधान बनाउने कुरामै छलफल केन्द्रित गर्नुपर्छ । पार्टीलाई विधि, प्रणालीअनुसार चल्ने ठाउँमा बसेर नै समाधान खोज्नु पर्दछ । अहिले प्राप्त गरेका छौं, यो नै सम्पूर्ण चिज हो भन्नेमा हामी रहनु हुँदैन । हामी अझै वैज्ञानिक समाजवाद हासिल गर्ने कुरा गरिरहेका छौं । त्यो उद्देश्यतर्फ केन्द्रित हुने पार्टी बनाउनुपर्ने छ । हाम्रो लिडरसीप कस्तो हुन्छ । लिडरसिपको आनीबानी, आचारण कसरी हुन्छ, त्याग समर्पण कस्तो हुन्छ । त्यसपछि देशलाई हामीले कसरी दिशानिर्देश दिन्छौं । समग्र कुरा भनेको हामीले कस्तो पार्टी बनाउँछौं भन्नेसँग सम्बन्धित विषय हो । त्यसैले हामीले समस्याको समाधान विधि पद्धतिबाट खोज्नु पर्दछ । विचारबाट खोज्नु पर्दछ । त्यसबाट गइयो भने त्यो दीगो हुन्छ । खास व्यक्तिमा केन्द्रित भएर गरिने बहसले समाधान गर्दैन ।

तपाईंहरुले पछिल्लो समय पार्टी विवाद समाधान लागि दबाब अभियान थाल्नु भयो, कत्तिको प्रभाव देख्नुहुन्छ ?
हामीले भनेको पार्टी एकताबद्ध रहिरह्यो भने रुपान्तरणको, सुधारको गुञ्जायस हुन्छ । यदि पार्टी नै एकताबद्ध रहेन भने त्यहाँ सुधारको कुरा, हामीले यस्तो चाहेका थियौं, गर्न खोजेका थियौं भन्ने कुराको केही पनि अर्थ रहँदैन । पार्टीभित्र रुपान्तरणको, संघर्षको र फेरि पनि एकताको कुरा लागू हुन्छ । त्यसैले त्यो परिस्थिति कायम राख्न र त्यसलाई निरन्तर चलाउन पनि पार्टी एकता कायम रहनु पर्‍यो । विभाजनबाट जोगिनु पर्‍यो । हामीले उठाएको कुरा विभाजनको सन्देश दिने कुरा कसैले नगर्नुस् । हामी ठूलो संघर्षबाट एकताबद्ध भएर यहाँ आएका छौं । यो ज्यादै महत्वपूर्ण उपलब्धि हो । हामी एकताबद्ध छौं, एकताबद्ध रहन्छौं र हामीले बनाएको घर हो । यो घरमा हामी सबै अटाउन सक्छौं भन्ने पहिलो कमिटमेन्ट गरौं । त्यसपछि हामीले रुपान्तरणको कुरा गरौं । कसले के जिम्मेवारी लिनु पर्ने हो । कसको के जिम्मेवारी फेर्नु पर्ने हो । सिद्धान्त, संघर्षको क्षेत्रमा के गर्नु पर्ने हो । संगठनको क्षेत्रमा के गर्नुपर्ने हो । यो कुरालाई छलफल गर्दै हामी राम्रो बनाएर लिएर जाऔं । किनभने नेकपा नेताहरुका लागि मात्रै पार्टी होइन । यसका कार्यकर्ताका लागि चाहिने पार्टी होइन । यो देशको सार्वभौमिकतासँग, यसको सम्प्रभुतासँग, सम्पूर्ण जनताको भाग्य भविष्यसँग मात्रै होइन कि सुदूर भविष्यसम्मका लागि यसको महत्व रहने हुनाले त्यो उचाइका साथ नेताहरुले पनि र हामीले पनि सोच्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्