सुनको भाउ डेढ लाख पुग्न थाल्दा पनि घटेन खपत, महिनामा २१ हजार तोला आयात



काठमाडौँ,जेठ ७ । सुन आयातमा पनि ठूलै फड्को मारेको छ । सुनको हकमा परिमाणभन्दा पनि यसको मूल्यका कारण नेपालले धेरै पैसा बाहिर पठाउनु परेको हो । पछिल्लो समय सुनको अन्तरराष्ट्रिय मूल्य चर्किएको छ ।

गएको असार मसान्तमा १ तोला सुनको मूल्य १ लाख १२ हजार थियो भने अहिले १ लाख ४२ हजार नजिक पुगेको छ । यसरी १० महिनामा सुनको भाउ तोलामा ३० हजार महँगिएका कारण पनि सुन आयातको आँकडा उच्च देखिएको हो ।

भन्सार विभागका अनुसार २१ अर्ब ६५ करोडको सुन आयात भएको छ । यो मोल तिरेर करीब २४५२ किलो (२ लाख १० हजार तोला) सुन आयात भएको देखिएको हो । यसलाई मासिक औसतमा हिसाब गर्ने हो भने हरेक महिना २१ हजार तोला (२४५ किलो) भन्दा बढी सुन आयात भएको देखिन्छ ।

यस तथ्यांकले नेपालमा दैनिक ८ किलो (७०० तोला) सुन खपत हुने गरेको देखाउँछ । नेपालले अधिकतर सुन यूएई (खासगरी दुबई)बाट आयात भएको छ । टर्कीबाट पनि ठूलै मात्रामा सुन आयात भएको छ । यसबाहेक हङकङ, कतार, अमेरिका, ब्रिटेन, अस्ट्रेलिया, सिंगापुरलगायत थुप्रै स्थानबाट सुनका गहना आयात भएको देखिन्छ ।

यद्यपि, यो १० महिनाको अवधिमा नेपालबाट ३ किलो ७०० ग्राम (३२० तोला) सुनका गरगहना निर्यात भएको देखिन्छ । यसले १० महिनामा करीब २ लाख ९ हजार ९ सय तोला सुन नेपालमै खपत भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्