पार्टीभित्र कार्यविभाजन मिलायौं भने अरु कुरा मिल्ने देख्छु



सत्तारुढ नेकपा यतिबेला आन्तरिक विवादमा अल्झिरहेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको मुद्दाले व्यापकता पाए पनि उनले अडान नछोड्दा अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल लगायतका समूह दोधारमा परेका छन् । विवाद समाधानको उपाय स्वरुप शनिबार साँझको सचिवालय बैठकमा ओलीले मंसिरमा महाधिवेशन गर्ने तुरुप फ्याँकेका छन् । तर पनि विवाद तत्काल मिल्ने छनक देखिएको छैन । यसै सन्दर्भमा नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलसँग गरिएको कुराकानी :

नेकपाभित्रको यो कस्तो खालको गतिरोध हो ?
भन्नै गाह्रो प्रकृतिका गाँठो परेको छ । तर फुकाउने प्रयत्न गरेका छौं । पार्टी एकतालाई बचाएर देश, जनता र राष्ट्रका मुद्दाहरुमा केन्द्रित बहसतिर फर्काइयोस् । कार्यविभाजनका कतिपय विषयहरुलाई मात्रै केन्द्रविन्दुमा राखेर यो बहस गर्दा जनतालाई त्यति मीठो लाग्ने स्थिति बन्दै गएको छैन । त्यसकारण यो पार्टीभित्रको गतिरोधलाई वैचारिक, राजनीतिक, सांस्कृतिक क्षेत्रतिर उन्मुख गरेर लगियो भने त्यसले तात्विक रुपमा जनतालाई समेत सहभागी गराउने विषयमा महत्व राख्छ भन्ने हिसाबले हामीले बहसहरु गरेका छौं ।

कम्प्रमाइज्डमा नजाने हो भने विवाद ज्यूँका त्यू रहने भो नि ?
अहिलेको आवश्यकता भनेको देश, जनता, मतदाताका निम्ति र कतिपय सार्वभौमिकताका विषयलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउनका निम्ति पार्टीको एकता, सरकारको नेतृत्व पनि गरेको हुँदा देशको आवश्यक छ । अझै पनि हामी सहमतिको विन्दुमा पुगिसकेका छैनौं । अझै पनि सहमतिका लागि अधिकतम प्रयास छ । तर पनि नेताहरुको विचारहरु बुझ्दा केही कार्यविभाजनका कुराहरु मिलाइयो भने अल्झिएको गाँठो फुकाएर अगाडि बढ्छौं भन्ने कुराको नजिक पुगेको महसुस हुन्छ

उसो भए पद बाँडफाँड भयो भने लाइनमा आउँछ ?
केही साँस्कृतिक, शैलीगत र संगठनात्मक विषयहरु पनि मिसिएर आएका छन् । यो बहस बहसको निम्ति मात्रै हो पदबाहेक अरु विषयसित सम्बन्धित छैन भन्ने होइन । पार्टी सञ्चालन गर्ने विधि, सरकार सञ्चालन गर्ने विधि, जनताका मत, पार्टीका कतिपय साथीहरुबाट आएका विषयहरुलाई नेताहरुले कसरी सम्बोधन गर्छन्, कसरी ग्रहण गर्छन् भन्ने कुरा पनि कहीं न कहीं जोडिएर आएका छन् । तर पनि अहिले विधान, प्रतिवेदन, नियमावली त्यसका साथसाथै पार्टीका आधारभूत नीति, परराष्ट्र नीति पार्टीको एउटै भएको हुँदा हामीले कार्यविभाजनका कुरा मिलायौं भने अरु कुरा मिल्ने देख्छौं । कार्यविभाजनको कुरा मिलाउन अधिकतम प्रयत्नमा छौं ।

दुवै अध्यक्षको कार्यविभाजन ठोस र मूर्तरुपमा परिभाषित हुन सकेको छैन । साथसाथै दोस्रो तहका सिनियर नेताहरुको पनि कार्यविभाजन मिलेको छैन । कतिपयले कामै नपाउने कतिपयलाई तीन/चार वटा पद दिने काम भएको छ । त्यसलाई मिलाएर जाउँ भन्ने कुरा हो ।

कार्यविभाजन पार्टीमा मात्रै कि सरकारमा पनि ?
पार्टीका जिम्मेवार कमरेडहरुको सबै क्षेत्रहरुमा, खासगरी दुवै अध्यक्षको कार्यविभाजन ठोस र मूर्तरुपमा परिभाषित हुन सकेको छैन । साथसाथै दोस्रो तहका सिनियर नेताहरुको पनि कार्यविभाजन मिलेको छैन । कतिपयले कामै नपाउने कतिपयलाई तीन/चार वटा पद दिने काम भएको छ । त्यसलाई मिलाएर जाउँ भन्ने कुरा हो ।

प्रचण्डले यसअघि नै कार्यकारी अध्यक्ष पाइसक्नु भएको छ । अब ओलीले अध्यक्ष छोडे मिल्ने कि प्रधानमन्त्री पनि ?
एक व्यक्ति एक पद भन्ने विषय हाम्रो पार्टीमा कुनै न कुनै रुपमा पहिलेदेखि नै चल्दै आएको थियो । यो नराम्रो विषय पनि होइन । एकजना कमरेडले सरकारको नेतृत्व गर्ने, एकजना कमरेडले पार्टीको नेतृत्व गर्ने व्यवस्था पहिल्यै गरेको भए विवाद पटक पटक बल्झिने स्थिति हुन्नथ्यो । काम गर्ने वातावतरणका निम्ति सजिलो बाटो लिन्थ्यो । अरु कतिपय कमरेडहरुको जिम्मेवारी पनि मूर्त र ठोस गर्न सकेको भए यो कार्यविभाजन कुरा उठ्ने थिएन । तर दिएको जिम्मेवारी किन पूरा गरिएन, असहयोग भएन कि, भूमिका निर्वाह गर्न सकिएन कि भन्ने छलफलका विषय होलान् । त्यहाँ नपुग्दा समस्या भएको छ । त्यसलाई मिलाउनुपर्छ । अहिले पनि दुई अध्यक्ष, प्रधानमन्त्री र सिनियर लिडरहरुबीच मूर्त रुपमा छलफल भएर टुंगियो भने अरु कतिपय साथीहरुका जिम्मेवारी टुंग्याउन सजिलो हुन्थ्यो ।

देश प्राकृतिक विपति र महामारीको बेला दलीय झगडामा फसिरहेर नेकपा जिम्मेवारी नदेखिनु दुखद् भएन ?
यो दुखद् छ । यी मीठो लागेको छैन ।

यो पहिलो पटक भएको होइन नि ?
अहिले बाढी, पहिरोले जनताहरुले दबावमा छन् । कोरोनाको प्रभाव पनि त्यत्तिकै बाँकी छ । विदेशबाट आउन चाहेका नेपालीहरुको समस्या त्यत्तिकै छ । बेरोजगारीको समस्या त्यत्तिकै छ । देशको अर्थप्रणाली, विकास निर्माणका कामहरु छन् । कतिपय ठाउँमा अनावश्यक रुपमा बाटो रोकिँदा जनताको अकालमा मृत्यु भइरहेको छ । यी जल्दाबल्दा समस्यामा सरकारको नेतृत्व गरेको पार्टीले आन्तरिक समस्यामा भन्दा सशक्त भूमिका निर्वाह गर्नु पर्थ्यो । त्यसमा चुकेर खाली आफ्ना आन्तरिक कुराहरुमा मात्रै बढी रहँदा जनताले पक्कै पनि मीठो मान्ने विषय होइन । तर पनि पार्टी भनेको जीवन, रक्त सञ्चार, पार्टी भनेको विचारधाराको केन्द्र, कुन्ज र त्यसको अभिव्यक्ति गर्ने थलो भएकोले दृष्टिकोण, सोचाइहरु, भनाइहरु, आफ्ना कतिपय विषयहरु आइरहने भएको हुँदा छलफल गरेर मिलाएर जानुपर्छ । फेरि पनि पार्टीको एकता, देश र जनताका निम्ति निर्वाह गर्नुपर्ने भूमिकालाई सम्झौता गर्न मिल्दैन । दिइने छैन । पाइने छैन । त्यसका लागि हाम्रो प्रयत्न रहन्छ ।

प्रतिक्रिया दिनुहोस्