कृषि र पशुपालन आत्मसम्मान र अपरिहार्य पेसा हो : राम पुडासैनी [भिडियो]



नुवाकोट शिवपुरी गाउँपालिका ८ मा सञ्‍चालित थानापति नमुना व्यावसायिक कृषि उद्योगमा पुग्दा पक्कै पनि जोकोहीलाई उत्प्रेरित गराउँछ । युवा कृषक राम पुडासैनीले डेढ करोडभन्दा बढी लगानीमा कृषि र पशुपालन व्यवसाय अगाडि बढाएका छन् । जहाँ संरचना निर्माण र खेतीबाट कृषि उपज उत्पादन सँगसँगै चलिरहेको छ । वाग्मती प्रदेश सरकारबाट ४८ लाख अनुदान पाएर उद्योग अगाडि बढाएका प्रोपाइटर पुडासैनी स्वदेशमै केही गरौं भन्‍ने एक उदाहरणीय व्यक्तित्व पनि हुन् । उनी स्कुल, कलेज पढेपछि कृषि पेसामा लाग्नु हुन्न भन्ने समाजमा रहेको परम्परावादी सोचलाई चिर्दै अघि बढेका छन् । कृषि र पशुपालनमा आबद्ध पुडासैनीले लेखा विषयमा स्‍नातकोत्तर तह हासिल गरेका छन् । शिक्षित, मिहिनेती र प्रेरक व्यक्तित्व राम पुडासैनीसँग साझा पथका लागि भरत तामाङले गरेको कुराकानी ।

• तपाईंले कुन मोडालिटीमा फार्म सञ्‍चालन गर्दै हुनुहुन्छ ?
एउटा अर्गानिक कृषि फार्मका साथै रिसोर्टको रुपमा विकास गर्न खोजिरहेको छु । कृषिमा पनि पर्यटन हुन्छ भन्ने हिसाबले अर्गानिक फार्मको रुपमा विकास गर्न लागेको हुँ ।

• कृषि र पर्यटन जोड्नु पर्छ भन्ने मेसो कसरी आयो त ?
म धेरे वर्षदेखि व्यावसायिक कृषकका रुपमा काम गरिरहेको छु । यसलाई टुरिजमतिर कसरी लैजान सकिन्छ भनेर सोच्दैगर्दा धेरै ठाउँमा गयौं पनि । देशविदेश भ्रमणका क्रममा सामान्य खालका देखिने फार्महरुमा आन्तरिक र बाह्य पर्यटकहरुको भीड देखिने । हप्तामा र दैनिक ग्रुपहरु फार्म भिजिट गर्दा रहेछन् । हामी पनि इन्ट्रनल टुरिस्टकै रुपमा नेपालकै धेरै ठाउँमा गइयो । त्यहाँ प्रवेश शुल्क लाग्ने, प्रविधिका कुराहरु सिक्न पाउने अथवा सिकाउने । भिडियो डकुमन्ट्रीहरु प्रस्तुत गरेर चेतना दिने, कृषिसम्बन्धी ज्ञान प्रसार गर्ने र त्यसबाट इन्कम हुने कुरा धेरै ठाउँमा देखियो । त्यो मोडलमा ढाल्न सकिन्छ कि भनेर धेरै ठाउँमा हेर्दै गर्दा मैले वाग्मती प्रदेश सरकारबाट पर्यटनकै लागि सपोर्ट पाएँ । त्यसका लागि संरचना बनाइएको हो । प्रस्ताव गरिएका संरचनालाई पनि ५० प्रतिशत अनुदान पाएको हुँ । त्यसमा ५० लाखमा करकट्टा गरी ४८ लाख पाएको हुँ । यहाँ अहिलेसम्म १ करोड ६० लाख जति सकियो ।

• अवधारणा बारे बताइदिनुस् न ?
प्रविधिको प्रयोग गरेर अर्गानिक तरकारी खेती । त्यसको आधारका लागि पशुपालन, गड्यौलापालनतर्फ भयो भने आधुनिक खालको ट्रेनिङ हल, फार्म स्टे हाउस लगायतका व्यवस्थापन हुँदैछन् । करिब असोजताका फूल स्किममा सञ्‍चालन हुने गरी तयारीमा छौं ।

• कृषि उपज कसरी बिक्रीवितरण गरिरहनुभा छ ?
अहिलेसम्म लोकल मार्केट र काठमाडौं, त्रिशूलीको मार्केटतिर पठाइरहेका छौं । जिल्ला सहकारी संघले नै समन्वय गरेको छ । छहरे बजारमा संकलन र बिक्री केन्द्र पनि छ । त्यहाँबाट पनि व्यवस्थापन गरिन्छ । कलेक्सन भएर त्यहाँबाट पनि उब्रिएका र अरु किसान दाजुभाइहरुको कलेक्सन गरेर काठमाडौंसम्म पठाउने काम भइरहेको छ ।

यो फार्मलाई अर्गानिक रुपमा विकास गरेर पूर्ण रुपमा सर्टिफिकेसन हुने अवस्था आइसकेपछि छुट्टै मार्केटको प्रबन्ध गरिनेछ । यहाँ आउने पर्यटक र त्यस्ता इन्ट्रेस्टेड ग्रुपहरुका लागि अर्गानिक सप्लाइ गर्ने अनि उब्रियो भने काठमाडौं भ्यालीका अर्गानिक माटहरुमा सप्लाइ गर्ने योजना छ ।

• पशुपालन पनि गर्न लाग्नु भएको हो ?
गाइभैँसीपालन पनि हुन्छ । त्यसबाट दूध उत्पादन हुने भयो । अर्को अर्गानिक खेतीका लागि गोठे मल अथवा प्राङ्गारिक मलका लागि अत्यन्त आवश्यक हुने भएकोले गड्यौलापालन र गोठेमलको सही व्यवस्थापन गर्ने योजना छ ।

• बिषादी कत्तिको प्रयोग गर्नु हुन्छ ?
बिषादी प्रयोग गर्नु पर्छ । तर रासायनिक नभएर वनस्पति र जैविक विषादिहरु ।

• यो व्यवसायमा कसरी आकर्षित हुनुभयो ?
वास्तवमा मैले कृषि पेसालाई आर्थिक इगोका रुपमा लिएँ । र अहिले व्यवसायिक रुपमा परिवर्तन हुँदै आयो । आफ्नो बारीमा उब्जाएका तरकारीहरु बजारमा पुर्‍याउँदा केही पैसा आउँछ र घरायसी व्यवहार चल्छ भनेर खेती गर्दा मान्छेहरुले यो अत्यन्तै निम्नस्तरको मान्छे हो । यो खेती गरेर, भारी बोकेर बजार पुग्छ भन्ने अवस्थादेखि खेती सुरु गरियो । जब मान्छेले त्यस्तो दृष्टिले हेर्ने गरे तब त्यो चाहिँ मलाई इगोको रुपमा विकास भयो । अहिले डाक्टर, इन्जिनियर, शिक्षक पेसाबाट रिटायर्ड भएर पनि कृषि र पशुपालनतर्फ इज्जतका लागि काम गर्ने प्रवृत्ति बढ्यो । वास्तवमा आर्थिक रुपले तलमाथि भए पनि म आफ्नो व्यवसायमा, मैले कृषितर्फ लिएको प्रलोभन र सामाजिक इगोमा सफल भएको महसुस गरेको छु ।

• अरुले कत्तिको सिको गरिरहेका छन् ?
म आफैं किसानलाई अत्यन्तै प्रेरित गर्छु । वास्तविक रुपमा म जिरो लेभलबाट उठेको किसान हुँ । किसानका हितको निमित्त मैले आफ्नो क्षमता, स्तर, योग्यता, बुद्धि, सिप जे छ त्यसबाट अत्यन्त मद्दत गर्छु । किसानले मलाई फलो गरिरहनु भएको छ । म पनि किसानलाई अत्यन्तै फलो गर्छु । सेवा र राहत पुग्ने कुराहरुमा लागेको छ । किसानको वास्तविक दु:ख कसैले सिकाइरहनु नपर्ने भएकोले म किसान देख्नासाथ चिन्छु । क्षमताले भ्याएसम्म सहयोग गर्दै आएको छु । निरन्तर गर्ने पनि छु ।

यो क्षेत्रमा मभन्दा पनि अगुवा दाइहरु पनि हुनुहुन्छ । महाकाली, सुनखानीदेखि जिल्लास्तरका मेघाङ, किस्पाङतिर पनि मभन्दा अगुवा दाइहरु हुनुहुन्छ । उहाँहरुले मेरो जत्तिको बिजनेस विस्तार गर्नु सक्नु भएको त छैन होला तैपनि उहाँहरु प्रति मेरो अत्यन्तै सद्भाव छ । मेरै पुस्ताका कृषक साथीहरु र मभन्दा पछिका जुनियर साथीहरु सबैलाई लाग्न प्रेरणा दिँदै आएको छु । र उत्पादन भएका कृषि उपजहरु बजारीकरणका लागि यो फार्मको आफ्नै ढुवानी साधन हुने हुनाले र मार्केटसँग १०/२० वर्षदेखि कनेक्सन भएकोलेले कलेक्सन गरेर त्यहाँ पुर्‍याइदिने र त्यहाँबाट भुक्तानी ल्याएर किसानसमक्ष पुर्‍याउने भूमिका निर्वाह गर्दै आएको छु ।

• कृषि र पशुपालन किन महत्वपूर्ण ठान्नुहुन्छ ?
तरकारी खाद्यान्नभन्दा अगाडिको वस्तु जस्तो लाग्छ मलाई । बिहान बेलुका नै यो सबैले उपभोग गर्ने । सबै पेसा व्यवसायमा लाग्ने मान्छेहरुले उपभोग गर्ने । वस्तुको रुपमा यो तरकारी वार्षिक अर्बौंको रुपमा हजारौं मेट्रिक टनमा कालीमाटीको माध्यम गरेर विदेशबाट आयात भइरहेको छ । धेरै प्रकारका त्यस्ता तरकारीहरु नेपालमै उत्पादन गर्न सक्यौं भने बाह्य आयातलाई विस्थापन गर्न सक्छौं र देशभित्र नै त्यसको पर्याप्तता भएपछि स्वदेशी मुद्रा विदेशिनबाट रोक्ने, रोजगारी सिर्जना हुनेछ ।

तपाईंको व्यवसायमा कोरोनाले कत्तिको प्रभाव पर्‍यो ?
यो वर्ष समस्या अलि बढी भयो । जब चैत ११ गतेदेखि नेपालमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण लकडाउन भयो । त्यसपछि मानिसहरु आफ्नो घर कसरी पुग्ने भन्ने हिसाबले भागभाग भए । जहाँ बजारको प्रचूर सम्भावना छ काठमाडौं । त्यहाँबाट लाखौंलाख मान्छे बाहिरिँदा त्यहाँको बजारमा एक त ढुवानी गरेर पठाउन समस्या र सरकारी पासको व्यवस्था गरेर ढुवानी गरेर लगिए पनि खपत कम हुने सम्भावना । माग कम हुनासाथ मूल्य न्यून हुने अर्थशास्त्रीय सिद्धान्त । मूल्य कम भए पछि भुक्तानी लिन पनि नसकिने र व्यापारीहरु पनि प्रचूर उपस्थिति नहुनाले हिउँदे तरकारीको प्रभाव वर्षे तरकारीसम्म देखा परिरहेको छ । यसपालि वास्तवमा किसानहरु मर्कामै परेका छन् ।

• के के तरकारी बिग्री गर्दै आउनु भएको छ ?
काँक्रा, फर्सी करेला, लउका घिरौंला खुर्सानी यी प्रकारका तरकारीहरुको मूल्य लगानीको अनुपातमा पारिश्रमिक नजोड्दा पनि किसानको बीउ र मलको पैसासम्म पनि वास्तवमा उठ्न नसकिरहेको अवस्था हो । कतिपय किसानले त बारीमै नस्ट गरेको अवस्था छ । दूधमा पनि त्यो खालको समस्या केही दिन भयो । तरकारीका उपजहरुमा समस्या विद्यमान छ । अब विस्तारै कन्ट्रोलमा आएको हो कि मार्केट भन्ने महसुस भएको छ । अहिले बिक्री पनि र मूल्य पनि रिकभर हुँदै आएको छ । वर्षे तरकारी खुला ठाउँमा नहुने टनेल, हाइटेक अथवा प्लास्टिक घरहरुमा मात्रै हुने र भिरालो बारीहरुमा मात्रै खेती गर्न सकिने भएकोले पनि बर्खामा उत्पादन पनि कम हुनाले मूल्य विस्तारै वृद्धि हुँदै गएको छ ।

तरकारी खेतीसँगै पशुपालनलाई पनि जोड्नुको कारण ?
तरकारी खेतीसँग पशुपालनलाई जोड्नुको अर्थ एउटा व्यवसायले अर्कोलाई टिकाउने । अर्गानिक खेती गर्नलाई चाहिने न्यूट्रेनहरुचाहिँ स्रोतका रुपमा त्यसबाट उत्पादन हुने मलमूत्र व्यवस्थापन गरेर खेती गर्न सकिन्छ भनेर पशुपालनलाई जोडेको हो ।

• घाँसपात कसरी व्यवस्थापन गर्नुभएको छ ?
घाँस फार्मभित्र पनि निकै नै छ । त्यसपछि करिब १०/१५ रोपनीमा रुखघाँस र भुइँघाँस व्यवस्थापन गर्दैछु । गाईवस्तु ८/१० वटा पाल्ने लक्ष्यसहित तयारी गर्दैछु ।

अन्य के के हुन्छ तपाईं यो फार्ममा ?
यहाँ मौसमी रुपमा तालिमहरु सञ्‍चालन हुन्छन् । आन्तरिक र बाह्य पर्यटकहरुका लागि लर्निङ सेन्टरको रुपमा यसलाई विकास गर्ने, फार्म स्टे गराउने सेवा प्रदान गर्ने लक्ष्य छ ।

• नयाँ पुस्तालाई के सुझाव दिनुहुन्छ ?
नयाँ पुस्ताका मभन्दा सिनियर, जुनियर र समान लेभलका कृषक साथी र कृषिप्रेमीहरुलाई भन्न चाहन्छु, व्यवसाय सुरु गर्नुभन्दा अगाडि म के गर्दैछु र कति समयमा कहाँ पुग्छु भन्ने प्लानिङ गर्नु होला । त्यसपछि व्यवसाय सञ्‍चालन गर्दा आफैं मालिक, आफैं कामदार हुने कृषि र पशुपालन आत्मसम्मान र अपरिहार्य पेसा हो । नेपाल विकासको मूल आधार पनि राज्यले कृषि नै बनाएको छ । यसैमा लागेर सबैको उन्नति भलो र रोजगारी सिर्जना हुने र आर्थिकस्तर वृद्धि हुने सम्भावना भएकोले सबैलाई प्लानिङसहित कृषि, पशुपालन पेसामा लाग्नका लागि सबैलाई अपील गर्छु ।

तपाईं यो पेसामा सफल ठान्नु हुन्छ ?
आर्थिक, सामाजिक र व्यावसायिक वा व्यावसायिक रुपमा मैले जति गरे सबै मैले कृषि पेसाबाटै हो । म यसमा घमण्डै गर्छु । आफूलाई सफल पनि ठान्छु ।

भिडियो:-

प्रतिक्रिया दिनुहोस्