केही महिना कोभिड १९ सँग लुकामारी खेल्दै बित्यो



गीतकार तथा कवि जानु काम्बाङ बेलायतका सक्रिय स्रष्टा हुन् । टेकबहादुर काम्बाङ लिम्बू र आमा सम्रोती फेम्बु लिम्बूको कोखबाट नेपालको ताप्लेजुङको ईखाबुमा जन्मिएर जन्मिएकी काम्बाङका गीत, कविताबाहेक कथा, नियात्रा, मुक्तक र गजल विधामा सशक्त कलम चलाउँदै आएकी काम्बाङको कवितासङ्ग्रह ‘शिविरमा ईश्वर’ (सन् २०१६), गीतिएल्बम ‘अनुभव’ (सन् २०१६), ‘जानु’ (सन् २०१८), कथासङ्ग्रह ‘नउघ्रेको जून’ (सन् २०१८) र आँसुको लय (सन् २०१९), प्रकाशित छ । यसैगरी, नियात्रा र उपन्यासजस्ता महत्वपूर्ण कृतिहरू प्रकाशोन्मुख रहेका छन् ।

उनको गीतहरू सयभन्दा धेरै संख्यामा रेकर्ड भइसकेका छन् । ‘बेचीदिन्थे यो जवानी’(चलचित्र मट्टिमाला), ‘कयौं प्यासी रातहरू’, ‘तिमी भित्रभित्रै, ‘यस्तो एउटा संसार खोज्न’ जस्ता गीत निकै लोकप्रिय छ  । उनका गीतहरूमा गायक राजेश पायल राई, मेलिना राई, सञ्जीवनी, आनन्द कार्की, प्रबिषा अधिकारी, प्रमोद खरेलदेखि नेपाल आइडल र भ्वाइस अफ नेपालका विजेता सीडी विजय अधिकारी, श्रेयसी चेम्जोङ, सुनिता थेगिम, बबिना किराती, सुजन तिगेला र मीना निरौला लगायत थुप्रै लोकप्रिय कलाकारहरूले स्वर भरिसकेका छन् ।

बेलायतलाई कर्मभूमि बनाएर नेपाली साहित्यमा कलम चलाउँदै आएकी एक सशक्त महिला हस्ताक्षर साहित्यकार र पेसाले स्वास्थ्यकर्मी जानु काम्बाङ्ग लिम्बुसँग समसामयिक विषयमा गरिएको कुराकानी ।

लकडाउनलाई कसरी अनुभव गर्नु भयो ?
– मेरो लकडाउन त एकदम व्यस्तमै बित्यो र बित्दैछ भन्नु पर्ला । गएको केही महिना कोभिड १९ सँग लुकामारी खेल्दै बित्यो, अहिले मर्ने बिमारी मरी गए बाँचेकाहरूको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि भने ढुक्क भएका छौँ । स्वास्थ्यक्षेत्रमा काम गर्नेहरूलाई लकडाउन त होइन स्टाफहरू पनि संक्रमित भएपछि कामको चाप बढेको महसुस भो ।

गीत लगायत अन्य कृतिहरु निरन्तर आइरहेका छन् ? आउन लागेको नयाँ कोसेली कृति केही छन् ?
– खासै त छैन एउटा यात्रा संग्रह र उपन्यास सम्पादनमा छन् । गीतचाँहि किताब निकालिसकेपछि लेख्ने सोच गरेको छु ।

कला साहित्य संगीत साधनामा लाग्नु भएको कति समय भयो ? हालसम्म कतिवटा कृतिहरु साहित्यको बगैचाभित्र रोप्नु भएको छ नि ?
– यकिन छैन कहिलेदेखि लगियो सानैदेखि नोटबुकतिर साईरी लेखिन्थ्यो । उपन्यासहरू पढिन्थ्यो, कथा कविता पढ्न मन लाग्थ्यो सायद त्यही बेला भित्र-भित्रै मनमा साहित्य उम्रिरहेको थियो तर बाहिर निस्किनचाँहि पछि देश छाडेर हङकङ पुगेपछि मैले लेख्न सुरु गरेँ । मेरो पहिलो कृति कवितासंग्रह ‘शिविरमा ईश्वर’, गीति एल्बम ‘अनुभव’ २०७२, कथासंग्रह ‘नऊघ्रेको जून’ र ‘जानु एल्बम’ २०७५, गीतिसंग्रह किताब ‘आँसुको लय’ २०७६, छन् ।

कला, साहित्य, संगीतलाई कसरी बुझ्नु भएको छ ? कला, साहित्य, संगीत र जीवनको कस्तो सम्बन्ध रहेको पाउनु भएको छ नि ?
– छोटकरीमा भन्नु पर्दा कला, साहित्य र संगीत जीवन हो, यी तिनै चिज जीवनसँग सम्बन्धित छन् ।

पहिलो गीत कति सालतिर रेकर्ड भएको थियो ? त्यी पुराना दिनहरुलाई कत्तिको सम्झिनु हुन्छ ?
– तारा प्रकाश लिम्बूको संगीत, प्रमोद खरेलको स्वरमा २०७२ सालमा रेकर्ड भएको मैले गर्ने विश्वासमा खोट पाएँ आज बोलको गीत हो जुन गीत मेरो पहिलो एल्बम अनुभवमा समेटिएको छ । त्यतिबेला त्यो रेकर्ड भएको गीत पहिलो पल्ट सुन्दा धरधरी रुएको थिएँ । गीत पनि सेन्टिमेन्टल थियो । पटक पटक सुनेँ ।

साहित्यको कुन विधा हजुरलाई प्रिय लाग्छ? अथवा स्रोता पाठकले आफूलाई के भनेर बुझिदिए हुने थियो जस्तो लागेको छ ?
– भन्न त मलाई गीतकार भनेर चिन्छन्, अलिअलि कविता पनि लेख्ने हुनाले कतिले कवि पनि भन्छन् तर म आफैलाई चाहिँ आख्यान विधा मन पर्छ । अहिले पछिल्लोपल्ट धेरै समय आख्यानमै खर्चिएको पनि छु । तर पनि मलाई पाठकले यसै भनोस् भन्नेचाँहि नसोचेको भएर होला जे भने पनि ठीकै लाग्छ ।

सबैलाई थाहा नभएको तर नेपाली साहित्यजगतमा सशक्त महिला हस्ताक्षरको रुपमा उभिएर कलम चलाइरहँदा तपाईं अनुभव भएको केही महत्वपूर्ण र गोप्य कुरा बताइदिनुहुन्छ कि ?
– त्यस्तो त केही पनि छैन । म अलिक आफ्नै धुनमा रमाउने मान्छे भएर पनि होला त्यस्तो केही महसुस गरेकी छैन तैपनि कहिलेकहीं लाग्छ, हामीले गरेका कतिपय कामहरू अग्रजहरूका निम्ति अपत्यारिला हुँदोरहेछ । खैर केही छैन सिर्जना भनेको आत्माबाट अथवा मनबाट सृजित हुने कुरो हुन् । फुरेपछि नलेखी बस्न सकिन्न । वास्तवमा सिर्जना सबै सन्तान हुन् । कति राम्रा स्वस्थ जन्मिन्छन्, कति अस्वस्थ । सबैले मन पराउनु पर्छ भन्ने पनि छैन आफैलाई सन्तुष्टि मिले भो ।

प्रतिक्रिया दिनुहोस्