झन्डा जलाउनु सांकेतिक विद्रोह



मोहन गोले तामाङ

केही कलाकारहरुले भिडियो निर्माणको क्रममा नेपालको झन्डा जलाइएकोबारे अहिले पक्ष र विपक्षमा सर्वत्र बहस भइरहेको छ । केहीले झन्डा जलाउनेलाई हदैसम्मको सजाय दिनु पर्ने भनिरहेका छन् भने केहीले सजाय दिनु नहुने भनिरहेका छन् । यही सन्दर्भमा झन्डा जलाएको भिडियो बनाएर युट्युबमा हाल्ने कलाकारहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झन्डाबारे के बुझौ भने झन्डा कुनै पनि देशको राष्ट्रियता झल्काउने एउटा प्रतिक चिन्हमात्र हो । यस्ता प्रतिक चिन्हहरु झन्डामात्रै नभएर अरु पनि हुन्छन् । जस्तो: जनावर, पंक्षी, रंग, पोसाक आदि आदि । यस्तो प्रतिक चिन्ह तोक्दा त्यसले देशको सबै खाले विविधतालाई सम्बोधन गर्छ कि गर्दैन ? त्यो हेर्नु पर्थ्यो तर हेरिएन । किनकि नेपालमा लामो समयसम्म एकात्मक, केन्द्रीकृत, राजतन्त्रात्मक र हिन्दु राज्यको रुपमा सत्ता संचालन गरियो । जसले गर्दा ती सबै जसो प्रतिक चिन्हहरु त्यही राज्य ब्यवस्थालाई चिनाउने अर्थमा बिगतमा राखियो जसले नेपालको समग्र राष्ट्रियतालाई बोक्न सकेन । देश चिनाउनु पर्ने यहाँको आदिवासीको विविधताले तर प्रतिक चिन्ह चै उल्टो राखिदिँदा यहाँ कुरो गडबडी भयो ।

अर्को के बुझौं भने यस खालको प्रतिक चिन्हहरु समय अनुसार बदलिन्छन् । त्यसैले ती चिजहरु स्थायि होइनन् । जनताको आन्दोलनबाट विकसित नयाँ परिस्थितिमा त्यस्तो प्रतिक चिन्ह फेरिनु वैज्ञानिक र बिधिसम्मत हुन्छ । २०६२/६३ को जनआन्दोलनपछि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्म निरपेक्ष घोषणा भएपछि पहिलो संविधानसभाले नयाँ संविधान निर्माण गर्ने क्रममा झन्डा परिवर्तन गर्नेबारे पर्याप्त बहस चलायो । झन्डासँगै राष्ट्रिय जनावर पनि परिवर्तन गर्नुपर्ने सम्बन्धमा जोडदार कुरा उठ्यो । तर संघीय गणतन्त्र नेपालको संविधान भनेर संविधानको कभरमा नाम लेख्नसमेत नचाहने उग्र जातिवादी, अतिवादी शासकहरुबाट झन्डा परिवर्तन गर्ने कुरा सम्भव नै भएन । जसले गर्दा एकात्मक, केन्द्रीकृत, राजतन्त्रात्मक हिन्दु राज्य नेपालकै चन्द्र, सूर्य अंकित झन्डा, जनावर गाई र रंग सिम्रिक आदिले संघीय गणतन्त्र नेपालमा पनि निरन्तरता पायो ।

भर्खरै कलाकारहरुले झन्डा जलाएको यसैको असन्तुष्टिको सांकेतिक रुप हो । गीतमा कुनै जात समूहप्रति नै घृणाभाव फैलने गरी शब्द रचिएकोमा मेरो समर्थन छैन । आदिवासी शब्दप्रति डा. गोपाल गुरुङले गरेको तर्क मेरो लागि चित्तबुझ्दो छैन । मेरो अध्ययनको कमी भयो भने कुनै दिन अध्ययनले पूर्णता पाएको दिन स्वीकार गरौंला । तर यही कमजोरीलाई थप बुझाउनुको सट्टा उल्टै गाली गर्नु राजनीतिक संस्कारको भाषा होइन ।

कुनै पनि जाति/जातभित्र सामन्तावादी ब्यबस्थाको उपज ब्राम्हणवादी, जातिवादी दृष्टिकोण हुन्छ । त्यो जनजाति र दलितभित्र पनि छ । त्यसको बिरोध गर्नुपर्छ तर त्यस भित्रको सीमित ठालुले गरेको अपराधको भारी सबैलाई बोकाउनु फेरि अर्को गम्भीर गल्ती हुनेछ । यस्तो अति कुरा सुन्दा मज्जा लाग्छ, क्या गजवको वात गर्‍यो भन्ने लाग्छ तर व्यवहारमा आउँदा त्यो फेल हुन्छ । यो लुतो कन्याउँदा एकछिन सन्चो भए जस्तो मात्र हो । जो निको नभई उकुच पल्टिने सम्भावना बढेर जान्छ । हामी नै निर्वाचनको बेलामा प्रधानमन्त्री केपी ओलीको ठट्यौली भाषणमा खुवै बहकियौ तर यथार्थमा ती त हावादारी रहेछ भन्ने अन्तत: ब्यबहारले सावित गर्‍यो ।

हाम्रो समाजलाई हेरौं । नेपाली समाज बसाइँसराइ, बिबाह, ब्यापार, रोजगारी आदि विविध कारणले मिश्रित समाजमा रुपान्तरण भएको अवस्था छ । यस्तो मिश्रित समाज नबनेको भए एक जातिले अर्को जातिमाथि गरिने थिचोमिचो हुन्न थियो होला तर जे नहुनु थियो, भइसक्यो । अब कसैले कसैलाई शरणार्थी हुन्, आप्रवासी हुन् भनेर भुटानबाट नेपाली मुलकालाई लखेटे जसरी कसैलाई पनि लखेट्नु सम्भव छैन र हुँदैन पनि । अब यही समाजभित्र अन्याय, उत्पीडन, शोषण, दमनमा परेकाहरुले सामाजिक न्याय र सकारात्मक बिभेदको सिद्दान्तअनुसार उनीहरुको पहिचान, प्रतिनिधित्व र पहुँचको माध्यमबाट समतामूलक समाज निर्माण गर्दै अघि बढ्नुपर्छ । सबैको पहिचान सबैको सम्मान पुँजीवादी युगको पहिलो मुद्दा हो । यसलाई अस्वीकार गरेर समाजवादको यात्रा तय गर्न सकिन्न ।

यसकारण झन्डा जलाएर ती कलाकार भाइबहिनीहरुले गरेको सांकेतिक विद्रोहलाई सकारात्मक पाटोबाट हेरौं । यसको लागि जिम्मेवार दुई तिहाईको सरकार, प्रशासन, राजनीतिक दल र सचेत नागरिकले यस्तो समस्याको दीर्घकालीन हल खोज्नुपर्छ । कुनै राजावादी जमातले यही बेला दुई पक्षलाई भिडाएर आफूहरु हिरो बन्न प्रहरी प्रशासन र आम जनतालाई उचालिरहेको मैले देखिरहेको छु । यस्ताहरुको सनकमा कार्यपालिका र न्यायपालिका लाग्यो भने त्यसले फासीवादको यात्रा गर्ने निश्चित छ ।

कुनै पनि प्रतिक्रियामा पात्र सहायक कारण हुन् भने उत्पन्न परिस्थिति मुख्य कारण हो । त्यसैले झन्डा जलाउने पात्रहरूलाई कारवाहि गर्नुभन्दा उत्पन्न परिस्थितिलाई सिर्जना हुन नदिनु बुद्धिमानी हुनेछ । नत्र त्यो परिस्थितिले फेरि अर्को ग्याल्जी लामाहरु जन्माइरहनेछन् । यसतर्फ सचेत हुँदै पक्राउ गरिएका सांकेतिक विद्रोहको थालनी गर्ने सहायक पात्रको रुपमा उभिएका सबै कलाकारहरुलाई बिनाशर्त रिहाई गरियोस् । धन्यवाद !

(नेपाल तामाङ घेदुङका अध्यक्षसमेत रहेका लेखकका निजी धारणा हो ।)

प्रतिक्रिया दिनुहोस्