एसईई नतिजा र यसको भ्रम



विषय प्रवेश
एसईई परीक्षा २०७६ को नतिजा राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको छ । २०७६ साल चैत्र ६ गतेबाट सञ्चालन हुने भनेर तोकिएको एसईई परीक्षा कोभिड-१९ को कारणले परीक्षाको अघिल्लो दिन साँझमात्र स्थगित भएको थियो । एसईई परीक्षालाई के गर्ने तथा कसरी सञ्चालन गर्ने भन्ने विषयमा लामो रसाकस्सीपछि जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परीक्षा बोर्डबाट परीक्षा संचालन नगरी विद्यालयहरुले गरेका आन्तरिक मूल्यांकनको आधारमा विद्यार्थी मूल्यांकन गर्ने र यसका लागि विद्यालयहरुलाई आफूले सञ्चालन गरेका आन्तरिक परीक्षाहरूको आधारमा नतिजा तयार गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनको लागि निर्णय गरेको थियो। यसै निर्देशनबमोजिम विद्यालयहरुले विद्यार्थीहरूको नतिजा तयार गरी राष्ट्रिय परीक्षा बोर्ड मा पठाएका थिए जसलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणित गरि भाद्र १ गते नतिजा प्रकाशन गरेको हो ।

नतिजा प्रकाशन हुनुभन्दा पहिले नै यस वर्षका विद्यार्थीहरुलाई विभिन्न उपमाहरु दिइयो । एसईई बोनस ब्याच, भाग्यमानी व्याच आदि नामहरू दिएर विद्यार्थीलाई होच्याउने काम भयो । नतिजा प्रकाशन भएपछि प्राप्त जीपीए (GPA)लाई लिएर विद्यार्थीहरुलाई मानसिक तनाव हुने गरी टिप्पणीहरु भए । विद्यार्थीहरुले यस वर्षको परीक्षाको तयारी राम्रोसँग गर्न पाएनन् जतिबेला उनीहरु मानसिक रूपमा परीक्षा दिनका लागि तयार थिए अझ भनौं परीक्षा केन्द्रमा पुगिसकेपछि अघिल्लो दिन साँझमात्र स्थगित भएको जानकारी गराइयो जसले उनीहरुलाई ठूलै तनाव दियो । त्यसपछि परीक्षा कहिले हुने यसमा हुने/नहुने विषयमा लामो समयसम्म नै विवाद रह्यो जसले गर्दा उनीहरुलाई परीक्षाको तयारी गर्न अल्मल्याइरह्यो ।

एकातिर परीक्षाको चिन्ता अर्कोतिर कोरोनाको त्रास वास्तवमै उनीहरु ठूलै मारमा परे। त्यसपछि बाँकी जे भयो उनीहरुलाई केही पनि थाह छैन। उनीहरुले मात्र परीक्षा नहुने भन्ने कुरा थाहा पाए । कति अङ्क दिइयो ? केको आधारमा अङ्क दिइयो ? राष्ट्रिय परीक्षा बोर्डले के कसरी प्रमाणित गर्‍यो ? आदि विषयमा उनीहरु अनभिज्ञ नै रहे । जुन विषयमा उनीहरूलाई कुनै जानकारी नै छैन अथवा उनीहरूको चाहनाबमोजिम भएकै छैन तर सबैभन्दा बढी हस्यास्पद विषय उनीहरु बन्नुपर्दा उनीहरुलाई यतिबेला दुखी बनाएको छ। यो सबै भएको छ त मात्र केवल प्रणालीले न विद्यार्थीले न शिक्षकले न त विद्यालयले नै । प्रणालीमा नै समस्या भएपछि सबैतिर समस्याहरु आउने नै भयो । यसको दोष प्रणाली अथवा निर्णयकर्तालाई दिउ न कि विद्यार्थी अथवा विद्यालयलाई । यहाँनेर सबैभन्दा बढी महत्वपूर्ण कुरा त हाम्रो धारणामा परिवर्तन ल्याउनु पर्ने देखिन्छ । यो परीक्षामा विद्यार्थीहरुलाई विद्यालयहरुले जतिसुकै अङ्क दिएर जस्तोसुकै ग्रेड प्राप्त गरे पनि यसले के अर्थ राख्छ र ?

विगतको वर्षमा एकजना विद्यार्थीले पनी ४.० जीपीए नल्याएको विद्यालयले यस वर्षको नतिजामा १५ जना विद्यार्थीलाई ४.० जीपीए दियो के अब यस्तो अबुझ अभिभावक कोही छ । जसले यो विद्यालयको १५ जना विद्यार्थीले ४.० जीपीए ल्याएका रहेछन् यो त साह्रै राम्रो विद्यालय रहेछ अब आपना छोराछोरी यसै विद्यालयमा भर्ना गर्छु भनेर सोच्ला त ? अर्को कुरो भोलि कुनै विद्यार्थीले यो परीक्षाको प्रमाणपत्र बोकेर कुनै कार्यालयमा जागिर खान जाँदा यो व्यक्तिले त ४.० जीपीए ल्याएको रहेछ भनेर सिधै अफिसमा जागिर देला त ? मलाई लाग्दैन कि यस्तो हुन्छ । अब विद्यार्थीले एसईई परीक्षामा ए प्लस (A+) ल्याए पनि वा डी प्लस (D+) ल्याए पनि यसले विद्यार्थीको भविष्यमा खासै असर पर्दैन ! बरू यस पछिको करिब एक दशक विद्यार्थीको भविष्यको आधारशिला हो । अब आफ्नो रूचिको विषय पढ्ने र ज्ञान, सिप र धारणामा समय र प्रविधिमैत्री हुन सके सफलता मिल्छ ! आफूलाई कक्षा ११/१२ मा अझ राम्रो नतिजा ल्याएर प्रमाणित गर्नुहोला शुभकामना ! तर बढी जीपीए पाए भनेर बाल मस्तिष्कमा असर पर्ने गरी भद्दा टिप्पणी कसैले पनि नगरौँ !

हाम्रो विगत
वि.सं १९९० सालबाट सुरु भएको प्रवेशिका परीक्षा जसलाई एसएलसी (SLC) नामबाट चिनिन्थ्यो । यस परीक्षालाई हामीले धेरै नै जटिल बनाएका थियौं यसलाई फलामे ढोका भनेर विद्यार्थीको सातो नै लिने काम गरेका थियौं । यस परीक्षामा आफ्ना छोराछोरी पास हुनु भनेको बाबुआमाहरुका लागि उनीहरूको जीवनको सबैभन्दा ठूलो उपलब्धि हुने गर्दथ्यो । परिवारको विरासतसँग जोडिन्थ्यो । बोर्डफस्ट घोषणा गर्ने परम्पराले त यस परीक्षालाई अझ अस्वस्थ प्रतिस्पर्धा गराएको थियो बोर्डफस्ट घोषणा गर्ने चलनले अस्वस्थ प्रतिस्पर्धा भएको भनेर वि. सं २०६१ सालबाट यसलाई हटाइयो तर पनि यो वर्ष फलानो बोर्डफस्ट भयो होला भनेर अड्कल तथा दाबी गर्नेहरूको कुनै कमी हुँदैनथ्यो ।

कुनै बेला कक्षा ९-१० बाट नै प्रश्न सोधिन्थ्यो । एकाध विद्यार्थीमात्र पास हु्न्थे । मौका परीक्षाको व्यवस्था नै थिएन । एसएलसीमा पास हुनु गाउँ र भेगकै गौरवको विषय हुन्थ्यो । यो परीक्षालाई हामीले यति धेरै महत्व दियौं कि विद्यार्थीको सारा जीवन नै यसैको आधारमा चल्छ जस्तो, यसले नै विद्यार्थीको बाँकी जीवन निर्धारण गर्छ जस्तो । अरु धेरै परीक्षाहरु हुन्थे ११/१२ मा पनि राष्ट्रियस्तरको परीक्षा हुन्थ्यो त्यसको कुनै चर्चा हुँदैनथ्यो चर्चा हुन्थ्यो त केवल यही परीक्षा ।

परीक्षा सञ्चालनमा मात्र होइन प्रश्नपत्र निर्माणदेखि उत्तरपुस्तिका परीक्षणसम्मका क्रियाकलापहरु सञ्चारमाध्यममा आइरहन्थे। परीक्षाफल प्रकाशन हुनुभन्दा झण्डै एक महिनाअघिदेखि नै देशैभरि यसको चर्चा हुन्थ्यो। यो हप्तामा हुन्छ रे अर्को हप्ता मा हुन्छ रे यो बार हुन्छ रे त्यो बार हुन्छ रे भन्दै नानाथरीका अड्कलबाजीहरु भइरहन्थ्यो। परीक्षाफल प्रकाशन हुनुभन्दा २४ घन्टा अगाडिबाट मानिसहरु नतिजाको लागि व्यग्र रहन्थे । जुन आजसम्म पनि छँदैछ । अहिलेको जस्तो आधुनिक सञ्‍चारकामाध्यमहरु नहुँदा गोरखापत्रमा प्रकाशन हुने यस परीक्षाको परीक्षाफल हेर्नको लागि मानिसहरु हप्तौंसम्म पनि भौतारिरहन्थे । घरमा पिएचडी (विद्यावारिधी) नै गरेका बाबुआमा किन नहुन् उनीहरुको छोराछोरीले यदि यस परीक्षा दिएका छन् भने पिएचडीभन्दा यही परीक्षाको उपलब्धि नै बढी हुन्थ्यो।

अहिलेको प्रयास
एक्काइसौं शताब्दीको यो समय सूचना तथा प्रविधिको युग हो। आज विश्वव्यापीकरणसँगै हाम्रा विचार व्यवहार तथा प्रवृत्ति पनि परिवर्तन भइरहेका छन्। आज दर्शनमा उत्तरआधुनिकतावादको विकास भइसकेको छ । यसैकारण शिक्षाको परम्परागत धारणामा पनि परिवर्तन आइसकेको छ । शिक्षाको आवश्यकता, प्रकार, प्राप्त गर्ने तरिका र प्रयोगको धारणामा व्यापक परिवर्तन आइसकेको छ । एउटा व्यक्तिको लागि आधारभूत शिक्षा के हो ? कतिसम्म जान्यो भने उसको सामान्य जीवनलाई सहज बनाउन मद्दत पुर्‍याउँछ भन्ने विषयमा पनि परिवर्तन आयो । कुनैबेला समय यस्तो थियो जतिबेला सामान्य साक्षर व्यक्तिले पनि महत्व पाउँथे यस्ता व्यक्तिहरुलाई जागिरका लागि घरमै लिन आउँथे । यस्तो अवस्था विसं २०३० सम्म थियो । पछि जागिर पाउन ५/ ६ कक्षा पढेको भने पनि औपचारिक प्रमाणपत्र चाहिन थाल्यो । यो४० सालअघि तिरको कुरा हो ।

शिक्षाको विकास हुँदै जाँदा शिक्षित मान्छेहरु बढ्दै गए । ५ कक्षा पास हुने मानिसहरु धेरै भए । अब सामान्य जागिर खान ५ कक्षा पास भएर भएन बिस्तारै ८ कक्षा, १० कक्षा र पछि एसएलसी नै पास गर्नुपर्ने भयो । यो २०६० साल अघिसम्म कुरा हो । २०७० सम्म आइपुग्दा १२ कक्षा तथा स्नातक तहले मात्रले नहुने भयो । स्नातकोत्तर तहसम्म शिक्षा अनिवार्य जस्तै बन्यो । ०७० पछि अथवा आजसम्म स्थितिलाई हेर्ने हो भने अब परम्परागत औपचारिक शिक्षामा जतिसुकै पढ्नुस् पिएचडी नै गरे पनि त्यसको महत्व विगतको जस्तो रहेन । आज समाजमा नाम र दाम कमाउन औपचारिक शिक्षाले मात्र नपुग्ने भयो । आज जसले नयाँ नयाँ सोच र चिन्तनका साथ काम गर्दछ उसले नै सफलता पाउने भयो । मैले यहाँ जोड्न खोजेको कुनै बेला सामान्य लेखपढ गर्न जान्ने मान्छे त्यत्तिकै भरमा त्यस परिस्थितिमा टिक्न सक्दथ्यो भने आज कति कक्षा पढेको मानिस अथवा कति शिक्षा हासिल गरेको मानिस समाजमा टिक्छ भनेर प्रश्न सोध्दा यसको प्रस्ट उत्तर आउँदैन किनभने आज शिक्षाको परिभाषा बदलिसकेको छ । आज त कक्षा ८ सम्मलाई आधारभूत तह भनेर निर्धारण गरिएको छ । शिक्षा ऐन २०२८ (आठौं संशोधन)ले कक्षा ११ र १२ लाई पनि विद्यालय शिक्षामा समेटेको छ ।

एसएलसी परीक्षालाई सामान्य बनाउने क्रममा मौका परीक्षाको व्यवस्था सुरु भयो । कक्षा १० बाट मात्रै प्रश्न सोध्न थालियो । एसएलसी परीक्षा सुरु भएको ८२ वर्षपछि वि.सं ०७३ सालबाट यसको नाम परिवर्तन भएर एसईई भयो । ०७२ सालबाट त फेल भन्ने शब्द नै प्रयोग गर्न नपाइने भयो । यसै सालबाट नेपालमा एसएलसी परीक्षालाई अक्षरांक मूल्यांकन विधि अपनाइने निर्णय भयो । कक्षा ११ पढ्न अधिकांशले पाउने सुनिश्चितता गरियो ! अब त कक्षा ११/१२ पनि विद्यालय शिक्षा नै हो। विद्यार्थीहरूले १० कक्षासम्म जस्तै ७ /८ वटा विषयहरु १०-४ मानै पढ्नु पर्छ । अब एसईई हैन यसलाई १० कक्षाको परीक्षा भनौँ र ५-८-९ कक्षा जस्तै मानौँ । ९ कक्षाको परीक्षा र यसको नतिजाबारे सुन्नुभएको छ ? कक्षा १० को परीक्षामा चाहिँ किन यति धेरै हल्ला ? समय र परिस्थितिले हरेक कुरामा परिवर्तन ल्याउँछ । एसईई मा पनि यस्तै भयो !

हामीले बुझाउन नसकेको कुरा
मैले माथि नै हाम्रो विगत र वर्तमानको प्रयासलाई उल्लेख गरिसकेको छु यसबाट पनि प्रस्ट हुन्छ हामी अहिले शिक्षाको प्रणाली सुधार्ने क्रमको संक्रमणकालीन अवस्थामा छौं । हाम्रा विगतका मूल्य, मान्यता ,परम्परा र प्रणालीलाई पूर्णरूपमा हटाउन नसकिरहेको र नयाँ प्रणालीमा भर्खरै प्रवेश भइरहेकोले पनि धेरै कुराहरूमा अभ्यस्त हुन बाँकी नै छ । आजसम्म पनि हाम्रो धारणा कक्षा ११/१२ लाई क्याम्पस नै मान्ने बानी हटिसकेको छैन । शिक्षकहरु पनि कक्षा ११/१२ पढाउनुलाई क्याम्पस पढाउनु नै ठान्छन् । विद्यार्थीहरु पनि कक्षा ११/१२ पढ्न एउटा कापी र कलम गोजीमा हालेर जान चाहन्छन् । बिहान १/२ घन्टा पढाउन पाए शिक्षकहरुले पनि दिउँसो अन्तै काम गर्न भ्याउने भए, विद्यार्थीहरु पनि दिउँसो जागिर खान जान पाउने भए तथा अभिभावकहरु पनि बिहान २/४ घन्टा विद्यार्थीहरु पढ्न गए पनि दिउँसोको समयमा कुनै काम गरुन् अथवा आफूलाई सघाउन् भन्ने चाहन्छन् ।

नेपालको संविधान २०७२ ले कक्षा ८ सम्मको शिक्षा (आधारभूत तहको शिक्षा) निःशुल्क तथा अनिवार्य बनाएको छ भने माध्यमिक तहसम्मको शिक्षा (९-१२) लाई निःशुल्क शिक्षाको रुपमा उल्लेख गरेको पाइन्छ । शिक्षा ऐन २०२८ (आठौं संशोधन)ले कक्षा ११ र १२ लाई पनि विद्यालय शिक्षाको रुपमा समेटेको छ । माध्यमिक शिक्षा पाठ्यक्रम २०७६ ले अध्ययन गर्ने विषयहरूको पूर्णाङ्कको व्यवस्था हटाएको छ । यसले पाठ्य भार( credit hour) र वार्षिक कार्य घन्टाको परिकल्पना गरेको छ । जसअनुसार कक्षा ९ र १० को लागि ३२ credit hour तथा १०२४ वार्षिक कार्य घन्टा तोकेको छ भने कक्षा ११ र १२ को लागि २७ credit hour र ८६४ वार्षिक कार्य घन्टा तोकेको छ । कक्षा ९ र १० मा पुरानै ६ वटा अनिवार्य तथा दुईवटा ऐक्षिक गरी आठवटा विषयहरु तोकेको छ भने कक्षा ११ र १२ को लागि चारवटा अनिवार्य तथा तीनवटा ऐक्षिक विषय गरी सातवटा विषयहरु तोकेको छ । (आवश्यकता अनुसार थप अर्को एउटा ऐच्छिक विषय पनि रहेको छ) यी सबै कुराहरु हामीले सरोकारवाला पक्षहरुलाई राम्रोसँग बुझाउन सकिरहेका छैनौं ।

कक्षा ११ मा यसै वर्षबाट नयाँ पाठ्यक्रम लागू हुने भनेर शिक्षा मन्त्रालयले घोषणा गरिसकेको छ तर आजसम्म पनि यसको तयारी राम्रोसँग भएको छैन । मैले यी सबै उल्लेख गर्नुको पछाडि कक्षा १० को परीक्षा अथवा एसईई परीक्षालाई परम्परा परम्परागत तरिकाबाट हेरिनु गलत हुन्छ भन्ने नै हो । समय र प्रणालीमा व्यापक परिवर्तन आइसकेको छ तर हामी भने पुरानै ढर्राबाट सोचीरहेका छौं यसकारण पनि यी समस्या र विवादहरु आएका हुन् कि जस्तो लाग्छ । माथिका यी सबै तथ्यहरुलाई हेर्दा कक्षा १० को परीक्षा (एसईई) अब हाउगुजीको विषय रहेन, फलामे ढोका पनि रहेन अब यो सामान्य ९ कक्षा सम्मको परीक्षाहरु जस्तै हुने भयो ।

नेपालको संविधान २०७२ ले नै माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ तर कक्षा १० को परीक्षा भने राष्ट्रिय परीक्षा बोर्डलाई गर्न दिएर सरकारलेनै दोहोरो चरित्र देखाइरहेको छ। यस परीक्षालाई राष्ट्रिय परीक्षा बोर्ड अथवा प्रदेशस्तरमा पनि गर्न जरुरी देखिँदैन कक्षा ८ मा जस्तै स्थानीय तहमा नै सीमित गर्दा उपयुक्त हुन्छ । यति गर्न सकियो भने अझै पनि विद्यालयहरुले एसईई परीक्षाको प्रमाण पत्र र ग्रेड देखाएर गर्ने व्यापार कम हुन्छ । विद्यालय र विषय शिक्षकबाट अहिले जस्तो बदमासी पनि हुँदैन । उनीहरुले पनि के बुझ्नछन् भने एसईई नतिजाको आधारमा मात्र नत उत्कृष्ट शिक्षक वा विद्यालय नै भइन्छ अनि नत यही प्रमाणपत्रले विद्यार्थीलाई कुनै त्यस्तो थप अवसर दिलाउँछ । यसमा प्राप्त हुने जीपीएको महत्व पनि घट्दै जान्छ । विद्यार्थीहरुलाई पनि मानसिक दबाब पर्दैन । स्वतन्त्र रुपमा सोचेर आफ्नो प्रतिभाहरू प्रस्फुटन गर्ने वातावरण निर्माण हुन्छ । बरु कक्षा १२ को परीक्षालाई प्रदेश ]स्तरको बनाउन सकिन्छ।
(यो लेखकको व्यक्तिगत विचार हो । कोही कसैसँग सम्बन्ध छैन)

प्रतिक्रिया दिनुहोस्