‘ओइ गनगन’ले प्रतिमाको प्रतिभा चिनायो : लोकदोहोरी गायिका



सुरिलो स्वरकी खानी प्रतिमा अर्याल काँठ क्षेत्रमा पछिल्लो समय ‘भाइरल गायिका’ को रुपमा चिनिन्छिन् । मकवानपुरको टिस्टुङ पालुङमा जन्मिएकी अर्यालले ‘ओइ गनगन’ र ‘जुनतारा’ गीतमा स्वर दिएपछि चर्चा कमाउन सफल भएकी हुन् । डेढ दर्जन गीत गाइसकेकी प्रतिमा आफूलाई ‘ओइ गनगन’ शीर्ष गीतले वास्तविक प्रतिभा पहिचान गराउन मद्दत पुर्‍याएको बताउँछिन् । करिब ६ वर्षदेखि पूर्णकालीन रुपमा लोकदोहोरी गायन पेसामा तल्लिन गायिका अर्याल लाइभ दोहोरी गायनमा निकै दख्खल राख्छिन् । उनै चर्चाको शिखरमा रहेकी गायिका प्रतिमा अर्यालसँग पछिल्ला भाइरल ओइ गनगन गीत, सांगीतिक यात्रा लगायत विषयमा साझा पथका लागि भरत तामाङले गरेको भलाकुसारी ।

यहाँले पछिल्लो समय गाउनुभएको ओइ गनगन गीतले निकै चर्चा कमायो । दिनचर्या कसरी बितिरहेको छ ?
दिनचर्या गीत संगीतमै बितिरहेको छ । कहिले हेटौंडा घर, कहिले काठमाडौं गरेर गीतसंगीतकै माहोलमा घुमिरहेको छ दिनहरु ।

चर्चामा रहेको गीत ओइ गनगनका विषयमा स्रोता, दर्शकले यहाँलाई कस्तो प्रतिक्रिया दिइरहनुभएको छ ?
एकदमै राम्रो प्रतिक्रिया आइरहेको छ । अहिलेसम्म मैले १५/१६ वटा गीत गाएँ, त्यसमध्येको ‘ओइ गनगन’ सुपरहिट बन्यो । टिकटकमा त झनै भाइरलै भएको छ । यो भन्दा अगाडि मैले सानु केसी दाइसँग एउटा गीत गाएकी थिएँ । त्यो ‘जुनतारा’ पनि युट्युबको ट्रेन्डिङमा परेको छ । यी दुई गीतले मलाई एकदमै माथि पुर्‍याइदिएको छ । दर्शकहरुले एकदमै माया गरिदिनु भाछ । प्रतिमा अर्याल को हो त ? भनेर अहिले त टिकटकमार्फत नै हेरेर खोजिरहनु भाछ । दर्शकहरुले एकदम माया दिइरहनु भाछ । एकदम आभारी छु ।

प्रतिमामा यस्तो प्रतिभा छ है भन्ने सोचेका थिएनौं । तर यति धेरै माथि गाउन सक्दोरहेछ । अझै उन्नति, प्रगति गर्नु । यस्तै यस्तै गीत फेरि पनि ल्याउनु, हामी सुन्नका लागि एकदमै आतुर छौं भन्ने खलका प्रतिक्रियाहरु आएका छन् ।

कति भयो गीत संगीतमा लाग्नु भएको ?
गीत संगीतको क्षेत्रमा लागेको ५/६ वर्ष भयो । गीत सानैदेखि गाउँथेँ । रुचि एकदमै लाग्थ्यो । मलाई लाग्थ्यो कि म यसरी माथिसम्म जान सक्छु । यसरी गीत रेकर्ड गर्न सक्छु भन्ने थिएन । मनको कुरा मनमै सीमित हुन्छ होला भन्ने लागेको थियो । तर उहीं गाउँको राजु विरही दाइ हुनुहुन्छ । उहाँले मेरो स्वर सुनिसकेपछि ‘बहिनी गीत गाउनुहुन्छ ?’ भनेर सोध्नु भयो । मलाई डर डर फिल भयो कसरी गाउने, के गाउने । उहाँ दाइमार्फत गीतसंगीत सुरुवात गरेँ । स्टुडियोमा ल्याएर उहाँबाटै कसरी गाउने, के गाउने भन्ने जानकारी उहाँबाट नै पाएँ । त्यसलगत्तै उहाँसँग धेरै सहकार्य गरेँ ।

पाठक, स्रोता दर्शकले गनगनको शाब्दिक अर्थ पनि बुझ्न चाहिरहेका छन्, के हो ?
(हाँस्दै..) सबैले सोध्नुहुन्छ गनगन के हो ?, कमेन्ट पनि आएको छ । गनगन भनेको एउटा थेगो हो । मायालु टाइपले राखेको शब्द । जे कुरामा पनि गनगन हुने क्या ! मैले हजुरलाई केही कुरा गरिरहेँ भने गनगन हुने । मनमन भनेको मायाको कुरा भयो ।

गनगन गर्न महिलाहरु अगाडि हुन्छन् भनिन्छ, तपाईंलाई के लाग्छ ?
नराम्रो कुरामा मात्र गनगन हुँदैन । कुनै पनि राम्रो, पोजिटिभ कुरालाई पनि बारबार गरिरहनु पनि गनगन हो । यस्तो गरिदिए हुन्थ्यो, उस्तो गरिदिए हुन्थ्यो । यो भइदिएहुन्थ्यो, उ भइदिएहुन्थ्यो । त्यसलाई नै गनगन भनेको हो ।

गीतमा सेन्टिमेन्टल शब्दहरु प्रयोग भएका छन्, यसबारे के भन्नुहुन्छ ?
दर्शकले जस्तो चाह्यो त्यस्तै हो । कत्तिले भन्नुहुन्छ मेरो जीवनमा मेल खायो । दर्शकहरुले रुचाएजस्तो नै भाको छ । राम्रो भाको छ ।

तपाईं एउटी महिला, अझै बुहारी । यो अवस्थामा गायिका बनेर समाजमा घुलमिल गर्न कत्तिको सहज छ ?
गाह्रो त गाह्रो छ नि ! हैन र । एक्लो जीवन जस्तो त हुँदैन । आफू एक्लै हुन्थ्यो भने त जहाँ गएर जे गर्दा पनि मतलब हुने थिएन । अहिले मैले समय गीत संगीतमा होइन, घर परिवारलाई बेसी दिनुपरिरहेको छ । आफ्नो घरपरिवार छ त सबै छ । अरुको लेभलमा हेर्दा त सहजै छ भन्नुपर्छ । कतिका त घरबाट नजा भन्ने, छेकथुन हुने । हामी त लोकदोहोरी गाउने, बुढाबूढी, हरेक हुनुपर्छ । तर मेरो परिवारले पचाउनु भएको छ। फ्यामिलीबाट त अझै पनि अगाडि बढ्नु पर्छ है भन्ने प्रेरणा पाएकी छु

सुरु सुरुमा कतिले कुरा काट्छन् । आ, भन्र गाउन अल्छी गरेर बस्दा काकाकाकीहरु हरेकले यस्तै हो भनेर सम्झाउनु हुन्थ्यो । कुरा त काटिहाल्छन्, घरमा बस्ने मान्छेको नि ! जो अगाडि बढ्छ त्यो लड्छ भनेर प्रेरणा पाएकी छु । उहाँहरुकै माया, हौसलाले गर्दाखेरी नै प्रतिमा अर्याल आज यो ठाउँमा छ ।

यहाँले काँठे दोहोरीमै सफलता पाउनुभयो । कसरी मूल्यांकन गर्नुहुन्छ काँठे दोहोरीको बजारलाई ?
काँठे दोहोरी बिलाउँदै बिलाउँदै गइसकेको थियो । गीतहरु आइरहे पनि दर्शक, स्रोताले चाहेको जस्तो आएको थिएन । तर पछिल्ला ओई गनगन, जुनतारा लगायत गीत सुनेर अझै पनि काँठे गीत सिर्जना गर्ने मान्छेहरु रहेछ भन्ने खालको कुराहरु आएका छन् । काँठे दोहोरी अझै जन्मिँदै छ । काँठे दोहोरी सुदृढ हुँदै छ भन्ने खालका प्रतिक्रिया आएका छन् ।

गायनका क्रममा साथीभाइहरुको साथ कत्तिको पाइरहनुभएको छ ?
एकदमै साथ पाएकी छु । पहिले साथीभाइ त्यत्ति धेरै थिएन । म गीत गाउन भनेर आउँथे । आफ्नै हिसाबले जान्थेँ । अहिलेको अवस्थामा साथीभाइहरु हुनुहुन्छ । दाइहरु हुनुहुन्छ । साथी भाइभन्दा पनि आदरणीय विमला दिदी, सानु केसी दाइ, संगम थापा दाइ । हाम्रो जम्बो टोली नै हुने गर्छ । हाम्रो नागबेली ग्रुप नै छ । एकदमै साथ सपोर्ट छ । तिम्रो स्वर मीठो छ । केही गर्छेउ भनेर हौसला दिनुहुन्छ ।

यी गीतहरु तयार हुँदै गर्दा यत्तिका चर्चा पाउला भन्ने सोच्नु भएको थियो ?
नाइँ नाइँ । यसअघि सानु केसी दाइको गीत गाउने बेला म हेटौंडामै थिएँ । सानु दाइको तीजको गीत पनि गाएकी छु । दाइहरुले यस्तो गीत छ । गाउने हो भन्नुभयो । मैले गाउने नि दाइ भनेपछि । काठमाडौं आउनुपर्‍यो भन्नु भयो । काठमाडौं आएँ । गीत गरेँ । एकदमै मनमा आनन्द । मनमा फिलचाहिँ भएको थियो यो गीत चल्छ भनेर । तर कलाकारले यो गीत चल्छ है भनेको चल्दैन । जुन गीत हिट हुन्न है भनेको चाहिँ हिट भइराखेको हुन्छ । यस्तै चर्चा बटुल्ला । यत्ति धेरै फ्यान होला भन्ने त सोचेकी थिएन । तर आफूले गाएको, गरेको कार्यहरु सफल होस् भन्ने सबैलाई हुन्छ ।

गीत टिकटकमा भाइरल भयो । तर यहाँले टिकटक बनाउनु हुन्छ कि हुन्न । बनाउनुभएको भए कत्तिको फलोअर्स छ ?
एकदमै धेरै फलोअर्स छन् । मैले टिकटक खोलेको त खासै धेरै समय भाको छैन । ४/५ महिना भयो । गनगन गीत हालिसकेपछि एकदम फलो गरिरहनुभएको छ । मैले फलो याड गर्ने गरेकी छु । मैले यहाँ (काठमाडौं) मा गीत एक टुक्का हालेँ । त्यही दिन भोकल हालेर घर हेटौंडा गएँ । ४/५ घन्टाको बीचमा यत्ति धेरै भाइरल भइसकेछ । यत्ति धेरै मान्छेहरुले टिकटक बनाइसक्नु भएको थियो । वाउ ! मलाई त यत्ति खुसी लाग्यो कि यो क्षेत्रमा क्षेत्रम लागेर जिन्दगीमा यत्ति धेरै खुसी यसबाट मिलेको छ ।

अन्त्यमा गनगन, मनमन गीत माया गर्ने स्रोता, दर्शकलाई के भन्नु हुन्छ ?
एकदमै खुसी छु म । यहाँहरुको माया, साथ, सपोर्टबिना, संगम थापा को हो ?, प्रतिमा अर्याल को हो ? भन्ने थाह हुन्थेन । यहाँहरुले नहेरीदिनुभएको भए । दर्शक भगवानहरुलाई मुरीमुरी धन्यवाद ! आगामी दिनहरुमा पनि यसैगरी माया गरिदिनु होला । यसैगरी साथ, सपोर्ट दिनु होला भन्न चाहन्छु ।

मान्छे न हुँ गल्ती, कमजोरी हुन्छ । गल्ती कमजोरी छ भने यहाँनिर सच्याउनु होला । यहाँनिरी बिग्रिएको छ भनेर हामीलाई औंला उठाइिदनु होला । त्यसैमार्फत हामी अगाडि बढ्नेछौं ।

भिडियो अन्तर्वार्ताका लागि यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्