नुवाकोटको घ्याङफेदीमा सांसद हितबहादुर तामाङले जे देखे



घ्याङफेदीमा ठूलो दुर्घटनाको सम्भावना

नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा न. १ साबिक घ्याङफेदी गाबिस वडा-३ नेगीखोलामा ठूलो दुर्घटनाको सम्भावना देखिएको छ । नेगीखोलादेखि उत्तर करिब १ किलोमिटर माथि अग्लो टापुमा रहेको पाल्छाङ ऊ (ओडार) नाम गरेको १० औं लाख टन बराबरको ढुंगा सिलापत्रमाथि अडिएको छ । यसअघि उक्त ढुंगाको ओडारमा स्थानीय किसानहरुले गाई गोरु र बाख्रा बाध्ने एवम् घाँस दाउराहरु राख्ने गरेका थिए । अहिले उक्त ओडार खुम्चिएर किसानले राखेको दाउरा च्यापिएको अवस्थामा छ र ओडार भित्रपट्टिका ढुंगाहरु चर्किएको एवम् उत्तरतर्फको भित्ता र ढुंगा करिब २/३ फिटको दुरीमा छुटिइसकेको छ ।

ठूलो वर्षा हुने र भूकम्प आयो भने कुनै पनि बेला ढुंगा पल्टिन सक्ने र उक्त दुर्घटनाले ठूलो क्षति हुन सक्ने सम्भावना देखिएको छ । उक्त ढुंगा पल्टेको स्थितिमा नेगीखोलास्थित एक आधारभूत विद्यालय र २८ घर परिवार र ढुंगाभन्दा माथिल्लो गाउँ बोतगाङको बस्तीलाई तत्कालै प्रत्यक्ष असर पर्नेछ । ढुंगा ज्यादै ठूलो भएकोले यदि उक्त ढुंगा पल्टेको अवस्थामा सयौं मिटर वरपर कम्पन हुने र त्यतिबेला चारैतिर पहिरो जाने, डाँडापाखाहरु बग्ने एवम् घन्टौंघन्टा खोला थुनिने तथा त्यसपछिको क्षति के कति हुन्छ भन्ने अहिले नै अनुमान गर्न सकिने अवस्था छैन ।

उक्त स्थानको गत हप्ता जिल्ला समन्वय समितिका प्रमुख , प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सुरक्षा अंगका प्रमुखहरु, गाउँपालिकाका अध्यक्ष लगायतका जनप्रतिनिधिहरुले अवलोकन गरेर स्थितिको सार्वजनिक गर्नुभएको थियो । त्यसलगत्तै प्रमुख जिल्ला अघिकारी श्री झंकनाथ ढकालले जिल्ला विपत व्यवस्थापन समितिको तर्फबाट उक्त जोखिमको बारेमा लिखित जानकारी गृह मन्त्रालयलाई दिनुभएको थियो । त्यसपछि म संग प्रदेश सभाका माननीय राधिका तामाङ, जिल्ला समन्वय समिति प्रमुख सन्तमान तामाङ र प्रमुख जिल्ला अधिकारीको फोनमार्फत नै अलग अलग छलफल भयो र फेरि एकपटक सम्बन्धित क्षेत्रका सबै तहका जनप्रतिनिधिहरुले अवलोकन गर्नुपर्छ भन्ने निधो भयो । तर माननीय राधिका तामाङ अस्वस्थ रहनुभएको कारणले उहाँ छिटै उपस्थित हुन सक्ने अवस्था देखिएन।

त्यसैले हिजो भाद्र १४ गतेको दिन गृह मन्त्रलायबाट उपलब्ध गराइएको केही सेट र जिल्ला प्रशासन कार्यालयमा रहेको गरी ३५ सेट टेन्ट (पाल) र केही थान शौचालयको लागि प्रयोग हुने त्रिपाल लिई सम्बन्धित गाउँमा गइयो र उक्त सामाग्रीहरु जिल्ला समन्वय समिति, गाउँपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका कर्मचारी र स्थानीय राजनीतिक दलका नेता तथा समाजसेवीहरुको रोहवरमा वितरण गरियो ।

सोही क्रममा जोखिममा परेका २८ घरपरिवारहरुलाई बसोबासका लागि गाउँपालिकाले सुरक्षित बस्तीको खोजी र पहिचान गरी ३ दिनभित्र स्थानान्तरण गरिसक्ने, त्यस क्रममा आइपर्ने आर्थिक व्यवस्थापन गाउँपालिकाले गर्ने, जोखिममा परेका परिवारलाई स्थायी व्यवस्थापन र अरु सम्भावित जोखिमबाट बचाउ र न्युनिकरणका लागि हामी संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु जिल्ला जिल्ला प्रशासन कार्यालय र अन्य सम्बन्धित निकायहरुसँग सल्लाह र समन्वय गरी अघि बढ्ने सहमति भएको छ ।

सामाजिक सञ्जालबाट

https://www.facebook.com/hitbahadur.tamang.7?__tn__=%2CdC-R-R&eid=ARDKfIn7qLhN6uNpFBXh4BgNf9P32if6FvXva7_jKXHZWmuzTBRN6WadGHJtGtoIMs37vsD7DmNdS-HV&hc_ref=ARSqSmflg9kwvqtunv8Qn1kvGGnLfDr4PZrTpgFETRsHMYvwqEDEk7keoXSAlkWG8uU&fref=nf

घ्याङफेदीमा जोखिमयुक्त ढुंगा व्यवस्थापन गर्न बस्ती सार्ने प्रक्रिया थालियो, ३५ घरपरिवारलाई टेन्ट वितरण

प्रतिक्रिया दिनुहोस्