नुवाकोटका जनताको जिउधन सुरक्षाका निम्ति अहोरात्र खटिएका छौं : सीडीओ [अन्तर्वार्ता]



झंकनाथ ढकाल
प्रमुख जिल्ला अधिकारी, नुवाकोट

नुवाकोटका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हुन् झंकनाथ ढकाल । यसअघि लमजुङ लगायत जिल्लामा सीडीओ, विभिन्न मन्त्रालय र विभागमा नेतृत्वमा रहेर कुशल कार्यक्षमता प्रदर्शन गरेका ढकाल असार २५ गते बहाल भएका हुन् । उनी कोरोना भाइरसले नेपाललाई समेत प्रभावित पारिरहेको बेला नुवाकोट सरुवा भए । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि प्राथमिकतामा राखेर खटिनै रहेका बेला पछिल्लो समय जिल्लाको दुप्चेश्‍वर गाउँपालिका १ का नेगी बस्ती र सिसिपुका विस्थापित नागरिकका पीडामा मलम लगाउने कामले सीडीओ ढकालको ध्यान खिचेको छ । विपद् व्यवस्थापनमा समेत राम्रो अनुभव बटुलेका सीडीओ ढकालसँग पहिरोबाट विस्थापित नागरिकको व्यवस्थापन र नुवाकोटवासीलाई कोरोना संक्रमणको उच्च जोखिमबाट बचाउन भइरहेका गतिविधि सम्बन्धमा साझा पथले गरेको कुराकानी ।

विश्वव्यापी महामारीको रुपमा कोरोना भाइरसले प्रताडित बनाइरहेको बेला नुवाकोटका दुप्चेश्वर गाउँपालिकाका घ्याङफेदी, सिसिपु लगायत स्थानमा पहिरोको डरले डेढ सय घरधुरीका विस्थापित नागरिक अप्ठेरोमा बाँचिरहेका छन्, यहाँहरुले के कस्तो व्यवस्थापन गर्दै हुनुहुन्छ ?

बाढीपहिरो लगायतका कारण घ्याङफेदी क्षेत्र उच्च जोखिममा रहेको हामी सबैलाई विदितै छ । दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ नेगीको बस्ती माथि ठूलो ढुंगा रहेकोले त्यो ढुंगा जुनसुकै बेला तल आउँदा बस्तीमा पर्ने र ठूलो धनजनको क्षति हुने देखिएको भन्दै २०७२ सालमै सार्नुपर्छ भनेर भूगर्वविद्को प्रतिवेदनमै लेखेको भए पनि अहिलेसम्म नसारिएको अवस्था रहेछ । र, हामीले जानकारी हुनेबित्तिकै समग्र सुरक्षा टिम, जनप्रतिनिधिसमेत त्यहाँ पुग्यौं । नेपाल सरकारको गृह मन्त्रालयसँग समन्वय गरेर नेगीका २९ परिवारलाई टेन्टहरु व्यवस्था गरेर नजिकका सुरक्षित स्थानमा राखिसकेका छौं ।

पछिल्लो समय सिसिपुमा पनि २८ घर उच्च जोखिममा रहेको २०७२ सालको भूकम्पपछि भूगर्वविद्हरुले प्रतिवेदन दिएको रहेछ । त्यहाँका १६ घरलाई रामतीमा ल्याएर राख्ने भनिए पनि एकीकृत बस्ती पूरा नभइसकेकोले पूरानै ठाउँमा बस्न बाध्य थिए । ५/६ दिनयतादेखि पानी परेर पहिरो झर्न थालेपछि १ सय १४ भन्दा बढी घरहरु उच्च जोखिममा परेपछि हामीले गृहमन्त्रालयसँग अहोरात्र पहल गरेर १ सय १४ थान टेन्टको गाडी आज (बिहीबार) हिँड्दैछ । ती टेन्टहरु नजिकका सुरक्षित स्थानमा राखेर जनतालाई राख्न हाम्रो तर्फबाट पूरै पहल भइराखेको छ । उहाँहरुलाई खाद्यान्न लगायतका सामग्री पनि तयारी भइसकेको छ । हामी छिटोभन्दा छिटो प्रभावित समुदायलाई वर्षात्‌को समयमा सुरक्षित स्थानमा राख्ने र उहाँहरुको घरहरु निर्माण गरेर अगाडि बढ्ने तयारी गरिरहेका छौं । तयारी लगभग अन्तिम चरणमा पुगेको छ । त्यहाँ बस्न हुन्छ कि हुँदैन भन्ने विषयमा खानी तथा भूगर्व विभागबाट टोली खटाइदिनका लागि नेपाल सरकार गृहमन्त्रालयलाई हामीले अपिल गरिसकेका छौं । केही दिनमा भूगर्वविद्हरुको टोली पुनः यहाँ आएर हेर्ने अवस्था बनिसकेको छ ।

सिसिपुबाट विस्थापित स्थानीयहरु तीनदिनदेखि ओडारमा दालमोठ र चिउराको भरमा जीवन गुजारा गरिरहेका छन् । स्थानीय सरकारले वा जिल्लाको नेतृत्वको हैसियतले यहाँहरुले समयमा व्यवस्थापन गर्न नसक्नु भएको हो ?

२०७२ सालदेखि आजसम्म कसैले पनि ती बस्तीलाई सार्नुपर्छ भन्दा नसार्ने, यो किन भयो ? तर अहिले थाह पाएको ३ दिनमै त्यहाँ पुग्ने अवस्था बनाइएको छ ।

तर पहिले जोखिम भनिए पनि पहिरो झरेको थिएन, अहिले पहाड बग्न थालिसक्यो नि ?

दुई घर भत्किएका छन् । दुइटा गाई र एउटा बाछोमा क्षति पुगेको छ । हामीले भोलिका दिनमा भूकम्प, बाढीपहिरो कुनै पनि विपद्‌बाट उहाँहरुलाई सुरक्षित राख्नका लागि ५६ किलोको टेन्ट काठमाडौंबाट हिँडाउने व्यवस्था गरिसक्यौं । अस्ति त्यहाँ फोटो खिज्ने अवस्थासमेत थिएन कुहिरो लागेर । २०७२ सालदेखि आजसम्म नभएका कामहरु अहिले हुँदैछ भनेर बुझ्नु पर्‍यो नि ! त्यसकारण पालिका प्रमुखहरु त्यहीं जानु भएको छ । प्रहरी निरीक्षकको संयुक्त टोली हामीले पठाइसकेका छौं । उहाँहरुलाई गर्नुपर्ने कामका लागि हामीले सबै सुरक्षा निकायहरु स्ट्यान्टवाई राखेका छौं ।

अहिलेसम्म जनधनको क्षति भएको अवस्था होइन त्यहाँ । एकाधबाहेक गाउँमा घर क्षति भएको जानकारी आको छैन । त्यहाँ धान हुँदैन । त्यसैले चामललगायत अस्थायी रुपमा खाने, बस्ने व्यवस्था गर्नुपर्छ भनेर हामीले तयारी गरिसकेका छौं । तत्कालको राहत भनेको खाद्य र गैरखाद्य सामग्री । तत्काल बासको व्यवस्था र खाद्यान्नको व्यवस्था । कसैका खाद्यान्न पुरिएको अवस्था होइन । त्यो बस्ती जोखिममा परेउ, त्यहाँभन्दा सुरक्षित ठाउँमा सार्नुपर्छ भनेर हामी ट्वान्टी फोर आवर खटिरहेका छौं, समग्र सुरक्षा टिमसहित । त्यहाँका जनप्रतिनिधिहरु, मान्यहरु सबै खटिरहनुभएको छ ।

नेगीको पनि हामीले थाह भएको १२ दिनमा सार्‍यौं । ०७२ सालमा सार्ने भनिएको बस्ती हो नि ! त्यसकारण अहिले काम भइरहेको छ, अहिले उद्धार टोली पठाउनु पर्ने विषय छैन । खोज, उद्धार, उपचार गर्ने अवस्था छैन । उहाँहरुलाई सुरक्षित ठाउँमा राखेर व्यवस्थापन गरिदिने हो । म आफैं विपदमा काम गरेको मान्छे । विपद्‌मा के गर्नुपर्छ भन्ने कुरामा जिल्ला व्यवस्थापन समितिको टिम जानकार छ ।

सिसिपुका विस्थापितलाई कुन कुन ठाउँमा व्यवस्थापन गर्दै हुनुहुन्छ यहाँहरुले ?

हामी अध्ययनमै छौं । नजिकका सुरक्षित र उपयुक्त ठाउँमा पालिकाका प्रमुखज्यू र अरु जनप्रतिनिधिहरुले पनि हेर्नुभएको छ । स्थानीयलाई कुन ठाउँ बलियो छ भन्ने कुरा थाह पनि छ । भूगर्वविद्हरु पनि आउँदै हुनुहुन्छ । तत्कालका लागि सुरक्षित ठाउँमा राख्छौं र भोलि उपयुक्त ठाउँमा सेटलमेनका लागि गृह मन्त्रालयले रेकर्ड पठाइदिनु भन्ने कुरा आइसकेको छ । हामीले रेकर्ड पठाइ पनि सकेका छौं । हाम्रो सुरक्षा टिम, यहाँको विपद व्यवस्थापन समिति जनताको जिउधनको सुरक्षा गर्नका निम्ति अहोरात्र खटिएको छ ।

विस्थापितहरु कोरोनाका कारण लकडाउनको पीडामा समेत छन् । उनीहरुका लागि राज्य नगद सहयोग पनि गर्छ ?

हामीले तत्कालका लागि खाने बस्ने व्यवस्था गर्नुपर्‍यो भने प्रकोप पीडित तथा उद्धार राहतसम्बन्धी व्यवस्थाअनुसार त्यहाँको एउटा संस्थासँग कुरा भइसकेको छ । तत्काल चामल, दाल, साबुन, तेल लगायत खाद्यान्न उपलब्ध गराउने भन्ने करिब फाइनल भइसकेको छ । नेगी र सिसिपुका १ सय ६० घर परिवारलाई राहत व्यवस्था हुँदैछ । त्यस्तै परिवार संख्या ५ जना हुनुहुन्छ भने १५ हजार र ६ जना हुनुहुन्छ भने २० हजार दिने प्रकोपपीडित मापदण्ड छ, त्यो मापदण्डअनुसार दिन्छौं । सरकारले बर्खाका कारण विस्थापित भएका घर परिवार छन् भने भूकम्पपीडितलाई जस्तै घर बनाइदिने निर्णय गरिसकेकोले विवरण पठाउ भनिसकेको छ । त्यो विवरण हामीले पठाइसकेपछि सरकारले सुरक्षित स्थानमा घरहरु सार्ने कामहरु हुन्छ ।

नेगीका सारिइसकेका बस्तीलाई बर्खायाम सकिएपछि पुनः त्यहीं फर्काउन मिल्ने अवस्था छ वा छैन ?

ढुंगाको आकार धेरै ठूलो छ । त्यसले खसिहालेमा कहाँकहाँ असर गर्छ भनेर प्राविधिक टोलीले हेर्नुपर्छ । त्यहाँ ठूलो बम प्रयोग नगरेसम्म त्यो ढुंगा फुट्न सक्ने अवस्था देखिँदैन । त्यो फुटाउँदा कतिसम्म सुरक्षित गराउन सकिन्छ । कति समय लाग्छ भन्ने कुरामा हामी कोही पनि जानकार छैनौं । त्यसकारण प्राविधिक टोलीले हेर्नुपर्ने हुन्छ । हाम्रो विपद व्यवस्थापन समितिले ढुंगा फुटाउने, नफुटाउने भन्ने डिसिजन गरिसकेको छैन । भोलि ढुंगा फुटाउँदा तल बस्तीमा कुनै पनि असर गर्दैन भन्ने भयो भने त्यो ढुंगा पड्काउन सम्भव छ । नत्रमाथि ढुंगा भइरहे तल बस्न त सम्भव छैन ।

त्यसकारण सार्ने कुराहरुलाई प्राथमिकतामा राखेका हौं । ०७२ सालदेखि उहाँहरु त्यहीं बस्नुभयो । त्यो ढुंगो दुई मिटरजति सरिसकेको छ । ढुंगामुनी राखिएको दाउरा निकाल्न सक्ने अवस्था छैन । त्यसैले त्यो ढुंगा सरेको छ । विस्तारै लच्कँदै गइराखेको छ । त्यसकारण जनतालाई सुरक्षित ठाउँमा राख्ने कुरा महत्वपूर्ण हो । त्यसका लागि जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार हामी सबै एकीकृत र समन्वयात्मक रुपमा काम गर्दैछौं । विपद् न्यूनिकरण भनेको सबैको साझा काम हो । जोखिम छ है भनेपछि त्यो कम गर्न सबैले काम गर्नुपर्छ । जनताको जीउधनको सुरक्षा गर्ने सरकारको प्राथमिक जिम्मेवारी हो । हामी त्यो कुराहरुका लागि तयार छौं ।

सिसिपुको बस्ती सार्न कति समय लाग्ला ५ दिन, हप्ता दिन वा १० दिन ?

सार्ने ठाउँ अलि माथि परे टाइम लाग्छ । नत्र टेन्ट आइसकेपछि हामी जान्छौं । त्यहाँ गाडी जाँदैन । सामान बोकेर लैजानुपर्छ । एकदमै छिटोभन्दा छिटो सामाग्री उपलब्ध गराउने कुरामा लागिरहेका छौं ।

अर्को प्रसंग,नुवाकोटका केही स्थानमा प्राकृतिक विपत्ति आइपरेको बेला नागरिकले विश्वव्यापी कोभिड १९ बाट समेत प्रताडित हुनु परिरहेको अवस्था छ । जिल्ला प्रशासन कार्यालयले फेरि बुधबार निषेधाज्ञाको समय बढाएको छ, कोरोना समुदायस्तरमै फैलिएको अवस्था हो ?

जिल्ला भदौ १६ गतेदेखि नै निषेधाज्ञा खुला गरिसकेका छौं । सार्वजनिक यातायातका विषयमा असोज १ गतेदेखि खोल्ने गरी व्यवसायीहरुले तयारी गरिरहनुभएको छ । निषेधाज्ञाभन्दा पनि जिल्ला प्रवेश गर्ने राजमार्ग आसपासका नाकाहरुमा रोक लगाएका हौं । शिवपुरीको गुर्जे, शिवपुरका निश्चित वडाहरु, ककनीका एउटा, दुइटा वडाहरु, बेलकोटगढीका एउटा, दुइटा वडाहरु मात्रै निषेधाज्ञा लगाइएको हो । विकास निर्माणका कामहरु भइनै राखेका छन् । काठमाडौंमा संक्रमण बढी छ । त्यहाँबाट संक्रमण फैलिन सक्छ भनेर आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्ने लगायतका कुरा कार्यान्वयन गर्नका लागि सीमा क्षेत्रमा मात्रै हो निषेधाज्ञा । अन्य क्षेत्रमा लगाइएको होइन ।

नाकामा निषेधाज्ञा छ भन्नु हुन्छ, सोझालाई घन्टौं रोक्ने वा जानै नदिने र वडाध्यक्षको समेत पहुँचका आधारमा प्रवेश गराउने प्रवृत्ति प्रहरी चेकपोस्ट लगायतमा देखिएको गुनासो छ, त्यस्तो हो ?

यो स्वयं अनुशासनको विषय हो । यो विषय प्रहरी वा प्रमुख जिल्ला अधिकारको विषयमात्रै होइन । खासमा वडालाई जिम्मेवार बनाएको अहिले । वडाध्यक्षलाई जतिको प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई समुदायमा को आयो, को गयो भन्ने थाह हुँदैन । हामीले वडामा संयन्त्र बनाएका छौं, वडाध्यक्ष, वडाका स्वास्थ्यकर्मी, त्यहाँको महिला स्वास्थ्य स्वयम्सेविका, त्यहाँको प्रहरी लगायत संलग्न हुनुहुन्छ । उदाहरणका लागि शिवपुरीको तलाखुमा को आएर बसेका छन् भन्ने कुरा मलाई थाह हुँदैन । वडालाई त थाह हुन्छ । किनकि भोलिका दिनमा कन्ट्याक्ट ट्रेसिङ गर्न सजिलो हुन्छ । पहुँचका आधार प्रवेश भयो भन्ने सत्य होइन । मैले अहिलेसम्म फलानो मान्छे छोड्नु पर्‍यो भनेर भनेको छैन । मलाई सयौं फोन आउँछ तर म भन्दिनँ ।

त्यसकारण कानुन पालनामा हामी कडा छौं । हामी रोबोर्ट पनि होइनौं । मानवीय कुराहरु हेरेर प्रहरीले काम गरिरहेका छन् । नुवाकोटको सन्दर्भमा निषेधाज्ञा प्रभावकारी भएको छ । सय प्रतिशत भनेको कहीं पनि हुँदैन । तर व्यवहारिक कुराहरु पनि हेरेका छौं । लकडाउनका कारण हातमुख जोर्न समस्या परेकाहरुलाई हामीले राहत दिने निर्णय गरेका छौं । स्थानीयस्तरमा व्यवहारिक कुराहरु गरेर कोभिडका तीनवटै रोकथाम, नियन्त्रण र उपचार जस्ता तीनवटै पिल्लरहरुलाई सँगसँगै अगाडि बढाएका छौं । हाम्रो रणनीतिहरु सही साबित भएको छ । र, यो जिल्लामा बेलामा हामीले निषेधाज्ञा लगायौं, खोल्नु पर्ने कुराहरु पनि रोकेनौं । त्यसकारण कन्ट्रोलिङ खालको निषेधाज्ञा सही साबित भएको छ । अहिले बिहीबार अपराह्नसम्म १०७ जना संक्रमित व्यक्तिहरु हुनुहुन्छ । त्यसमध्येमा पनि आधाजसो काठमाडौंमा हुनुहुन्छ । नुवाकोट ठेगाना राखिएकोले धेरै जस्तो देखिएको हो ।

मुख्य कुरा समुदायमा स्वयंसेवा परिचालन गर्ने कार्यविधिअन्तर्गत कोरोना नियन्त्रण ग्रुप हामीले बनायौं । त्यो ग्रुपले सक्रिय रुपमा काम गरियो भने बाहिरबाट आउने व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्नु भयो भने हाम्रा जिल्लाका जनसमुदायलाई विश्वव्यापी रुपमा फैलिएको कोरोनाबाट सुरक्षित रुपमा राख्न सक्छौं । यसका लागि सबैले जो जहाँ छौं त्यही बस्ने । अनाश्वयक रुपमा बाहिर ननिस्कने । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने । यो मेरो लागि हो । अरु व्यक्ति कोरोना संक्रमित हुनुहुन्छ भनेर सोच्न सकियो भने जिल्लालाई सुरक्षित राख्न सकिन्छ । हैन नक्कली कागज देखाएर यसरी आएँ, त्यसरी आएँ भनियो भने आफैंलाई ठगिरहेका छौं भन्ने सोचौं ।

अन्त्यमा, तपाईंले विभिन्न जिल्ला, मन्त्रालय, विभागमा नेतृत्व सम्हाल्दै आउनुभएको छ, नुवाकोटमा काम गर्न कत्तिको सजिलो महसुस गरिरहनुभएको छ ?

जनताको जिउधनको सुरक्षा गर्ने राज्यको प्रमुख प्राथमिकता हो । म संघीय सरकारको नुवाकोट जिल्ला प्रतिनिधिको हिसाबमा पनि म के महसुस गरिराखेको छु भने, नुवाकोटमा काम गर्न अलि अप्ठेरो हुने कुरा बाहिर सुनिन्छ, त्यो ठ्याक्कै उल्टो पाएँ । अर्थात् सहयोगी जनसमुदायहरु, राज्यका निकायहरुप्रति गरिने सम्मान, जनताको विश्वासको लेभल असाध्यै राम्रो पाएको छु । केही घटनाका सवालमा ल है यसो बुझिदिनु पर्‍यो भन्नेबाहेक मैले दबाब महसुस गर्न पाएको छैन । म आएको दुई महिना भयो । सञ्चार, व्यवसाय, यहाँका राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधिहरु सबैबाट असाध्यै राम्रो समर्थन भएको छ ।

सबैको एकीकृत र समन्वयात्मक प्रयासमा नुवाकोट जिल्लालाई सेवाप्रवाहको हिसाबले, विकास निर्माणको हिसाबमा, विगतदेखिका विकृति, विसंगति अन्त्य गर्ने हिसाबमा हामीलाई अगाडि बढ्न सहज भएको छ । यहाँका स्थानीय सरकारी निकायहरुबीच असाध्यै राम्रो समन्वय छ । हरेक सरकारी कार्यालयबाट सेवा प्रवाह राम्रो बनाउनुपर्छ र नमुना सेवा प्रवाह हेर्नका लागि काठमाडौं नजिकको जिल्ला नुवाकोट जाऔं । सरकारी कार्यालयहरु नमुना हेर्नका लागि नुवाकोट जाऔं भनेर पहिलो दिन घोषणा गरेको थिएँ । त्यो अभियानमा सबै कुराहरु अगाडि बढिरहेको जानकारी गराउन चाहन्छु । यद्यपि अझै पनि विकास निर्माणका गुणस्तर हेर्ने विषय र सेवा प्रवाह अझै जनताको अपेक्षाअनुरुप गर्नेमा विषयमा लाग्नु जरुरी छ ।

आलोचनालाई सुझावको रुपमा लिएर साना साना विषयलाई सुधार गरेर सुखी नेपाली समृद्धि नेपालको राष्ट्रिय आकांक्षामा इँटा थप गर्ने कुराहरुमा हाम्रो प्रयास रहेको छ । हामी जनताको सेवामा २४ सैं घन्टा लागिरहनेछौं ।

प्रतिक्रिया दिनुहोस्