Shree Baundeshwor Secondary School

कसैलाई काखा र पाखा गरेर अघि बढ्ने सोच छैन : शिवपुरी अध्यक्ष थापा [अन्तर्वार्ता]



शिक्षण पेसा र राजनीतिलाई समानान्तर रुपमा अघि बढाएका सशक्त नेतृत्व हुन् रामकृष्ण थापा । उनी अहिले नुवाकोटको शिवपुरी गाउँपालिका अध्यक्ष र नेपाली कांग्रेस महासमिति सदस्यको जिम्मेवारी निर्वाह गरिरहेका छन् । विद्यार्थीकालबाटै नेविसंघबाट राजनीति सुरु गरेका अध्यक्ष थापा वि.सं २०३१ सालमा शिक्षण पेसामा लागेका थिए ।पञ्चायतविरुद्धको आन्दोलन र ०४६ सालको जनआन्दोलन शिक्षण पेसामा रहेर भोगेका अध्यक्ष थापाले ०५४ सालदेखि राजनीतिमा होलटाइमर भएर लागे । ४ वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा शिवपुरी गाउँपालिका अध्यक्षमा विजयी बनेका थापाले हालसम्म गरेका काम र आगामी योजनाबारे साझा पथका लागि भरत तामाङले गरेको कुराकानीको सम्पादित अंश ।

तपाईंको व्यक्तिगत पृष्ठभूमि बताइदिनुस् न ?

म हाइस्कुलस्तरमा शान्ति विद्यागृह लैनचौर काठमाडौंमा पढेको हुँ । त्यो बेला पनि विद्यार्थी संगठनको चर्चा थियो । त्यसैमा सरसंगत, बसउठका कारण विद्यार्थी संगठनमा आबद्ध थिएँ । पछि कलेज लाइफमा पनि नेविसंघतर्फ मेरो आकर्षण थियो । म पश्चिम १ नम्बर छात्र समितिको सचिवसम्म भएको थिएँ । यसमा धादिङ लगायतका जिल्ला पर्दथ्यो । नेविसंघमा आबद्धता सँगसँगै मैले युनिभर्सिटीसम्म पढेँ ।

२०३१ सालमा आएर म शिक्षण पेसामा लागेँ । नुवाकोटकै कुण्डला माविमा प्रधानाध्यापक भएँ । त्यतिखेर देशमा पञ्‍चायती व्यवस्था थियो । पञ्‍चायतविरुद्धको गतिविधि जनस्तरमा पुर्‍याउन पार्टीले देशैभरका शिक्षकहरुलाई जिम्मा दिएको थियो । त्यसै सन्दर्भमा पढाउने जिम्मेवारी त थियो तर पञ्‍चायतका गतिविधिहरु पनि चलायौं । पुस १ गते संविधान दिवस पनि मनाउनु पर्थ्यो । हामी हाइस्कुलका हेडमास्टरहरु कालो कोट, सेतो सुरुवाल लाएर आउनुपर्छ भन्ने हुन्थ्यो संविधान दिवसमा । त्यहाँ पनि जान्थ्यो । तर यता नेविसंघ र अखिलको उत्पादन पनि गर्थ्यौं ।

अहिलेको परिस्थिति फरक छ । प्राज्ञिक रुपमा काम गर्नुपर्ने हुन्छ । राजनीति गर्ने भनेको पार्टीले हो । त्यतिखेर पार्टीकै निर्देशनमा पठनपाठन गर्ने जिम्मेवारीका साथसाथमा आन्दोलनमा पनि जान्थ्यौं । मैले शिक्षक संगठनमा जिल्ला अध्यक्षदेखि केन्द्रीय सदस्य भएर पनि काम गरेँ । पञ्‍चायतइतरका गतिविधिलाई कसरी मजबुत बनाउने भन्ने काम गरेँ । जब २०५४ मा शिक्षण पेसाबाट राजीनामा दिएपछि म पार्टीमा होलटाइमरको रुपमा काम गर्न थालेँ । अहिले नेपाली कांग्रेस नुवाकोट जिल्ला सचिव, कांग्रेस महासमिति सदस्य छु । पार्टीकै निर्देशन र टिकट पाएपछि जनताबाट निर्वाचित भएर शिवपुरी गाउँपालिकाको अध्यक्ष बनेको चौथो वर्ष सुरुवात भइसकेको छ । यसरी राजनीति सोचविचार र भूमिका निर्वाह गर्दै आएको हुँ । यही क्षेत्रमा रहेर जनसेवालाई कसरी प्रभावकारी बनाउन सकिन्छ, पार्टीको छविलाई कसरी जनस्तरमा राम्रो बनाउन सकिन्छ भन्नेमा लागिरहेको छु ।

२०४६ सालको जनआन्दोलनमा यो देशमा शिक्षकहरु संगठित थिएनन् । प्राथमिक शिक्षक संघ, माध्यमिक संघ, राष्ट्रिय शिक्षक संगठन जस्तामा शिक्षकहरु विभाजित थिए । सम्पूर्ण क्षेत्र आन्दोलनमा होमिसकेको थियो तर टिचरहरु होमिएको थिएन । त्यतिखेर शिक्षकलाई सक्रिय बनाउन हाम्रो पार्टीले ८ जनाको टिम बनाइदिएको थियो संयुक्त संघर्ष समिति । त्यसमा राइटिस्को तर्फबाट ४ जना, लेफ्टिस्टको तर्फबाट ४ जना । त्यसमा म पनि एक हुँ । लेफ्टिस्टको तर्फबाट अहिलेका सभामुख अग्निप्रसाद सापकोटा पनि हुनुहुन्थ्यो । त्यसरी नेतृत्व विकास गरेर हामीले आन्दोलन मुभ गर्‍यौं । आन्दोलन राष्ट्रव्यापी रुपमा गइरहेको अवस्थामा भाग्यवस चैत २६ गते नै सत्ता परिवर्तन भयो । त्यसपछि हामीलाई शिक्षकहरुले यी हाम्रा जिउँदा सहिदहरु हुन् भनेर सम्मान गरेका छन् । त्यो घटना सबैका लागि, संगठन र मेरो व्यक्तिगत रुपमा अविष्मरणीय हो, राजनीतिक यात्रामा ।

पछिल्लो समयको केमा व्यस्त हुनुहुन्छ ?

विश्‍व र देशमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रण, यसबाट जनतालाई कसरी सुरक्षित र मुक्त राख्ने भन्ने विषय नै प्राथमिकतामा छ । शिवपुरी गाउँपालिकाको सबभन्दा प्रायोरिटीको विषय अहिलेको संवेदनशील अवस्थामा कसरी शिवपुरीवासी दाजुभाइ तथा दिदीबहिनीहरुलाई सुरक्षित राख्ने र संक्रमणबाट कसरी मुक्ति दिलाउने, यसबाट सिर्जित स्वास्थ्य समस्याहरुलाई कसरी सहज रुपमा समाधान गर्दै जाने भन्ने विषय नै हो । त्यसमा गाउँपालिकाको स्वास्थ्य शाखा लगायत सबैको ध्यान केन्द्रित छ । म पनि यसमैमा व्यस्त छु ।

यहाँ रोगको साथसाथै भोगको समस्या सिर्जना भइसकेकोले जीवनयापनलाई पनि सहज बनाउँदै जानु पर्ने परिस्थितिका कारण पछिल्लो कार्यपालिकाको बैठकले अब सबै आर्थिक र विकास निर्माणका गतिविधिलाई पनि कोरोनाको नियन्त्रण र रोकथामको साथसाथमा प्यारालल्ली लैजानु पर्छ । विद्यालय सञ्‍चालनदेखि विस्तारै सहजता सिर्जना गराएर लैजानुपर्छ भन्नेमा विषय केन्द्रित छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि शिवपुरी गाउँपालिकाले ठोस योजनाचाहिँ के के बनाएको छ ?

कोरोना रोकथामका लागि हामीसँग भएका क्‍वारेन्टाइनलाई विस्तार गर्ने, आइसोलेसन सेन्टर पनि निर्माण गर्न लागेका छौं । यहाँ पालिकामा समस्या आइहाल्यो भने त्रिशूली, काठमाडौं गइहाल्न नपरोस् भनेर पूर्वाधार तयार गर्ने । असोज पहिलो हप्ताको कार्यपालिका बैठकले त्यसको कार्यविधि पारित गरेको छ। सँगसँगै गुर्जे लगायत ठाउँ ठाउँमा हेल्थ डेक्सहरु पनि सञ्‍चालन गरिरहेका छौं । हामीसँग एम्बुलेन्स पनि छ । अहिले गाउँपालिकाको स्वास्थ्य शाखाका साथीहरु र त्यस अन्तर्गतका १० वटा इकाईहरु छन् । यी सबैलाई एलर्ट राखेर हामीले परिचालन गरेका छौं । उहाँहरु सबैलाई काम गर्न उत्साह होस् भनेर शाखा, इकाईहरुमा काम गर्ने स्वास्थ्यकर्मी र चालकलाई समेत २५ देखि ५० प्रतिशतसम्म गाउँपालिकाले इन्सेन्टिभ दिएर पनि जनतालाई आइपरेका समस्यामा सेवा दिन कुनै पनि कमी गर्न हुन्न भन्ने व्यवस्था गरेका छौं ।

स्वास्थ्य क्षेत्रमा के पर्छ, पर्छ भनेर गाउँपालिकाले यस वर्ष बजेट पनि राम्रै व्यवस्था गरेको छ । हामीले ६ चोटी पीसीआर टेस्ट गराइसक्यौं । अब स्कुल सञ्‍चालनको तयारीमा छौं । बाहिरबाट शिक्षक साथीहरु आइरहनु भएको छ । उहाँहरुलाई पनि आउनेबित्तिकै होम आइसोलेसनमा राखेर तुरुन्तै सबैको पीसीआर टेस्ट गराएर सबैलाई ढुक्कको वातावरण सिर्जना गराउने काम भइरहेको छ । आफैंले भिटिएम खरिद गरेर हामीसँग म्यानपावर, ल्याब टेक्निसियनहरु छन् । यही ढंगले कोरोना रोकथाम तथा नियन्त्रणका कामहरु गरिरहेका छौं ।

मूलकुरा प्रचारप्रसारलाई जोड दिइरहेका छौं किनभने कोरोनाको मूल औषधि भनेको व्यक्ति व्यक्तिबीच नै सजगता हुनु आवश्यक रहेछ । यसै विषयमा हामीले स्वास्थ्यका कर्मचारीहरु, स्वास्थ्य शाखा, महिला स्वयम्‌सेविका, समग्र जनप्रतिनिधिहरु सबै यसमा हेलचेक्रयाइँ नगरौं है भन्दै सजग गराउँदै सबैलाई आवश्यक परेका सामग्रीहरु सेनिटाइजर, हात धुने साबुन पानीका कुराहरु, मास्कहरु पनि व्यवस्थित गरिरहेको अवस्था छ । केही हप्ता अगाडि शिवपुरीमा एकैचोटी ७ जनामा कोरोना पोजिटिभ देखियो, जसले हामीलाई अत्याएको थियो । त्यसपछि हामीले कन्ट्याक्ट ट्रेसिङ गर्‍यौं ६/७ सय जनाको । सबैको नेगेटिभ रिपोर्ट आइसकेको छ । त्यसबाट हामी अहिले सबै रिलिफ भएका छौं । अब सजग र सजगता अपनाएर अगाडि बढ्यौं भने शिवपुरीले कोरोनाबाट केही रिलिफ पाउने र यसको मुक्तिका साथ साथमा आफ्ना गतिविधिहरुलाई अन्य क्षेत्रमा अगाडि बढाउन अवसर मिल्ने अवस्था सिर्जना भइरहेको छ ।

तपाईंलाई जनताले शिवपुरीको अध्यक्षमा जिताइसकेपछि जनभावनाअनुसार कत्तिको काम गरेँ जस्तो लाग्छ ?

लामो समयको ग्यापपछि स्थानीय नेतृत्वको चयन भएको हो । त्यसैले जनताहरु आफ्ना समस्या राख्ने, जनताले कोही व्यक्ति नभइरहेको, नपाइरहेको अवस्थामा जब स्थानीय नेतृत्वको गठन भो । जनताका अनगिन्ति समस्या रहेछन् । त्यसमा नेतृत्वसँग सिधै पहुँच हुने भएकोले धेरै आवश्यकता हुने भयो । तर हामीसँगको सीमित स्रोत साधन, कर्मचारीको सीमितता, अनुभवका सुरुवाती, नीति नियमहरु अभावका बीचका कारण पनि हामीले जनताका खानेपानी, सिँचाईजस्ता धेरै कुरा त गर्‌‍यौं । तर पनि अलि देखिने किसिमका र जनतालाई सेवा सुविधा सर्वसुलभ तरिकाले पुर्‍याउनु पर्छ र केही कामहरु स्थायी रुपमा रहनुपर्छ भन्ने विषयमा वार्षिक र पञ्‍चवर्षीय योजनाहरु बनाएका छौं ।

शिवपुरीका सामुदायिक विद्यालयमै कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ, बोर्डिङको आवश्यकतालाई कसरी पूरा गर्न सकिन्छ भन्ने हिसाबले अहिलेको ग्लोबलाइजेसनको युगमा हाम्रा बालबालिकालाई विश्वस्तरमा प्रतिस्पर्धा गराउन सक्ने बनाउनु पर्छ । यसका लागि के उपाय हुन सक्छ भनेर मेरो कार्यकालमा शिक्षाका ती कार्यक्रमहरु सञ्‍चालन गरेँ । विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु बोलाएँ, हेडसरहरु बोलाएँ । अरु विज्ञहरु बोलाएँ । अरु रोलमोडल टिचरहरु बोलाएँ । र, विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ लैजाउँ भन्ने भयो । तर पनि यहाँ नीति नियमहरुका कुरा पनि छ । संविधानले स्थानीय सरकारलाई शिक्षासँग सम्बन्धित जुन अधिकारहरु भनेको छ, त्यसमा केन्द्रले अंकुश लाइरहेको अवस्थामा पनि शिक्षामा केही इम्प्रुभ भयो । यही बीचबाट पनि केही परिवर्तनका संकेतहरु देखिए । तर अहिले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाका कारण शिक्षा क्षेत्रमा ठूलो क्षति पुर्‍यायो ।

त्यस्तै हाम्रो गाउँपालिकाको केन्द्र शेराको बगर । साँच्चैको बगर । भाडामा बस्ने घरहरु समेत नभएको । सिंहदरबार गाउँमा आयो भनिन्छ । तर सेवा दिने ठाउँको अभाव नहोस् भनेर गाउँपालिका भवन निर्माण र वडा कार्यालयहरुलाई पनि प्रायोरिटीमा राख्यौं । हामी नयाँ भवनमा सरेको ५/६ महिना भइसक्यो । ४, साढे ४ करोड रुपैयाँ पर्ने जग्गा नि:शुल्क प्राप्त गरेर २८ कोठे भवन बनेको छ । देशभर स्थानीय तहले यस्तो भवन बनाएको रियर होला । नुवाकोटमा त पहिलो हो । सबै सेवा एउटै छातामुनी दिन सकिरहेका छौं । हाम्रा ४ वडा भवनहरु समेत बनिसकेका छन् । अरु पनि पाइपलाइनमा छन् । यो वर्षभित्र सबै ८ वटा कम्प्लिट हुन्छ । नसके ७ वटाको भवन बनिसक्छ ।

अर्को महत्वकांक्षी योजना शिवपुरीको समृद्धि भनेको कृषि र पर्यटन नै हो । यहाँ प्राकृतिक सिँचाइ भएकोले व्यावसायिक रुपमा कृषि र पशुपालनलाई बढाउनु पर्छ । यसलाई प्रभाव पार्ने मार्केटिङ हो, बजार पनि हो । मध्य पहाडी मार्गले ८ वटै वडालाई छोएको छ । जसले बजारका लागि सजिलो बनाएको छ । अझ ८ वटै वडालाई ढाड/ढाडबाट छुने गरी कृषि रिङरोड भनेर अवधारणा अगाडि बढायौं । अहिले आठवटै वडामा ९० प्रतिशत जति ट्रयाक खोल्ने काम भइसकेको छ । यसपालिबाट बाँकी ट्रयाक खोल्ने र अरु भागमा स्तरोन्नति गर्ने । समपुरक बजेटअन्तर्गत संघले १ करोड र गाउँपालिकाले १ करोड छुट्याएका छौं ।

अर्को देखिने किसिमका वडा गौरवका योजना हुनुपर्‍यो भनेर वडा सदरमुकामदेखि गाउँपालिकासम्म आउनका लागि स्थायित्व हुने किसिमका बाटोहरुका काम भइरहेको छ । र यहाँ उत्पादित खुरपानीदेखि लिएर विभिन्न किसिमका फलफूलहरु र तरकारीका लागि आफै कोल्डस्टोर निर्माण गरिरहेका छौं । सम्भवत: यसपालिको मंसिर पुसमा भवन कम्प्लिट हुन्छ । अरु मेसिनहरु यो वर्षभरी सकुँला । कोल्डस्टोरले शिवपुरीको समृद्धिका लागि यहाँका उत्पादित वस्तुहरुलाई, तरकारीहरुलाई छिटो बजार पुर्‍याउन नसकिए केही दिन स्टोर गरेर ठीक समयमा बजार पुर्‍याउन मिल्नै छ । अरु योजना पनि थुप्रै अगाडि बढिरहेका छन् ।

शिवपुरीमा प्राइभेट हस्पिटल, कोही डाक्टर पनि छैनन् । अब एमबीबीएसका डक्टरसहित एक्स रे, भिडियो ल्याबको स्वास्थ्य इकाइ राख्ने भनेर एउटा भवन निर्माण गरेका छौं । कोरोनाकै टार्गेट गरेर आइसोलेसन सेन्टर बनाउँदै छौं जहाँ एमबीबीएस डाक्टर नै चाहिने रहेछ । त्यो पनि वान्टेड गरिराखेका छौं ।

पर्यटनको लागि महत्वपूर्ण सुइरे चउर । काठमाडौंबाट ज्यादै नजिकको सुईचउर साढे १३ किलोमिटर दूरी पार गरेपछि आइपुगिन्छ । चिसापानी त्यत्तिकै नजिक रहेको । काम त केही भइरहेको छ तर जुन स्पीडमा हुनु पर्ने त्यो हुन सकेको छैन । त्यस क्षेत्रमा बाटो विस्तारको कुरो, अरु पूर्वाधार बनाउने काम अघि बढेको छ । चिसापानीमा त मास्टर प्लान डीपीआर नै बनाएर भ्यू टावरसहितको योजना अघि बढिरहेको छ । हामी जुन स्पीडमा जान खोजेका हौं त्यो चाहिँ शिवपुरी नागर्जुन राष्ट्रिय निकञ्जभित्र पर्ने, शिवपुर गाउँपालिकाका ७ वटा वडा निकुञ्जसँग जोडिएको छ । यसमा हामीले सहज रुपमा हाम्रा गतिविधि गर्न समस्या छ । खासमा भन्ने हो भने यहाँ द्वैध शासन छ ।

शिवपुरी निकुञ्जले विकास निर्माण, खानेपानीको काम गर्छ तर हामीसँग समन्वय गर्दैन । हाम्रो गाउँपालिकाभित्र भएका प्राकृतिक स्रोत साधनको सही संरक्षण, उपयोग गर्ने काम हाम्रो हो । तर राष्ट्रिय निकुञ्जले बफरजोन एरिया भनेर खोलासम्म आएर पनि डोजरको साँच्चो खोस्छ । यस्ता किसिमका परिस्थितिले हामीलाई अप्ठेरो भएको छ । हरेक फोरममा प्राय: प्रदेशस्तरमा होस् चाहे केन्द्रमा जहाँ पनि लिखित रुपमा यो द्वैधतालाई अन्त्य गर्नुपर्‍यो । यो शिवपुरीको मात्रै होइन देशैभरीको समस्या त्यस्ता फोरममा सुनिन्छ । सकेसम्म छिटो द्वैधता पनि नहुने र स्थानीय सरकारले आफ्ना क्षेत्रमा गर्नुपर्ने गतिविधिलाई सहज रुपमा गर्न पाउने वातावरण निर्माण गर्नुपर्‍यो भनिरहेका छौं । यसको समस्या समाधान भइरहेको छैन । तर पनि हामी आशावादी छौं ।

हामी पनि कतिपय कुराहरुमा समन्वय पनि अगाडि गइरहेका छौं । त्यसमा व्यक्तिमा पनि भरपर्दोरहेछ । कोही नेतृत्व हुँदा सहजता पनि गर्नुहुन्छ । अर्को नेतृत्व आइसकेपछि नो भनिदिने । नेपालका कानुन द्वैध अर्थ लाग्ने पनि छन् । व्यक्तिको सोचमा पनि इम्प्लिमेन्टेसनमा पनि भर पर्दोरहेछ । यसलाई पनि अगाडि बढाउँदै छौं ।

कोरोनाका कारण पर्यटन वर्ष २०२० सरकारले स्थगित गर्नु पर्‍यो । हामीले पनि शिवपुरीका वडा नं ६ र ७ दुईतर्फ र पञ्‍चकन्या गाउँपालिकाको ५ को संगम त्रिवेणीधामको रुपमा विकास गर्ने भनेर धार्मिक, सांस्कृतिक भावना भएका दाजुभाइ, दिदीबहिनीका लागि धामका रुपमा आकार लिइसकेको छ । यसले आफ्नो पहिचान पनि बनाइसकेको छ । गाउँपालिकाको तर्फबाट पनि यसलाई एउटा धामको रुपमा विकास गर्नुपर्छ । यो धार्मिकमात्रै नभएर पर्यटकीय स्थल पनि हुन सक्छ । काठमाडौंबाट धेरै नजिक छ । त्यस्तै महत्वपूर्ण ठाउँहरुमध्ये खड्कले दह भन्ने छ । जसको ऐतिहासिक पहिचान छ ।

पालिकामा गैरसरकारी संस्थासँग सहकार्य गरेर ‘एक घर, एक धारा’को अभियान सञ्‍चालन गर्‍यौं । साढे ४ करोड जति लागतको । कोरोनाका कारण ह्यान्डओभर हुन सकेको छैन । ८ वटा वडाहरुमै ठूला खानेपानीका व्यवस्थित योजनाहरु अगाडि बढाएका छौं । अरु बाटाघाटाहरु धेरै खुलेका छन् । जनताका अपेक्षाहरु छन् । सबैलाई घरघरमा मोटरबाटो जाने होस् । भूकम्पका कारण घर पुनर्निर्माण गर्नु पर्ने भएर घर घरमा सामान ढुवानीका लागि गाडी होस् भन्ने जस्ता अपेक्षाले ट्र्याक खुलेका छन् । तर यसको संरक्षण गर्न गाह्रो भइरहेको छ ।

शिवपुरीको समृद्धिका लागि शिक्षा, स्वास्थ्य लगायत सबैमा हाम्रो साधन स्रोत परिचालन गरेका छौं । मेरो साइडमा बन्द व्यापार केही नभएको र विशुद्ध किसिम होलटाइमरको रुपमा अध्यक्ष भइसकेपछि कर्मचारी साथीहरु आउनुभन्दा ५ मिनेट अगाडि र ५ मिनेट ढिलासम्म बसेर मेरो बर्गत, बुद्धि, अनुभव आदि इत्यादिले जे भ्याउँछ दत्तचित्तका साथ लागेर म अघि बढिरहेको छु । मलाई यसकै जिम्मा जनताले दिएको छ भन्ने लागेको छ । म त्यसैमा रमाउँदै आफ्नो कार्यकालमा केहीचाहिँ भयो है, केही भाथ्यो है भनेर छाप छोड्न सकिन्छ कि भनेर लागिरहेको छु । गर्दै जाँदा सबैले खोजेजस्तो, सोचेजस्तो अपेक्षा त पूरा भएको छैन होला तैपनि धेरै जनताको गुनासो हुन पर्दैन । मतलब, आशवादी नै भएर बसेका छन् ।

शिवपुरीको चालु आर्थिक वर्षको बजेट र सामुदायिक विद्यालयका लागि आकर्षणका के कार्यक्रम छन ?

हामीले बजेट पारित गरिसकेका छौं । चालु आर्थिक वर्ष ०७७/०७८ को बजेट ४९ करोड ४८ लाख ५३ हजार छ । वडा भवन लगायत धेरै पूर्वाधारहरु, बाटाघाटाहरु त छँदै छन् । प्राथमिकताको विषयमा कोरोना लगायत स्वास्थ्य क्षेत्रमा दिइएको छ । साथसाथै गत वर्षदेखि स्याउरे भूमि माविमा ३ वर्षे भेटेनरी प्राविधिक शिक्षा सञ्चालन गरिरहेका छौं । कृषिका लागि पनि प्रयास गरिरहेका छौं । यसअघि हामीले रेडियो शिक्षा र टोल टोल शिक्षा कार्यक्रम गर्‍यौं । भर्चुअल कक्षाको पनि प्रयास गर्‍यौं । तर यहाँको भूगोल, जनताको आर्थिक अवस्थाले त्यत्ति सम्भव भएन । त्यसकारण हामीले पछिल्लो चरणमा स्वास्थ्य प्रोटोकल प्रयोग गरेर विद्यालय सञ्‍चालन गर्ने निष्कर्षमा पुगेका छौं ।

चुनौती के छ भने विद्यालय सञ्‍चालनका लागि पूरा अधिकार केन्द्रीय सरकारले दिएको छैन । शिक्षा दरबन्दीको कुरा छ । कस्तो छ भने हिजो जो जस्को पहुँच छ तिनले दरबन्दी होल्ड गरिरहेको अवस्था छ । पहुँचवाला र सहरी क्षेत्रमा दरबन्दी पूरा छ तर हाम्रो ग्रामीण क्षेत्र भएकोले दरबन्दी मिलेको छैन । सरकारले दरबन्दी मिलान गरे पनि कागजी रुपमा मात्रै छ । तर पनि हामीले काजको व्यवस्था गरेर शिक्षणलाई अगाडि बढाएका छौं । यहाँ जनसहयोगका कारण १० वटा माध्यमिक विद्यालय छ । त्यसमध्ये ३ वटा स्थायी स्वीकृतिका हुन् । अरु जनसहयोगका हुन् । यिनलाई सञ्चालनका लागि वर्षेनी अनुदान बजेट छुट्टाउँदै आएका छौं । वरिष्ठ शिक्षक ताराप्रसाद पाठकको नेतृत्वमा शिवपुरी शिक्षा सुधार आयोग बनायौं । त्यसमा भूतपूर्व प्रशासक, सीडीओहरु हुनुहुन्थ्यो । शिक्षा सुधार आयोगको कार्यकाल पूरा गरेर हामीलाई प्रतिवेदन दिइसक्नु भएको छ । त्यस पनि भोलिका लागि शिवपुरीको शिक्षाका लागि मार्गदर्शन हुनेछ । जहाँ दरबन्दी छैनन् । त्यहाँ हामीले सपोर्ट नगरी चल्न सक्ने अवस्था छैनन् । त्यसमा हामीले ध्यान दिएका छौं । र शिक्षक नियुक्ति गर्ने विषयमा गाउँपालिकाले नै गर्न पाए प्रतिस्पर्धाका आधारमा ल्याउने विचार थियो । तर विधिविधानले स्कुल-स्कुलले नियुक्ति गर्ने भन्ने भएपछि असजिलो भएको छ । अब आउने शिक्षकहरु प्रविधिसँग खेल्न सक्ने, चल्न सक्ने, जानकार भएकाहरु छन् । टिचर भनेका जस्तो जान्दछ त्यस्तो पढाउँदछ । जस्तो पढाउँदा छ त्यस्तै जान्दछ । अघिल्लो पिढीकाहरु अलि प्रविधिसँग भिजेका छैनन् ।

यो देशमा विभिन्न सरकार बने । तर शिक्षामा दरो नीति ल्याएर गुणस्तरीय रुपमा सामुदायिक विद्यालयहरुलाई लैजाने रुपमा रणनीति लिन सकेन । तर पनि यही अवस्थाभित्रबाट हामीले पालिकाभित्रका विद्यालयलाई सपोर्ट गर्ने, टिचरहरुलाई ट्रेनिङमार्फत परिस्कृत गर्ने लगायत शिक्षामा ध्यान दिएका छौं ।

तपाईं गाउँपालिका नेतृत्वमा रहँदै गर्दा विभिन्न योजनाहरु अघि सार्नु भयो तर त्यही योजना निर्माणमा असन्तुष्टि र बाधा अड्चन समेत आएको विषय सार्वजनिक भयो, किन त्यस्तो हुन्छ सबैलाई मिलाउन नसक्नु भएको हो ?

यो दलीय व्यवस्था हो । मेरो नेतृत्वमा कम्फटेबल बहुमत छ । यत्ति हुँदाहुँदै यहाँका विपक्षी साथीहरु हुनुहुन्छ । हाम्रो साझा जिम्मेवारी भनेको जनतालाई कसरी सुखसुविधा दिने भन्ने हो । त्यसैले यहाँ केही गर्नुपर्छ । त्यसका लागि सबैको सल्लाह र सहमति हुनैपर्छ भन्ने मेरो दृढताका कारण तीन वर्षसम्म सर्वसम्मत निर्णय र बैठक सञ्‍चालन हुँदै आए । कुनै विवाद थिएन ।

अब करिब-करिब चुनाव वर्ष आउन लाग्यो । यस वर्ष सबै वडालाई ३०, ३० लाख रुपैयाँ दिने सिलिङ तोकेका थियौं । समितिभित्र प्रतिपक्षी साथीहरु पनि छन् । उहाँहरुले सबै पारित गरेर ल्याएको हो । यस पालिकामा कांग्रेसको नेतृत्व रहँदा केही गर्‍यो है भन्नु परिरहेको अवस्थामा । चुनावको झल्कोको कारण हामी केही त गर्नु पर्‍यो भनेर, हडबढाएर सहमतिमा मात्रै गएर सधैं भएन भन्ने ह्याङ प्रतिपक्षी साथीहरुलाई भएछ कि भन्ने लागेको छ । नत्र विषय केही थिएन । लास्टमा आएर वडालाई १/१ करोड चाहिन्छ, छुट्याउनु पर्‍यो भन्न थाल्नु भयो । पार्टीका साथीहरु बाहिर आएर हुटिङ गर्नुभयो । पार्टी प्रतिनिधिले भित्रै विरोध गर्न सक्थे, मत जाहेर गर्न सक्थे । अनशनै गर्न सक्थे । तर बाहिर आएर जुन गतिविधि गर्नुभयो त्यो अशोभनीय चाहिँ थियो । मलाई लागेको दलीय सिस्टममा यो हुन्छ नै । तर त्यो अनुशासित र आफ्नो नम्सभित्र रहेर गर्नु पर्ने हो, त्यो भएन ।

प्रतिपक्षी साथीहरु पनि भर्खर दुइटा मिलेर एउटा बनेको अवस्था । त्यहाँ पनि आफ्नै द्वैष होला । कसले ठूलो स्वर बोल्नेजस्ता कुराले प्रभाव पार्‍यो कि भन्ने लाग्छ । तात्विक रुपमा कसैलाई काखा र पाखा गरेर अघि बढ्ने मेरो सोच छैन । विकास गर्ने यही वडा वडामै हो । स्रोत अनुसार बजेट छुट्याउने हो । शिवपुरीको नेतृत्व कस्तो छ त भन्ने कतै खोधखोज भयो भने त्यत्ति नेगेटिभ प्रतिक्रिया अहिले आउँदैन होला जस्तो लाग्छ । किनभने म हरेक क्षेत्रका, हरेक वडाका प्रतिनिधि, अध्यक्ष, चाहे पूर्वमाओवादी, चाहे पूर्वएमालेसँग डिल गरिरहेको हुन्छु । आफ्ना त आफ्नै भइहाल्यो । विपक्षी साथीहरुलाई झन् मैले सम्मान गर्न सक्नुपर्छ । उहाँहरुको सहयोगबिना म पनि सफल हुन सक्दिनँ । शिवपुरीका जनताका अपेक्षा पूरा हुन सक्दैन भन्ने हिसाबले कुरा बुझेको छु । त्यही हिसाबले ट्रिट लगाइरहन्छु । म भोलिका दिनमा समेत सबैलाई समन्वय गरेर अगाडि जान्छु । गर्दा कहींकतै कमजोरी भएमा सच्याएर जाने मेरो सिद्धान्त छ । भोलिका दिनमा पनि कुनै कर्नरबाट कुरा नउठोस् भनेर म लागेको छु । सहमति, थप सहमतिको वातावरण बनाएर जाने मेरो सोच छ ।

अन्त्यमा केही भन्नुहुन्छ ?

शिवपुरी बनाउने कुरा हो । यसका लागि सबैको सहमति र सहयोग नभइ हुँदैन । नेतृत्वको पनि र जनताको पनि त्यत्तिकै सहभागिता र सहयोग चाहिन्छ । दत्तचित्तका साथ नेतृत्व अघि बढिरहेको छ । सम्पूर्ण शिवपुरीवासी दाजुभाइ तथा दिदीबहिनीहरुले गाउँपालिका, वडाबाट कार्यक्रमहरु, जे कामहरु छन् । त्यसलाई सकभर हामी पारदर्शी बनाउने प्रयत्नमा छौं । त्यसको मनिटरिङ गर्ने कुनै निश्चित बडीको मात्रै होइन । तपाईं सम्पूर्ण जनताहरुको छ । आफ्नो गाउँमा भएका कामकारबाहीलाई निगरानी, गुणस्तरीय बनाउने, चासो राख्ने कुरा गर्नुस् । अब विकास निर्माण सुरु हुने अवस्था छन् । अझै पनि हाम्रो डेढ वर्ष जति समय बाँकी छ । धेरै कुरा गर्नुछ यहाँ । कति त परिणाम आइसकेको छ । कतिपय परिणाम आउने क्रममा छन् । यसमा सबै शिवपुरीवासी दाजुभाइ तथा दिदीबहिनीहरु, सबै राजनीतिक पार्टीको सहयोग रहोस् । यसले नै शिवपुरीको समृद्धि रहन्छ ।

कोभिड १९ का कारण बाहिरबाट फर्किएका दाजुभाइ तथा दिदीबहिनीहरुलााई यहीं कसरी राख्न सकिन्छ भन्ने कुरामा ध्यान दिएर कृषि र पशुपालनलाई व्यवसायीकरण गर्ने विषयमा यस वर्षको बजेटको ठूलो हिस्सा विनियोजन गरेका छौं । यसको मोडालिटी छलफल बाँकी छ । यसमा केही आशंका रह्यो भने सिधै हामीसँग सम्पर्क गर्न सक्नु हुन्छ । सबै मिलेर शिवपुरी बनाउने हो । यसमा सबैको कल्याण छ । नेतृत्व त्यसैमा लागेको छ, यही आह्वान गर्न चाहन्छु ।

अध्यक्ष थापासंगको भिडियो अन्तर्वार्ता हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्