आधुनिक समाजमा सार्वजनिक प्रशासनको महत्वको ७ तर्क



सार्वजनिक प्रशासनले आधुनिक समाजमा महत्वपूर्ण भूमिका खेल्दछ ।

प्रथमतः यो सेवा प्रदान गर्ने साधन हो । यसले कानुन र व्यवस्था कायम गरी जनताको जीवन र सम्पत्तिको सुरक्षा गर्दछ । यसले अन्य कुराका अतिरिक्त धेरै संख्याका सेवाहरु प्रदान गर्दछ । जस्तो कि शिक्षा, स्वास्थ्य, आवास, सामाजिक सुरक्षा । सार्वजनिक प्रशासनबाट प्रदान गरिने सेवाहरुबाट प्रत्येक नागरिकको जीवनमा जन्मदेखि मृत्युसम्म असर गरिरहेको हुन्छ ।

दोस्रो, सार्वजनिक प्रशासन सरकारको कानुन र नीति कार्यान्वयन गर्न पनि जिम्मेवार छ, यसले सरकारको निर्णयलाई वास्तविकतामा परिणत गर्ने काम गर्दछ । नीति र कार्यक्रमहरुमार्फत वाचा गरिएका वस्तु तथा सेवाहरु अपेक्षित लाभप्रापकलाई प्रवाह गर्दछ । सर्वसाधारणलाई वस्तु तथा सेवा प्रवाहद्वारा सार्वजनिक प्रशासनले समाजमा सद्भाव र एकता कायम गर्दछ । सार्वजनिक प्रशासनमार्फत समाजमा स्थायित्व कायम हुन्छ ।

तेस्रो, सार्वजनिक प्रशासन सामाजिक आर्थिक परिवर्तनको साधन हो । खासगरी दोश्रो विश्वयुद्धपश्चात् सार्वजनिक प्रशासनले परिवर्तनको साधनको रुपमा काम गरिरहेको छ । सरकारद्वारा निश्चित समयमा पूरा गर्ने गरी तय गरिएका योजना र कार्यक्रम कार्यान्वयनमा यसको प्रमुख भूमिका रहिआएको छ । यसमार्फत सार्वजनिक प्रशासनले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायतका सेवाहरु तल्लो तहमा पुर्‍याउँछ जसबाट सामाजिक पुँजी सिर्जना हुन्छ ।

चौथो, सार्वजनिक प्रशासनले राष्ट्रिय एकताको साधनको रुपमा पनि काम गर्दछ । संविधानको प्रस्तावनामा उल्लेखित दर्शन, राष्ट्रिय योजनाको बजेट र मार्गदर्शन अनुरुप लक्षित समुदायमा कल्याणका कार्यहरु प्रवाह गर्दछ । ती क्षेत्रमा आयआर्जन र रोजगारीका अवसरहरु सिर्जना गर्दछ । यसका अतिरिक्त यसले वित्तीय सेवामा पहुँच निजी क्षेत्र आकर्षित नहुने सार्वजनिक वस्तु सम्बन्धी प्रावधान नागरिकहरुमा प्रवाह गर्दछ । यसबाट समाजमा राष्ट्र प्रति मनोवैज्ञानिक र धारणात्मक प्रभाव पर्दछ ।

पाँच, विविधतायुक्त देशमा विविधतामा एकता कायम गर्ने कामको श्रेय पनि सार्वजनिक प्रशासनलाई नै जान्छ । समाजका विभिन्न वर्ग, क्षेत्र, लिंग, जातजाति, भाषाभाषीमा विभेदरहित रुपमा सेवा प्रदान गर्नु यसको प्रमुख कर्तव्य हो । यसका लागि सार्वजनिक प्रशासनले स्थानीय रैथाने संस्कृति प्रवर्द्धन गर्दछ । एक पुस्ताबाट अर्को पुस्तामा सीप हस्तान्तरण, सीपलाई व्यावसायिक सुविधा र सरसल्लाह प्रदान गर्दछ । स्थानीय साहित्य कला, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा समेत यसले विशेष ध्यान केन्द्रित गर्दछ ।

छ, हालको निजीकरण र उदारीकरणको युगमा सार्वजनिक प्रशासनले निजी क्षेत्रलाई प्रवर्द्धन र उत्प्रेरित गर्ने काम गर्दछ । लगानीमा रहेका अवरोध हटाउने, वित्तीय सेवामा पहुँच सुधार गर्ने, पूर्वाधार विकास र निर्यात प्रवर्द्धनका लागि उपलब्ध प्रोत्साहन बारेमा जानकारी प्रदान गर्ने काम गर्दछ । निजी क्षेत्रले भोगेका व्यवहारिक र प्राविधिक समस्या सरकारसम्म पुर्‍याई नीतिमार्फत समस्या समाधान गर्ने कार्यमा सहजीकरण गर्दछ । यसबाट आर्थिक वृद्धिको निम्ति इञ्‍जिनको रुपमा रहेको निजी क्षेत्रमा थप उत्साह वृद्धि भई लगानी अभिवृद्धिमा मद्दत पुग्दछ ।

सात, समाजको हितका लागि अवैधानिक साधनबाट धेरै आम्दानी गर्नेबाट राज्यलाई बचाउने काम पनि सार्वजनिक प्रशासनले गर्दछ । निष्कर्षमा भन्नुपर्दा सार्वजनिक प्रशासन आधुनिक समाजको महत्वपूर्ण आविष्कार हो । यो सामाजिक परिवर्तन, आर्थिक विकास एवं सार्वजनिक नीति तर्जुमा र कार्यान्वयन गर्ने साधन हो । यसले कानुन र व्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजवूत बनाउँदै निजी क्षेत्रलाई प्रवर्द्धन र नियमन समेत गरी समाजमा स्थायित्व कायम गर्दछ ।

(Public Administration in a Globalizing World : Theories and Practices. Book By Chakrabarty पुस्तकबाट नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालद्वारा उल्था गरिएको)

प्रतिक्रिया दिनुहोस्