धानमा चामलको परिमाण घट्यो



काठमाडौं, पुष ३० । सरकारले चालू आर्थिक वर्ष (आव) मा धानको उत्पादन बढेको आँकडा सार्वजनिक गरे पनि धानको गुणस्तर राम्रो नहुँदा त्यसबाट कम चामल प्रशोधन भएको छ । किसानले समयमै आवश्यक मात्रामा मल र बीउ नपाउँदा धानको गुणस्तर घट्न गई चामलको उत्पादन घट्न पुगेको हो । चामलको लागत मूल्य बढ्नुका साथै विक्री मूल्य पनि बढेको छ ।

चालु आवमा धान रोपाइँ गर्ने समयमा किसानले आवश्यक मात्रामा मल नपाउँदा धानको गुणस्तर घटेको हुन सक्ने खाद्यान्न सरोकारवालाहरूले बताएका छन् । धानको गुणस्तर खस्किँदा त्यसको प्रत्यक्ष असर चामल उत्पादनमा परेकाले प्रतिक्वीन्टल धानबाट उत्पादन हुने चामलको परिमाणमा कमी आएको नेपाल चामल, तेल, दाल उद्योग संघका अध्यक्ष सुबोधकुमार गुप्ताले जानकारी दिए ।

उनका अनुसार प्रतिक्वीन्टल धानबाट ४५ प्रतिशत चामल, १५ प्रतिशत कनिका उत्पादन हुन्छ भने बाँकी ४० प्रतिशत ब्रान र भुस उत्पादन हुने गर्छ । तर, यस वर्षको धानबाट ३५ प्रतिशत मात्र चामल उत्पादन भएको छ । कनिकाको मात्रा १० प्रतिशतले बढेर २५ प्रतिशत पुगेको छ । यसले गर्दा उत्पादन लागतसमेत बढ्न गई मूल्यसमेत बढेको छ । ‘अहिले चामलको मूल्य बढ्नुको प्रमुख कारण यही नै हो,’ उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराको भनाइ पनि त्यस्तै छ । यस वर्ष धानको उत्पादन बढे पनि गुणस्तर राम्रो नभएकाले चामलभन्दा कनिका धेरै निस्कने गरेको उनले बताए ।

खुद्रा व्यापार संघले दिएको जानकारी अनुसार अहिले हरेक ब्रान्डको चामलमा प्रतिबोरा ५० रुपैयाँका दरले मूल्य बढेको छ । भर्खरै मात्र उद्योगहरूमा नयाँ धान आएको छ । धानकै सिजनमा चामलको मूल्य बढ्नु नपर्ने हो । तर, यस वर्षको धानको गुणस्तर नराम्रो भएकाले चामल नै कम उत्पादन हुन गएकाले चामलको मूल्य बढाउनु परेको उद्योगी तथा व्यवसायीहरूले बताएका छन् ।

नेपालमा सञ्चालित खाद्यान्न उद्योगहरूले वार्षिक रूपमा नेपाललाई आवश्यक पर्ने कुल खाद्यान्नको ६० प्रतिशत चामल, ६२ प्रतिशत दाल र ३५ प्रतिशत तेल उत्पादन गर्छन् । बन्दाबन्दीको समयमा श्रमिक तथा कच्चा पदार्थको अभावका कारण खाद्यान्न उद्योगहरूको उत्पादन क्षमतामा कमी आई ५० प्रतिशतले उत्पादन क्षमता घटेको थियो । यद्यपि हाल पुनः उद्योगहरू आफ्नो पूर्ण क्षमतामा चलिरहेका छन् ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्