म्याग्दीमा रैथाने गाईगोरु सङ्कटमा, आठ वर्षमा २ हजार ३४५ घटे



म्याग्दी,कात्तिक २३ । म्याग्दीको धवलागिरि गाउँपालिकामा स्थानीय जातका गाईगोरु पाल्ने परम्परा घट्दै गएको छ। आधुनिक कृषि उपकरणको प्रयोग, उन्नत तथा वर्णशङ्कर जातका पशुपालनप्रति किसानको आकर्षण र जनशक्ति अभावका कारण रैथाने गाईगोरु सङ्कटमा पर्न थालेका हुन्।

गाउँपालिकाको तथ्याङ्कअनुसार आठ वर्षमा गाईगोरुको सङ्ख्या दुई हजार ३४५ ले घटेको छ। विसं २०७४ मा ६ हजार ७५६ गाईगोरु रहेकामा हाल चार हजार ४११ मा सीमित भएको पशु सेवा शाखाले जनाएको छ।

कुनै समय हलगोरुको स्रोत केन्द्रका रूपमा परिचित धवलागिरिमा अहिले गाईगोरुको माग र बिक्रीसमेत घटेको छ। मिनीटिलर र ट्याक्टरको प्रयोग बढेसँगै खेतबारी खनजोतका लागि गोरुको आवश्यकता कम भएको छ। बढी दूध दिने भैँसी तथा उन्नत जातका गाईपालनतर्फ किसान आकर्षित हुँदा स्थानीय जातका पशु विस्थापित हुँदै गएका छन्।

नयाँ पुस्ता वैदेशिक रोजगारीतर्फ आकर्षित हुनु र पशुपालनमा बढी श्रम लाग्नुले घुम्ती गोठ तथा परम्परागत पशुपालनमा समेत कमी आएको छ। धार्मिक तथा सांस्कृतिक कार्यका लागि आवश्यक गाईको दूध र गहुँत पाउनसमेत कठिन हुन थालेको स्थानीय बताउँछन्।

स्थानीय जातका गाईगोरु धार्मिक तथा सांस्कृतिक महत्वका साथै जैविक सम्पत्तिका रूपमा पनि महत्वपूर्ण मानिन्छन्। स्थानीय हावापानीमा अनुकूलित रैथाने गाईगोरुको संरक्षणका लागि प्रजनन व्यवस्थापन, किसानलाई प्रोत्साहन र जनचेतना अभिवृद्धि आवश्यक रहेको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्