प्रधानमन्त्री कप पुरुष क्रिकेटमा एपीएफको विजयी सुरुवात



काठममडौं माघ ३ ।

विभागीय टिम एपीएफले प्रधानमन्त्री कप पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार प्रदेश १ लाई १ सय ३५ रनले पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो । एपीएफले दिएको २ सय ४४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश १ ले ४२ ओभर ४ बलमा अलआउट हुँदै १ सय ८ रन मात्र बनाउन सक्यो ।

प्रदेश १ का मनिस थापाले १८ रन जोड्दा फिर्दोस अन्सारीले १७ रन जोडे । दिपेश कंडेलले १६ र दिपक पासवानले १३ रन बनाए । यस्तै जोसाक खड्काले अविजित १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

प्रदेश १ लाई सस्तैमा समेट्न एपीएफका अविनास बोहराले १८ रन खर्चिएर ५ विकेट लिए । यस्तै वसन्त रेग्मीले २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४८ ओभर ४ बलमा अलआउट हुँदै २ सय ४३ रन बनाएको थियो ।

एपीएफका लागि आसिफ शेखले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै वसन्त रेग्मीले ४० रन जोड्दा सन्दीप जोराले ३० रन बनाए । कप्तान शरद भेषवाकरले २० तथा किशोर महतो र सुवास खकुरेलले समान १९/ १९ रन जोडे । सुमित महर्जन १४ रनमा आउट भए । प्रदेश १ का फिर्दोस अन्सारी, हेमन्त राई र दिपेश कंडेलले २/२ विकेट लिए ।

जितसँगै समूह ए मा रहेको एपीएफले पहिलो खेलमा २ अंक जोडेको छ । यसै समूहको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरिसकेको छ । शुक्रबार आर्मीले गण्डकी प्रदेशलाई ९९ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्