प्रधानमन्त्री कप पुरुष क्रिकेटमा बागमतीको सहज जित,पुलिस ७ विकेटले पराजित



काठमाडौं माघ ४ ।

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ ।

उसले आइतबारको खेलमा साविक विजेता विभागीय टोली नेपाल पुलिस क्लबमाथि ७ विकेटको सहज जित हात पारेको हो । पुलिसले दिएको ११२ रनको लक्ष्य बागमतीले ३४।४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

चौथो विकेटका लागि पृथु बास्कोटा र इशान पाण्डेले अविजित ७९ रनको साझेदारी गरेपछि बागमतीले सहज जित हात पारेको हो । ६६ बलको सामना गरेका बास्कोटाले ५ चौका र ३ छक्काको मदतमा ४८ रनको योगदान दिँदा पाण्डेले ६६ बलमा २ चौकाको मदतमा १७ रन प्रहार गरे । पारस खड्काले १७ रनको योगदान दिए ।

पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले समान १–१ विकेट हात पारे । १ विकेट रन आउटको रूपमा प्राप्त भयो । ऐरीले ६ ओभरमा २ मेडनसहित ११ रन खर्चिँदा राजवंशीले ६.४ ओभरमा १ मेडन सहित १९ रन खर्चिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले २९.३ ओभरमा सबै विकेट गुमाउँदै १११ रनको योगफल तयार पारेको थियो । पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान २१–२१ रनको योगदान दिँदा सुनिल धमल र कुशल भुर्तेलले समान १७–१७ रनको योगदान दिए । अन्य कुनै पनि ब्याट्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पुलिसको पारी ध्वस्त बनाउने क्रममा नन्दन यादव र तिलकराज भण्डारीले समान ४–४ हात पार्दा रामनरेश गिरीले २ विकेट लिए । यादवले ९ ओभरमा १ मेडनसहित ३१, भण्डारीले ७.३ ओभरमा १ मेडनसहित १७ र गिरीले ६ ओभरमा ३० रन खर्चिए ।

प्रतिक्रिया दिनुहोस्