ललितपुर फुटबल सङ्घका अध्यक्षको निलम्बन फुकुवा



काठमाडौं माघ ६ ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाले ललितपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन फुकुवा गरेको छ ।

आफ्नो १९ औं साधारणसभाको पूर्वसन्ध्यामा एन्फाले १० महिनापछि अध्यक्ष थापालाई कारबाहीबाट मुक्त गरेको हो । अनुशासनको कारण देखाउँदै थापालाई एन्फाले गएको जेठ ५ गते निलम्बन गरेको थियो । थापाले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै एन्फाले उनलाई कारबाही गरेको हो । एन्फा पदाधिकारीलाई सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको भन्दै अध्यक्ष थापालाई कारबाही गर्ने निर्णय गरेको थियो ।

आफूमाथि गरिएको कारबाहीका विरुद्ध थापाले राष्ट्रिय खेलकूद परिषद् राखेप विश्व फुटबल महासङ्घ फिफा र एशियाली फुटबल महासङ्घ एएफसीमा समेत उजुरी दिएका थिए । एन्फाको साधारणसभा मंगलवारदेखि सुरु भएको छ । एन्फाले मनाङ, खोटाङ र नवलपरासी पूर्वलाई आफ्नो सदस्यता प्रदान गर्नका लागि साधारणसभामा प्रस्ताव प्रस्तुत गरेको छ ।

साधारणसभाले यो प्रस्ताव पारित गरेमा एन्फाको सदस्य प्राप्त गर्ने जिल्लाको सङ्ख्या ४८ पुग्नेछ । यस्तै कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा गठन गरिएको तदर्थ समितिलाई समेत एन्फाले मान्यता दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्