पीएम कप क्रिकेटः लुम्बिनीको विजयी सुरुवात, कर्णालीद्वारा गण्डकी पाँच विकेटले पराजित



काठमाडौं माघ ६ ।

लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार प्रदेश २ लाई ७७ रनले पराजित गर्दै लुम्बिनीले सुखद सुरुवात गरेको हो । लुम्बिनीले दिएको २ सय ५८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश २ ले ४२ ओभर ४ बलमा अलआउट हुँदै १ सय ८० रन मात्र बनाउन सक्यो ।

प्रदेश २ का विवेक यादवले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सुधिर चौधरीले ४२ रन जोड्दा महबुब आलमले ३१ रन बनाए । प्रदेश २ लाई सस्तैमा समेट्न लुम्बिनीका अनिल खरेलले ४ विकेट लिए । बिक्रम भुसाल र दिपेन्द्र रावतले २/२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो । लुम्बिनीका लागि सन्दीप रजाली र सौरभ खनालले अर्धशतकीय पारी खेले । सन्दीपले ८३ रन बनाए भने सौरभले ५६ रन बनाए । यस्तै बिक्रम भुसालले ३६ रन बनाए । प्रदेश २ का हरिशंकर साहले ३ विकेट लिए । त्यस्तै दिब्यान्सु मल्लिकले २ विकेट लिए ।

यस्तै आज मुलपानी मैदानमा भएको खेलमा कर्णालीले गण्डकीलाई पाँच विकेटले हराएको छ । गण्डकीले दिएको २ सय ५ रनको लक्ष्य कर्णालीले ३६ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।

प्रतिक्रिया दिनुहोस्