बुटवलका टिप्परलाई टाइमकार्ड



बुटवल,माघ ७ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले सडकमा गुड्ने टिप्परलाई टाईमकार्ड लागू गरेको छ । बुटवल आसपासका विभिन्न खानी तथा खोला किनारबाट गिट्टी, बालुवा र ढुंगा बोकेर निर्वाध सडकमा गुड्ने टिप्परका कारण दुर्घटनाको जोखिम बढेको भन्दै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले टाईमकार्ड लागु गरेकाे हाे ।

बढदाे जनगुनासाे र टिप्परबाट हुने दुर्घटनालाई नियन्त्रण गर्ने उदेश्यले टिप्परहरुलाई टाईमकार्ड लागू गरिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बर बिकले बताए । सडकमा सवारी साधनको अत्यन्त भिड रहने विद्यालय र कार्यालय समयमा बजार क्षेत्रमा समेत निर्वाध रुपमा टिप्पर चल्ने गरेका थिए । टाईम कार्ड लागू भएपछि टिप्पर चालकहरु तोकिएको समयभन्दा छिटो गन्तव्यमा पुग्न पाउने छैनन् ।

कार्यालयमा आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै प्रहरी उपरीक्षक बिकले पहिलो चरणमा खानीस्थल पाल्पाको दोभानदेखि भैरहवा अञ्चलपुर र बुटवल धागोकारखाना सम्म र धागो कारखानादेखि नवलपरासीको सुनवलसम्म टाईम कार्ड लागू गरिएको जानकारी दिए ।यसरी तोकिएको समय अनुसार अब दोभानदेखि धागो कारखानासम्म ११ किलोमिटरको दुरीमा प्रतिघण्टा २० किलोमिटरको गतिमा मात्रै टिप्पर चलाउन पाईनेछ।

ट्राफिक प्रहरीले ११ किलोमिटरको यो दुरीमा ३३ मिनेट समय तोकेको छ । त्यस्तै धागो कारखानादेखि सुनवलसम्म २३ किलोमिटर दुरीमा प्रतिघण्टा ३० किलोमिटरको गतिले ४६ मिनेट समय तोकिएको प्रहरी उपरीक्षक विकले बताए । त्यस्तै सबैभन्दा व्यस्त रहने दोभान भैरहवासम्मको २६ किलोमिटर दुरीमा प्रतिघण्टा ३० किलोमिटरको गतिले ५६ मिनेट समय तोकिएको छ ।

सडक दुर्घटना बढ्दै गर्दा ट्राफिक प्रहरीले दुर्घटना न्युनिकरणका लागि राडार गनले सवारी साधनको गति मापन गर्ने र लेन अनुशासन पालना गर्ने समेतका कार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्