प्रधानमन्त्री कप क्रिकेटमा विभागीय टिम पुलिसको पहिलो जित



काठमाडौं माघ ७ ।

विभागीय टिम नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो । सुदूरपश्चिमले दिएको १ सय ११ रनको समान्य लक्ष्य पुलिसले १७ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । पुलिसको जितमा सुनिल धमलाले ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै कुशल भुर्तेलले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । पहिलो विकेटका लागि सुनिल र कुशलले ९७ रनको साझेदारी गरेका थिए । अमित श्रेष्ठ १ रनमा अविजित रहे । सुदूरपश्चिमका हेमन्त धामीले १ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३३ ओभर १ बलमा अलआउट हुँदै १ सय १० बनाएको थियो ।

सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक ४० रन बनाए । यस्तै सन्जु धामीले ३५ रन जोडे । अरुण ऐरी १३ रनमा आउट हुँदा अर्जुन साउदले १० रन बनाए । पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले ४र४ विकेट लिए । जितसंगै पुलिसले २ खेलमा २ अंक जोडेको छ । समूह ’बी’ मा रहेको पुलिस पहिलो खेलमा बागमती प्रदेशसँग पराजित भएको थियो ।

सुदूरपश्चिमको यो लगातार दोस्रो हार हो । सुदूरपश्चिम पनि पहिलो खेलमा बागमतीसँग नै पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्